ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाली खानाको विश्वव्यापीकरण अभियान : २२ मौलिक खानाको ‘क्यालोरी टेष्ट’

Feb 7, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपाली मौलिक खाना विश्वव्यापी गर्दै खानाका माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धन गर्न २२ ओटा मौलिक नेपाली खाना छनोट गरिएको छ । खानाकै माध्यमबाट नेपालको छविलाई प्रचारप्रसार र विश्वव्यापीकरण गर्ने उद्देश्यले नेपाली खानाको छनोट गर्न गठित कार्यदलले विभिन्न ती खाना छनोट गरी क्यालोरी टेष्टका लागि सरकारको खाद्य प्रयोगशालामा पठाएको छ । नेपाली मौलिक खानालाई विश्वव्यापीकरण गर्न शुरू भएको राष्ट्रिय अभियानले गत कात्तिक महीनामा वरिष्ठ पर्यटन व्यवसायी तथा यस अभियानका अभियन्ता कर्ण शाक्यको संयोजकत्वमा समिति गठन गरी खानाको खोज तथा अनुसन्धान थालेको थियो । कार्यदलमा प्रतिष्ठित सेफ, व्यावसायिक खाद्य प्राविधिज्ञ, डाइटिसियनलगायत होटल सङ्घ नेपाल, रेष्टुराँ एण्ड बार एशोसिएशन अफ नेपाल (रेवान) र सेफ एशोसिएशन अफ नेपालका पदाधिकारीको सहभागिता थियो । कार्यदलले १ महीनाभन्दा बढीको समय लगाएर हिमाल, पहाड, उपत्यका तथा तराईका मौलिक दुई दर्जनभन्दा बढी खानाको अध्ययन गरी प्रारम्भिक मेनु तयार गरेर सोहीअनुरूप खाना बनाई परीक्षणका लागि प्रयोगशाला पठाएको हो । विश्वव्यापी रूपमा सामान्यतः २ सयदेखि ३ सय क्यालोरीसम्मको खानालाई सन्तुलित खानाका रूपमा लिइन्छ । त्यसकारण कार्यदलले सोहीअनुसारको रेसिपी तयार पारी क्यालोरी टेष्टका लागि नेपाल सरकारको खाद्य प्रयोगशालामा पठाएको होटल एशोसिएशन नेपाल (हान)का महासचिव तथा कार्यदल सदस्य विनायक शाहले जानकारी दिए । छनोट गरिएका मौलिक खानालाई आवश्यकताअनुसार परिष्कृत गरेर विस्तृत विवरण (आवश्यक सामग्री, पकाउने विधिसमेत) तयार पारिएको र यसलाई केही समयमै विश्वव्यापीकरण गरिने उनले बताए ।

कार्यदलले खासगरी चुक, हिङ, जिम्बु, टिमुर, ज्वानो, मेथी, छ्यापीलाई राष्ट्रिय स्वादको रूपमा ग्रहण गर्दै नेपाली खाना थाली, सेकुवा, छोइला, गुन्द्रुक, अचार, सुकुटी, चुकौनी, विभिन्न खालका सुप तथा अचारलगायत छनोट गरेको छ । खाद्य प्रयोगशालाबाट टेष्ट भई आएपछि छनोट गरिएका ती मौलिक नेपाली खानालाई नेपालस्थित विभिन्न दूतावासका उच्चअधिकारी, होटल व्यवसायी तथा आम सञ्चारमाध्यमको सहभागितामा आउने मार्च महीनामा ‘फूड फेष्टिवल’ गरी सार्वजनिक गरिने शाक्यले बताए । त्यसपछि विदेशस्थित नियोगहरू, गैरआवासीय नेपाली सङ्घ, युनेस्कोलगायत सरोकारवाला सङ्घसंस्थाको सहकार्यमा अन्तरराष्ट्रियस्तरमा निरन्तर प्रचारप्रसार र प्रवर्द्धन गरिनेछ । साथै, स्वदेश तथा विदेशमा नियमित रूपमा नेपाली फूड फेष्टिवलजस्ता ठूला स्तरीय प्रवर्द्धनात्मक कार्यक्रमहरूको आयोजना गरिने अभियन्ता कर्ण शाक्यले जानकारी दिए । अभियानलाई आफ्नो अभियानका रूपमा लिँदै नेपाल पर्यटन बोर्डले ‘एक्सपेरियन्स नेपाल अभियान’ यसअघि नै घोषणा गरी नेपाल भ्रमण वर्ष यूरोप २०१७ का संयोजकसमेत रहेका दीपेश शाक्यलाई अभियान संयोजक तोकेको छ । ‘एक्सपेरियन्स नेपाल अभियान’का संयोजक शाक्य यति बेला विदेशमा रहेको दूतावास, एनआरएनए, विदेशी डायस्पोरा र स्थानीय समुदायसँग सहकार्य गरी यसको प्रचारप्रसार तथा प्रवर्द्धनमा जुटेका छन् । उनले आयरल्याण्ड, मेलवर्नलगायत ठाउँमा नेपाली मौलिक खानाको प्रवर्द्धनमा कार्यक्रमसमेत गरिएको जानकारी दिए । शाक्यले सयभन्दा बढी जातजाति, भाषाभाषी भएको बहुसांस्कृतिक नेपालमा सयौंको सङ्ख्यामा मौलिक खानाको समृद्ध संस्कृति रहेको उल्लेख गरे । साथै विश्वको ८० भन्दा बढी मुलुकमा नेपाली जातिको बसोवास तथा तिनले सञ्चालन गर्ने नेपाली रेष्टुराँ व्यवसाय तथा कतिपय देशका पाँचतारे होटलका सेफलगायत महत्त्वपूर्ण भूमिकामा रहेकाले पनि नेपाली खानालाई अझ परिमार्जन र परिष्कृत गर्दै विश्वव्यापीकरण गर्न अभियान सफल हुने बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)