ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मेलम्चीको महत्त्वाकाङ्क्षी योजना : ८३ किमी सडकको कालोपत्र असारभित्रै

Feb 11, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले आगामी असारभित्र सबै ८३ किलोमिटर (किमी) सडक निर्माण गर्ने महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ । सो आयोजनाले कुल १ सय १० किमी सडकमध्ये हालसम्म २७ किमी मात्र निर्माण पूरा गरेको छ । निर्देशनालयका अनुसार मेलम्ची खानेपानी विस्तारका क्रममा पाइप राख्न ७ सय ५० किमी सडक प्रभावित हुन्छ । त्यसमध्ये सडक विभागले ६० किमी र निर्देशनालयले १ सय १० किमी सडक निर्माण गर्ने निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिए । कुल सडकमध्ये ५ सय ६० किमी भने भित्री सडक, गल्ली र फुटपाथ रहेका छन् । ती सडक सम्बन्धित निकायले निर्माण गर्ने निर्देशनालयले बताएको छ । प्रवक्ता ढकालले भने, ‘असारभित्र सबै सडकमा कालोपत्र गर्ने लक्ष्य राखिएको छ, यतिबेला जाडोयाम भएकाले कालोपत्रका कामहरू हुन सकेको छैन ।’ उनले मेलम्ची पाइपलाइन विस्तारका क्रममा पर्ने सडक कालोपत्रलगायत काम गर्न ३ वर्षको अवधिमा सडक विभागलाई रू. ८५ करोड उपलब्ध गराएको जानकारी दिए । निर्देशनालयले निर्माण पूरा गरेको २७ किमी सडकमा कालोपत्रलगायत काममा हालसम्म करीब रू. ८ करोड खर्च भइसकेको बताइएको छ । प्रवक्ता ढकालका अनुसार निर्देशनालयअन्तर्गतका सडक सम्पन्न गरिसक्दा रू. १ अर्ब खर्च हुनेछ । निर्देशनालयमातहत निर्माण हुने सबै सडक ठेक्कामा गइसकेकाले आगामी असारभित्र सबै सडक कालोपत्र हुने उनले दाबी गरे । मेलम्ची खानेपानी पाइपलाइन विस्तारका साथै ढल निर्माणमा देखिएको ढिलाइले काठमाडौंका सडकहरू गर्मीमा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुँदा सर्वसाधारणको दैनिकी नै कष्टकर भएको छ । प्रवक्ता ढकालले असारसम्म सबै सडक निर्माण गरी कालोपत्रे गरिने लक्ष्य राखिए पनि अहिले ग्राभेल, ढुङ्गा, गिट्टी कम मात्रामा उपलब्ध भएको बताए । विशेषगरी सरकारी निकायबीच समन्वय नहुँदा सडक कालोपत्र गर्ने र फेरि भत्काउने प्रक्रियाका कारण पनि सर्वसाधारण थप सास्ती भोग्न बाध्य छन् । राष्ट्रिय गौरवको आयोजनामध्येको एक महत्त्वपूर्ण आयोजना र सबैभन्दा ढिला गतिमा अघि बढेको मेलम्ची खानेपानीको पाइपलाइन विस्तार गर्दा खनिने सडकहरू समयमै निर्माण सम्पन्न नगर्दा कतिपय सडक अत्यन्त जोखीमपूर्ण अवस्थामा समेत रहेका छन् । निर्देशनालयले धुम्बाराही, महाराजगञ्ज, सामाखुशी, कलङ्कीमा नयाँ पाइप बिछ्याउन अभैm बाँकी रहेको बताएको छ । यसले गर्दा पनि अभैm लामो समयसम्म उपत्यकाका सर्वसाधारणले धूलो र हिलोको सामना गर्नुपर्ने देखिन्छ । निर्देशनालयले दाबी गरेअनुसार असारभित्रै सबै सडक निर्माण भयो भने त्यसपछि धूलो तथा हिलोको असरबाट सर्वसाधारणले छुटकारा पाउनेछन् । मेलम्ची खानेपानी आयोजनाको हालसम्म ९० प्रतिशत काम सकिएको निर्देशनालयले बताएको छ । निर्देशनालयका अनुसार करीब डेढ महीनामा सुरुङ निर्माणको काम सम्पन्न गरी सुरुङमा पानीसमेत पठाउने गरी गृहकार्य गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)