कम्पनीहरूले आफूले कमाएको नाफाको केही अंश कर्मचारीलाई पनि बाँड्छन् । यो कुनै ठूलो कुरा होइन । तर, कम्पनीले बाँडेको बोनस बोरामै उठाएर लैजानुपर्ने कुरा सुन्दा चाहिँ हामीमध्ये धेरैलाई आश्चर्य लाग्न सक्छ । चीनको एउटा कम्पनीमा काम गर्ने कर्मचारीलाई यस्तै भएको छ । सन् २०१७ मा चीनको स्टील कम्पनी फङ्ग्डा स्टील कम्पनी लिमिटेडले आफ्ना कर्मचारीलाई २ अर्ब १२ करोड २० लाख युआनबराबरको नगद बोनस बाँडेको छ । सन् २०१२ देखि सन् २०१६ सम्मको ५ वर्षमा कम्पनीले कर्मचारीहरूलाई २ अर्ब ९० करोड युआनबराबर बोनस बाँडेको थियो । पछिल्लो केही समययता यो कम्पनी आफ्ना कर्मचारीलाई ठूलो धनराशी बोनसमा बाँड्ने कुराले परिचित छ ।
नगदमा बाँडिएको सो बोनस कर्मचारीको गोजीमा नअटाएका कारण कर्मचारीले आफ्नो भागमा परेको बोनस रकम बोरामा घर लगेका थिए । ५ हजार कर्मचारी रहेको सो कम्पनीले बाँडेको बोनस रकमका नोटको वजन झण्डै २ टन रहेको बताइएको छ । कार्यालयमा सबै रकम ल्याएर नोट नै बाँडिएको थियो । हरेक कर्मचारीले औसत ५० हजार युआन बोनस पाएका थिए । बोनस दिन ल्याइएको रकम एकै ठाउँमा राख्दा त्यो नोटको कुनै पर्खाल जस्तै देखिएको थियो । गतवर्ष कम्पनीको सञ्चालन आम्दानी अघिल्लो वर्षको तुलनामा ५६ दशमलव २७ प्रतिशत बढेर १३ अर्ब ९४ करोड युआन पुगेको थियो । स्टील बजारले गति लिएको र आपूर्तितर्फ सुधार आएका कारण कम्पनीको नाफा बढेको विश्लेषण गरिएको छ । एजेन्सी