जापानको एक विद्यालयले इटालीको फेशन ब्राण्ड जियोर्जियो अर्मानीले डिजाइन गरेको पोशाकलाई विद्यालयको युनिफर्मका रूपमा प्रयोग गर्ने योजना बनाएको छ । जापानको गिञ्जा जिल्लामा रहेको टाइमेइ एलिमेण्टरी स्कूलले अब विद्यालयमा भर्ना हुन आउने विद्यार्थीका लागि यस्तो युनिफर्म बनाउने अमेरिकी पत्रिका हफिङटन पोष्टले छापेको छ । यसको मूल्य ७ सय २९ डलर पर्न आउँछ जुन हाल भइरहेको युनिफर्मको मूल्यभन्दा झण्डै ३ गुणा बढी हो ।
‘विद्यालयको युनिफर्मका लागि यस्तो लक्जरी डिजाइनर ब्राण्ड रोजिनु आश्चर्यजनक कुरा हो,’ नाम नबताउने शर्तमा सोही विद्यालयमा अध्ययनरत एक विद्यार्थीकी अभिभावकले बताएकी छन् । उनले कुनै पनि महँगो चिज राम्रो र सस्तो चिज नराम्रो भन्ने मान्यताले बालबालिकामा नराम्रो छाप पर्न सक्ने चिन्ता व्यक्त गरिन् । आगामी अप्रिलबाट विद्यालयको नयाँ सेसन शुरू हुने र सो सेसनबाट विद्यालय आउनेहरूका लागि यस्तो युनिफर्म ल्याउने विद्यालयले बताएको हो । गत नोभेम्बरमा अभिभावकहरूलाई एक पत्र लेखेर विद्यालय स्रोतले यसबारे जानकारी दिएको थियो ।
पत्रमा विद्यालयका प्रधानाध्यापक टोसिट्सुगु वाडाले टाइमेइ गिञ्जा जिल्लाको एक कोशेढुङ्गाका रूपमा रहेको र अमार्नीले डिजाइन गरेको युनिफर्म राख्ने निर्णय विद्यालय सुहाउँदो वातावरण निर्माण गर्ने एक प्रयास रहेको बताएका थिए । यसबारे टाइमेइ अधिकारीका तर्फबाट कुनै पनि प्रतिक्रिया आएको छैन । यद्यपि, नयाँ युनिफर्म ल्याउने योजनाबारे छिट्टै विस्तृतमा जानकारी दिइने वाडाले विद्यालयको होमपेजमा पोेष्ट गरेका छन् ।
टाइमेइ विद्यालय राज्यको आर्थिक सहयोगले चल्ने विद्यालय भएका कारण यो ब्राण्डेड कपडा विद्यार्थीहरूका लागि धेरै नै महँगो पर्ने अभिभावकहरू बताउँछन् । यस निर्णयबाट अभिभावकहरू खुशी छैनन् । होऊन् पनि कसरी ? विद्यालयको युनिफर्म विद्यालयको छुट्टै पहिचान निर्माण गर्न र फेशनसम्बन्धी बोझ कम गर्न हो, बढाउन होइन । यो नयाँ युनिफर्म सबैका लागि बाध्य त छैन, तर यसले त्यो खरीद गर्न नसक्ने विद्यार्थीहरूमा हीनताको भावना उब्जाउन सक्ने विश्लेषकहरू बताउँछन् ।
अर्मानीको युनिफर्म लगाउनु भनेको सीधै ‘यो गरीबहरूका लागि होइन’ भन्न हो । जापानको तल्लो सदन बजेट कमिटीमा पनि यसबारे तर्क उठेको थियो । अधिकांशले यो युनिफर्म केही वयस्कहरूको बिजनेश सुटभन्दा महँगो पर्ने बताएका थिए । सरकारी मन्त्रीहरूले पनि केही परिवारले नयाँ लुगा खरीद गर्न नसक्ने कुरामा सहमति व्यक्त गरेका थिए । यसबारे विद्यालय प्रशासनले पहिला अभिभावकहरूले यसबारे छलफल गरेको भए अभिभावकहरूलाई अतिरिक्त भार नपरोस् भनेर मन्त्रालयले पनि केही कदम चाल्नेबारे सोच्न सक्थ्यो कि भन्ने शिक्षा मन्त्री योशिमासा हयासीको जिकिर छ । अर्मानीको बूटिक विद्यालयनजीकै भएकाले पनि युनिफर्मका लागि यही ब्राण्ड रोजिएको वाडाले बताएका छन् । एजेन्सी