फागुन ३, काठमाडौं (अस) । चीनमा कुकुर, बिरालोलगायतका घर पालुवा जनावर (पेट)का लागि समेत लक्जरी होटल खुल्न थालेको केही वर्ष मात्रै भएको छ । तर पछिल्लो समय त्यहाँ यस्ता लक्जरी होटलको माग ह्वात्तै बढेको छ ।
मध्यम वर्गको आयस्तर बढेसँगै घरपालुवा जनावरलाई मसाज, स्पा, डिजाइनर कपडा, होम–मेड र फाइभ स्टार खानालगायतका सेवा दिने तारे होटलको माग बढेको हो । साउथ चाइना मर्निङ पोष्टमा सार्वजनिक तथ्याङ्कले पनि यसलाई पुष्टि गरेको छ । पत्रिकाका अनुसार गत वर्ष चिनियाँहरुले पेटका लागि मात्रै साढे १७ अर्ब युआन (२ अर्ब ८० करोड डलर) खर्च गरेका छन् । खर्चको यो दर सन् २०२२ सम्म बढेर ४६ अर्ब ३० करोड युआनमा पुग्ने बजार अनुसन्धाता संस्था यूरोमिटरले बताएको छ ।
मालिकहरुमा आ–आफ्ना पाल्तु जनावरलाई उत्कृष्ट, आयातित वस्तु र सेवा दिने होडबाजी चलेकोले पनि पेट उद्योग बढेको हो ।
उता, बच्चा बच्ची जन्माएर हुर्काउन झन्झट मान्नेहरुले पाल्तु जनावरलाई नै छोराछोरी सरह पालिरहेका छन् । यसले पनि उद्योग फष्टाउन सघाएको बताइएको छ । औसत ग्राहकले हरेक महीना पेटका लागि ६ सय युआन खर्च गर्ने गरेको पाइएको छ ।