सामान्यतया एउटा शौचालयको आकार कत्रो हुन्छ ? यौटा सानो अथवा मध्यम आकारको कोठा जत्रो हुन्छ भनेर तपाईं आफ्नो सहजबुद्धि लगाउँदै उत्तर दिन सक्नुहुन्छ । तर, दक्षिण कोरियामा हालै बनाइएको यो शौचालय भने तपार्इंले देखेको वा सोचेजस्तो सानो कोठा भने होइन । दिवङ्गत कोरियाली व्यापारी सीम जे–डकको घर र त्यस आसपासको जग्गालाई नै शौचालय आकार दिँदै बनाइएको यो विश्वको पहिलो ‘शौचालय पार्क तथा सङ्ग्रहालय’ हो । विश्वको एक प्रमुख कञ्जुमर इलेक्ट्रोनिक्स कम्पनी सामसुङको गृहनगरका रूपमा चिनिँदै आइएको राजधानी सोल नजिकैको सुवोन शहरमा रहेको सीमको घरलाई एक विशाल आकारको कमोडका रुपमा परिवर्तन गरिएको छ । त्यहाँभित्र विभिन्न प्रकारका शौचालय र त्यससँग सम्बन्धित सामग्री प्रदर्शनीमा राखिएका छन् ।
विश्वभर सरसफाइ र शौचको राम्रो अवस्थालाई प्रवद्र्धन गर्ने गैरनाफामूलक संस्था द वल्र्ड ट्वाइलेट एशोसिएशनका संस्थापक तथा प्रथम अध्यक्ष रहेका सीमले शौचालय आकारमा बनाएको उक्त घरलाई उनको निधनपछि सङ्ग्रहालयको रुप दिइएको हो । उनको सन् २००९ मा ७० वर्षको उमेरमा निधन भएको थियो । ‘मिष्टर ट्वाइलेट’ उपनामबाट पनि परिचित एक गरीब परिवारबाट आएका सीमले धातु र शौचालय सामग्रीको व्यापारबाट धन कमाएको बताइन्छ । ‘सीम शुरुमा शौचालय सफा गर्ने काम गर्थे, संयोगवश उनको जीवनको समाप्ति पनि कमोड आकारकै घरमा हुन गयो,’ सीम जे–डक फाउण्डेशनका योजना प्रबन्धक ली युन–सोकले भने । स्थानीय रुपमा चिनिएका व्यापारी भए पनि सन् २००२ मा कोरियाले विश्वकप फूटबलको सह–आयोजन गरेपछि भने उनी संसारभर परिचित हुन पुगेका थिए । त्यसबेला उनले खेल आयोजना भएका रङ्गशाला र आसपासका क्षेत्रमा आकर्षक शौचालय बनाइदिएका थिए ।
सीमको मृत्युपछि सुवोन नगरपालिकालाई उक्त घर हस्तान्तरण गर्नुअघि त्यहाँ एक रातको ५० हजार डलर तिरेर मानिसहरु बस्न सक्ने व्यवस्था गरिएको थियो । त्यसबाट उठेको रकमलाई कोरियाका विभिन्न स्थानमा अत्याधुनिक शौचालय बनाउन प्रयोग गरिएको थियो ।