झूटो बोल्ने बानी परेका मानिसहरुका लागि स्थानविशेषले खासै असर गर्दैन भन्ने आमविश्वास रहेको पाइन्छ । तर, हालै गरिएको एक अध्ययनमा भने बढी झूटो बोल्नेहरुले घरको तुलनामा कार्यालयलगायतका स्थानहरुमा तथ्यहरुलाई बङ्ग्याउन तयार हुने हालै गरिएको एक अध्ययनमा पाइएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र जर्मनीको बोन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको उक्त संयुक्त अध्ययनमा मानिसहरुले घरमा झूटो बोल्दा बढी असजिलो अनुभव गर्ने गरेको पाइयो । तर, उनीहरु नै कार्यालयमा भने झूटो बोल्दा सहज अनुभव गर्ने अनुसन्धानकर्ताहरुको भनाइ छ । यसका लागि अनुसन्धानकर्ताहरुले जर्मनहरुको इमानदारी परीक्षण गर्न उनीहरुलाई घरमा फोन गर्दै आफूसँग रहेको कुनै सिक्कालाई ‘टस’ गर्न आग्रह गरे । त्यसपछि अध्ययनमा सामेल जर्मनहरुलाई टस गरिएको सिक्का कतातर्फ पल्टियो भनेर उत्तर दिन भनेका थिए ।
अध्ययनमा सामेल जर्मनहरुको इमानदारी जाँच्न अनुसन्धानकर्ताहरुले पल्टिएको सिक्काबारे सही उत्तर दिनेहरुलाई नगदसम्म दिने प्रलोभन दिए । यसमा टस गरिएको सिक्का तलपट्टि फर्किएमा १५ यूरो अथवा त्यसबराबरको गिफ्ट भौचर दिने तर माथिपट्टि हुने गरी पल्टिएमा केही पनि नदिने जानकारी गराए ।
अनुसन्धानकर्ताहरुका अनुसार मानिसहरुको व्यवहार प्रत्यक्ष रुपमा अवलोकन गर्न नसकिए पनि घरमा बसेर उत्तर दिने ६ सय ५८ जनामा गरिएको उक्त अध्ययनमा सामेलहरुले आफ्नो इमानदारी उल्लेख्य रुपमा प्रदर्शन गरेका थिए । ५५ दशमलव ६० प्रतिशतले आफूले टस गरेको सिक्का माथिपट्टि फर्किएको बताएका थिए, जसअनुसार उनीहरुले कुनै पुरस्कार प्राप्त गर्न सकेनन् । उता, ४४ दशमलव ४ प्रतिशतले चाहिँ सिक्का तलतिर हुने गरी पल्टिएको उत्तर दिए । अध्ययनपछि अनुसन्धानकर्ताहरुले इमानदारीले मानिसहरुलाई उनीहरुको अस्तित्व अनुभव गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको देखिएको बताए । अध्ययनमा प्राप्त आँकडाहरुका आधारमा मानिसहरु आधारभूत रुपमा इमानदार नै हुने गरेका उनीहरुको भनाइ छ ।