ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० वर्षदेखि लगातार बढ्दै ‘डोरमेण्ट’ खाता

Feb 9, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । बैङ्क तथा वित्तीय संस्थामा खाता खोलेर लामो समयसम्म कारोबार नगरेका निष्क्रिय (डोरमेण्ट) खाताको सङ्ख्या बढ्न थालेको छ । एउटै व्यक्तिले दुईभन्दा बढी खाता खोल्ने तर एउटामा मात्र नियमित कारोबार गर्ने प्रवृत्तिका कारण पनि यस्तो खाताको सङ्ख्या बढेको हो । विशेष गरेर द्वन्द्वकालदेखिका कतिपय खाता भएकाहरू सम्पर्कमा नआएकाले १० वर्षदेखि यस्तो निष्क्रिय खाताको सङ्ख्या बढेको बताइएको छ । लामो समयदेखि निष्क्रिय रहेका खातालाई बैङ्क तथा वित्तीय संस्थाले सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । छ महीनासम्म कारोबार नभएका खातालाई निष्क्रिय खाता मानिने नीतिगत प्रावधान छ । ग्राहकले ६ महीनासम्म नगद राख्ने र झिक्ने नगरेमा बैङ्कले त्यस्ता खातालाई स्वतः निष्क्रिय खातामा वर्गीकरण गर्ने गर्छ । यस्तो खातालाई पुनः सक्रिय बनाउन ग्राहकले खाता खोलेकै बैङ्कको शाखामा गएर निवेदन दिनुपर्छ । तर, लामो समयदेखि निष्क्रिय रहेका र पहिले ग्राहक पहिचान विवरण (केवाईसी) नबुझाएकाले भने सो विवरणसमेत भर्नुपर्छ । बैङ्क तथा वित्तीय संस्थामा अहिले करीब २ करोड ५० लाख निक्षेप खाता छन् । बैङ्कहरूले आफूकहाँ भएका निष्क्रिय खातालाई आफ्नो वेबसाइटमा खातावालाको नाम खुल्ने गरी राख्नुपर्ने राष्ट्र बैङ्कको निर्देशन छ । तर, केही बैङ्कले मात्र यस्ता खातालाई वेबसाइटमा देखिनेगरी राखेका छन् । २८ ओटा वाणिज्य बैङ्कमध्ये पाँचओटा बैङ्कको त्यस्ता खाता वेबसाइटमा राखिएको छ । राष्ट्रिय वाणिज्य बैङ्क (आरबीबी)मा मात्र ६७ हजार ४ सय ४१ ओटा खाता निष्क्रिय छन् । द्वन्द्वकालमा जलाइएका बैङ्कका विभिन्न शाखाका कागजातको कुनै अभिलेख छैन । साथै, नाम नखुलेका र त्यतिबेला मृत्यु भएका व्यक्तिका हकवाला दाबी गर्न नआएकाले पनि १० वर्षदेखिका खाताको सङ्ख्या त्यति धेरै पुगेको आरबीबीका डेपुटी प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेको भनाइ छ । ‘यस्ता खातालाई केवाईसी प्रावधानले सक्रिय राख्न दिँदैन । त्यसैले सर्वसाधारणले थाहा पाऊन् भनेर वेबसाइटमा राखेका हौं,’ उनले भने । साथै केवाईसी अद्यावधिक गर्न पत्रपत्रिकामा सूचना पनि निकाल्ने गरिएको उनले बताए । उनका अनुसार कतिपय ग्राहकले ३/४ ओटा बैङ्कमा खाता खोल्ने तर एउटा खातामा मात्र कारोबार गर्ने भएकाले पनि धेरैको खाता सक्रिय नभएको हुनसक्छ । तर, पछिल्लो समय केन्द्रीय बैङ्कले ल्याएको जुनसुकै बैङ्कबाट आप्mनो खाता भएको बैङ्कमा रकम जम्मा गर्न पाउने व्यवस्थाले एउटै खाता भए पनि पर्याप्त हुने अवस्था सृजना भएको उनको भनाइ छ । नेपाल बङ्गलादेश (एनबी) बैङ्कमा १२ हजार ८ सय ३ जनाको १० वर्षदेखिका निष्क्रिय खाता रहेका छन् । उक्त बैङ्कका निष्क्रिय खातामा कम्तीमा ३ सय ८१ रुपैयाँदेखि बढीमा करीब ३ लाख ७० हजार ७ सय ५० रुपैयाँसम्म रहेका छन् । यस्ता खाता व्यक्तिको नामका साथै संस्थाको नाममा खोलिएका छन् । एनबी बैङ्कमा विगत १० वर्षदेखि कारोबार नभएको विजयराजेश्वरी राणाको नाममा ३ लाख १७ हजार ६ सय १५ रुपैयाँ नगद मौज्दात रहेको बैङ्कले जानकारी दिएको छ । यसैगरी १ लाखभन्दा बढी नगद मौज्दात रहेको खातामा गङ्गा एयर, किशनलाल दुगड, राजेन्द्र गुरुङलगायत रहेका छन् । एउटै व्यक्ति वा संस्थाले विशेष कामका लागि विभिन्न बैङ्कमा खाता खोल्ने तर सबैमा नियमित कारोबार नगर्ने हुँदा यस्ता खाताको सङ्ख्या बढेकोे एनबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैङ्कर सङ्घका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाको भनाइ छ । ‘कतिपय बैङ्कले अझ शून्य मौज्दातमा नै खाता खोल्ने योजना ल्याएका छन् । त्यस्ता खाता खोल्नेहरूले बिर्सेपछि ती निष्क्रिय भएर बसेको हुन्छ,’ उनले भने । त्यसबाहेक विभिन्न कारणले पनि खाता निष्क्रिय हुनसक्ने उनले बताए । निष्क्रिय खातालाई ‘डोरमेण्ट’ भनी नराखे समस्या आउनसक्ने उनको भनाइ छ । उनले भने, ‘खातामा लामो समयसम्म कारोबार भएको छैन तर रकम थुप्रो छ भने बैङ्कका कर्मचारीले फ्रड गर्न नसकून् भनेर कारोबार गर्न नपाउने गरी डोरमेण्ट भनी लक गरेर राखिन्छ । खातावाला स्वयम् आए पनि केही डकुमेण्ट भएपछि मात्र खाता सक्रिय हुन्छ । ’ सम्बन्धित व्यक्तिले नै पैसा पाऊन् भनेर निष्क्रिय खाता लक हुने व्यवस्था गरिएको राष्ट्र बैङ्कका प्रवक्ता नारायणप्रसाद पौडेलको भनाइ छ । लामो समयसम्म कारोबार नभएका निष्क्रिय खाताबारे बैङ्क तथा वित्तीय संस्थाले केन्द्रीय बैङ्कलाई जानकारी दिनुपर्ने प्रावधान छ । तर, यस्तो खाताको सङ्ख्या कति छ भन्नेबारे केन्द्रीय बैङ्कले तथ्याङ्क राख्ने गरेको छैन । अब तथ्याङ्क राख्ने स्रोतले बताएको छ । मन्त्रिपरिषद्को बैठकले पारित गरेपछि गतवर्षको मौद्रिक नीतिले २० वर्षसम्म कारोबार नभएका निष्क्रिय खाताका रकम बैङ्क तथा वित्तीय संस्थाले राष्ट्र बैङ्कमा पठाउनुपर्ने व्यवस्था गरेको थियो । बैङ्कर सङ्घका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले भने, ‘यो व्यवस्था राम्रो हो । तर, भर्खरै आएकाले अहिलेसम्म यस्तो पैसा राष्ट्र बैङ्क गएको छैन ।’ अवधि बढाउने गृहकार्य नेपाल राष्ट्र बैङ्कले ६ महीनासम्म कारोबार नभएका खातालाई निष्क्रिय बनाउनुपर्ने व्यवस्थालाई १ वर्षसम्म बढाउन गृहकार्य गर्दै छ । नेपाल बैङ्कर सङ्घले १ साताअघि निष्क्रिय खाताको अवधि बढाउन माग गरेपछि राष्ट्र बैङ्कले यसबारे गृहकार्य थालेको हो । हाल ग्राहकले विभिन्न कारणले ६ महीनासम्म कारोबार नगरेको खाता बन्द भएर फेरि खुलाउन केवाईसीलगायत कागजात भर्न झन्झटिलो भएकाले अवधि बढाउन अनुरोध गरिएको अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले बताए । अन्तरराष्ट्रिय अभ्यासमा १ देखि २ वर्षसम्म कारोबार नभएकालाई डोरमेण्ट (निष्क्रिय) खाता भनेर राखिने गरिएको छ । ‘तर, डोरमेण्ट खातालाई वर्गीकरण गर्नुपर्छ । यसलाई खुल्ला भने छोड्नु हुँदैन । किनकि खुला छोडेमा विभिन्न जोखीम हुन्छ,’ उनले भने ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)