माघ २७, धनगढी । ७ नम्बर प्रदेशमा रहेको धनगढी वीमानस्थलमा एकवर्षभित्रै भीओआर/डिएमई उपकरण जडान गरिने भएको छ । रात्रीकालीन तथा बाक्लो हुस्सु र तुवालो लागेका बेला समेत सहजै रुपमा वीमान अवतरण गर्न सकिने उक्त उपकरणको जडानका लागि आवश्यक अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण र जापान सहयोग नियोग (जाईका) को टोली धनगढी आइपुगेको थिय ।
सन २०१८ भित्रै उक्त उपकरण जडान गर्ने लक्ष्य रहेको वीमानस्थल कार्यालयका कार्यालय प्रमुख छविसिंह ठकुल्लाले जानकारी गराए । एकसय तीन कित्ता निजी जमिन पूर्ण रुपमा अतिक्रमणपश्चात उपकरणको काम शुरु हुनेछ । ९८ प्रतिशत जग्गा वीमानस्थलको नाममा नामसारी भइरहेको अवस्थामा दुईप्रतिशतभन्दा कम जमिन एक–दुई व्यक्तिका कारण वीमानस्थलको नाममा ल्याउन समस्या देखिएको कार्यालयको भनाई छ । उप–निर्देशक संजीवसिह कडायतको नेतृत्वमा जाईकाबाट उपकरण जडानको अनुमति पाएको एनईसी कार्पोरेशनका तीन जना ईन्जिनियरको टोलीले धनगढी विमानस्थलको स्थलगत अध्ययन गरेको हो ।
टोलीले बुधवार र बिहीवार विमानस्थलको जग्गा अधिग्रहण भईरहेको स्थानको अध्ययन गरेको थियो । उपकरण जडानका लागि पूरै जग्गा वीमानस्थलको नाममा नामसारी हुनु आवश्यक देखिएको बताइएको छ । १७ विगाहा ८ कठ्ठा साढे ४ धुर धनगढी वीमानस्थलको नाममा नामसारी हुनेवित्तकै रात्रीकालीन उडानका लागि समेत उपकरण जडानको काम शुरु गर्न सकिने निष्कर्षसहित अध्ययन टोली फर्किको हो ।
जाइकाबाट उपकरण जडानका लागि अनुमति पाएको जापानको एनईसी कर्पोरेशनले उपकरण जडानका लागि जग्गा उपयुक्त भएको भन्दै उपकरण जडान स्थानको समेत टुङ्गो लगाएको छ । सन् २०१८ भित्रै उपकरण जडान गरिने टोलीले बताएको छ । भीओआर/डिएमई जडानका लागि आवश्यक जग्गाको टुङ्गो लागेपनि दुई जनाले मुद्धा दायर गरेका कारण जग्गा अधिग्रहणमा केहि ढिलाई हुन पुगेको वीमानस्थल प्रमुख ठकुल्लाले बताए । उड्डयन प्राधिकरणका उप–निर्देशक संजीव सिह कडायतले जग्गा अधिग्रहणको काममा अव ढिलाई गर्न नहुने बताए । भीओआर नामक उपकरणले हवाई चालकलाई विमानस्थलको दिशा बताउने र डिएमई नामक उपकरणले विमानस्थलसम्मको दूरी निर्देश गर्ने भएकाले बाक्लो हुस्सु र तुवालोमा पनि सहजै बीमान अवतरण गर्न सकिन्छ उनले भने ।
धनगढी वीमानस्थलमा उपकरण नभएकै कारण खास गरी मङ्सिर, पौष र माघ महीनामा नियमित उडान नहुँदा प्रदेशवासीले सास्ती खेप्नु परेको छ । ३० मिटर चौडा र १ हजार ८ सय मिटर लामो धावनमार्ग भएको धनगढी विमानस्थल ५२ बिगाह क्षेत्रफलबाट बढेर अहिले ७० बिगाहा पुगेको छ । लामो समयको प्रयासपछि २०७२ सालमा पौने ९ बिगाह जमिन अधिग्रहण गरिएको थियो भने हाल १७ बिगाहा ४ कट्ठा साढे ८ धुरी अधिग्रहण गरिएको छ । एकसय तीन कित्ता अर्थात १७ बिगाहा ४ कट्टा साढे ८ धुरी जमिन धनगढी विमानस्थलको नाममा नामसारी गर्न २३ करोड ११ लाख ५ हजार रुपैयाँ जग्गा अधिग्रहणवाफत मु–आब्जा वितरण गरिएको धनगढी वीमानस्थल कार्यालयले बताएको छ ।