ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चमेलियाको उद्घाटन : सुदूरपश्चिमको विकासको ढोका खुलेको दाबी

Feb 11, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
काठमाडौं । एघार वर्षअघि शुरू भएको चमेलिया जलविद्युत् आयोजना (३० मेगावाट) शनिवारदेखि औपचारिक रूपमा राष्ट्रिय प्रसारणमा जोडिएको छ । पुस ८ मा ‘वेट टेष्ट’ थालिएको आयोजनाको यसै महीनाको १६ गतेदेखि दोस्रो युनिट पनि परीक्षण प्रसारणमा जोडिएको थियो । आयोजनामा १५/१५ मेवा क्षमताका २ ओटा टर्वाइन रहेका छन् । सुरुङ खुम्चिने, भेरिएशन तथा मूल्यवृद्धिलगायत कारणले आयोजनाको लागत करीब १५ अर्ब रुपैयाँ पुगेको छ । दार्चुलाको बलाँचमा रहेको आयोजनाको विद्युत्गृहमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजनाको शनिवार उद्घाटन गरे । उनले सुदूरपश्चिममा रहेको यस आयोजनाको लाभ पहिले सुदूरपश्चिमवासीले लिन पाउनुपर्ने बताए । चमेलिया बन्न समय लागे पनि यसले सुदू्रपश्चिमको विकासको ढोका खोलेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘चमेलियाका लागि विकास गरिएको सडक तथा प्रसारण लाइन यो क्षेत्रको सम्पत्ति हो,’ उनले भने, ‘यी दुवै माध्यम भएर यहाँका लागि आवश्यक अन्य विकास निर्माणले अब गति लिनेछ ।’ चमेलियाको निर्माणसँगसँगै बलाँचदेखि अत्तरियासम्मको १ सय ३१ किलोमिटर प्रसारण लाइन हालै सम्पन्न भएको छ । यसमा जोडिनेगरी ९१ मेवा विद्युत् उत्पादनका लागि निजीक्षेत्रसँग विद्युत् खरीद सम्झौता (पीपीए) सम्पन्न भइसकेको छ । त्यसैगरी सुदूरपश्चिमका विभिन्न क्षेत्रमा निर्माण हुनेगरी सोसहित २ सय ५० मेवा विद्युत् उत्पादनका लागि पीपीए विभिन्न चरणमा पुगेको प्राधिकरणको व्यापार विभाग प्रमुख एवम् प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । हाल सुदूरपश्चिम अर्थात् ७ नं. प्रदेशको विद्युत् माग ४५ मेवा रहेको छ । हालसम्म उक्त क्षेत्रमा स्वदेशी उत्पादनका रूपमा अपि पावरले विकास गरेको नौगड गाढ आयोजना (८ दशमलव ५ मेवा)को मात्र विद्युत् रहेको थियो । त्यसैगरी महाकाली सन्धिका आधारमा नेपालले भारतबाट निःशुल्क पाउँदै आएको १२–१५ मेवा विद्युत् टनकपुर–महेन्द्रनगर अन्तरदेशीय प्रसारण लाइन (१३२ केभी) हुँदै यस प्रदेशमा प्रवेश गर्छ । त्यस्तै आवश्यकताअनुसार उक्त प्रसारण लाइनबाट खरीद गरेको समेत गरी ४० मेवासम्म विद्युत् नेपालले आयात गर्दै आएको छ । विद्युत् माग उच्च रहेका बेला मात्र सञ्चालन गर्ने (पिकिङ आरओआर)का रूपमा विकास गरिएको चमेलिया पनि थपिएको छ । चमेलियाले प्रत्येक दिन बिहान र साँझको ३/३ घण्टा ३० मेवा क्षमतामा विद्युत् उत्पादन गर्छ । यसले देशमा उक्त समयमा रहेको विद्युत् मागलाई पूर्ति गर्न सघाउ पु¥याउनेछ । यदि पीक आवरको समस्या नरही निरन्तर सञ्चालन गर्ने हो भने यस आयोजनाले १५ मेवा उत्पादन दिन्छ । चमेलियाको निर्माण साथै यसले अन्य आयोजना विकासका लागि देखाएको सम्भावनाले विस्तारै उक्त क्षेत्र विद्युत्मा आत्मनिर्भर हुने क्रममा रहेको प्रवक्ता अधिकारीले बताए । सुदूरपश्चिमको अबको प्राथमिकता रहेको विद्युत् प्रसारणको काम बृहत् रूपमा अघि बढेको उनको भनाइ छ । ‘बलाँच–अत्तरियाको हालै सम्पन्न पहिलो सर्किटले १ सय मेवा विद्युत् प्रसारण गर्छ,’ उनले भने, ‘त्यसमा चाँडै थपिने दोस्रो सर्किटले क्षमता दोब्बर बनाउनेछ ।’ त्यसैगरी, लम्की–अत्तरिया–महेन्द्रनगर (१३२ केभी)को दोस्रो सर्किट चार्ज हुने क्रममा रहेको छ । वितरणका लागि सबस्टेशन निर्माणको काम पनि द्रुत गतिमा अघि बढिरहेकोे अधिकारीले जानकारी दिए । सङ्घीय व्यवस्थामा वितरण प्रणालीको नियमन तथा व्यवस्थापन गर्ने जिम्मा स्थानीय निकायलाई दिइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)