यदि तपाईं अत्यधिक कार्यभार लिनुपर्ने रोजगारीमा हुनुहुन्छ भने सावधान ! ज्यादै बढी काम गर्दा तपार्इंको मानसिकतामा नकारात्मक प्रभाव पर्न सक्छ । कामको अत्यधिक माग गर्ने रोजगारले मानिसहरुको मानसिक स्वास्थ्यमा बेरोजगार बस्नुजत्तिकै नकारात्मक प्रभाव पार्ने एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको नेशनल विश्वविद्यालयका प्राध्यापक पिटर बटरवर्थले नेतृत्व गरेको मनोविज्ञहरुको टोलीले एक अध्ययनपछि बताएअनुसार अत्यधिक कार्यभार भएका कर्मचारीहरुको मानसिक अवस्था क्रमशः बिग्रिन सक्ने सम्भावना देखिएको छ । अनुसन्धानकर्ताहरुले रोजगारीले कर्मचारीमा पार्न सक्ने मनोवैज्ञानिक प्रभावलाई विभिन्न तत्वहरुका आधारमा मापन गर्न सक्ने बताए । तिनमा धेरैभन्दा धेरै खट्नुपर्ने अवस्था, कमजोर रोजगार सुरक्षा, कामका क्रममा पाइने न्यून स्तरको सम्मान र कर्मचारीको काममाथिको थोरै नियन्त्रण रहेको उनीहरुको भनाइ छ । ‘हाम्रो अनुसन्धानले कर्मचारीहरुको मानसिक स्वास्थ्य रोजगारीका राम्रा अथवा नराम्रा अवस्थासँग अन्तर्सम्बन्धित हुने अवधारणालाई समर्थन गरेको छ,’ प्राध्यापक बटरवर्थले भने । कामको खराब अवस्था बेरोजगार मानिसहरुमा देखिने मानसिक तनावजस्तै प्रकृतिको हुने उनको भनाइ थियो ।
अनुसन्धानका क्रममा गरिएको विश्लेषणका आधारमा बेरोजगार मानिस र कामको भारले थिचिएका कर्मचारीबीच प्रायःजसो देखिने अवसाद र व्यग्रताजस्ता मानसिक विचलनको दर एउटै हुने पाइएको बटरवर्थले जानकारी दिए । ‘तुलनात्मक रुपमा राम्रो वातावरणमा काम गरिरहेकाहरुमा यस्ता विचलन आउने सम्भावना निकै थोरै हुन्छ,’ उनले भने । बेलायतमा गरिएका यस्तै अनुसन्धानका तथ्याङ्क र अष्ट्रेलियामा आफूहरुले फेला पारेका आँकडाहरु पनि मिल्न गएको उनले बताए । खराब रोजगारीले कर्मचारीहरुमा पार्ने असरलाई सकेसम्म कम गर्न सम्बन्धित सबैले काम गर्ने वातावरणको मनोवैज्ञानिक पक्षलाई सम्बोधन गर्नुपर्ने देखिएको प्राध्यापक बटरवर्थको कथन थियो ।