ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

के राख्ने प्रदेशको नाम ?

Feb 16, 2018  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
प्रदेशको प्रमुख को हुने, कसलाई राख्ने, कसलाई फाल्ने भन्ने लडाइँ सकिएर अब प्रदेशको मुख्यमन्त्री कसकसलाई बनाउने भन्ने चरणमा प्रवेश गरेर पनि लगभग सकिन लागेको छ । मुख्यमन्त्री नियुक्त भएपछि कोहीले शपथ ग्रहण गर्न बाँकी छ, कतिले गरि पनि सके । अरु कुरा पनि विस्तारै ग्रहण गर्दै जालान् । अब केही दिनमै उनीहरुले केके खाने हो खाँदै काम पनि शुरु गर्लान् । अबको चरण प्रदेशको नाम के राख्ने, राजधानी कहाँ राख्ने, कुन रङको कोट, कुन रङको सारी लाएर कुन भाषा बोल्ने भन्ने लडाइँको चरण हुनेछ । त्यसपछि बल्ल सङ्घीय संरचनाको झगडा हेर्न र मज्जा लिन पाउनेछन् नेपाली जनताले । अरु विषयमा झगडा लफडा हेर्दै जाऊँला नै । तर, प्रदेशको नाम राख्ने कुरामा भने यो पङ्क्तिकारको पनि केही सुझाव छ है । प्रदेश नं. १ बाटै शुरु गरौं । यसको नाम सीधै शेरधन प्रदेश राख्दिए पनि हुन्छ । उनले चुनाव जित्नुअघिदेखि नै १ नं.को मुख्यमन्त्री मै हुँ भनेर ठोकुवा नै गरेका थिए । अहिले यो प्रदेशलाई धनी बनाउने प्रेसक्रिप्शन पनि बाँड्दै हिँडिरहेका छन् । भनेसी यिनको नाममा प्रदेशको नाम राख्ने हो भने १ नम्बरमा सबैभन्दा धन आउन सक्ने सम्भावना छ । व्यक्तिको होइन, जातिको नामबाट राख्ने हो भने किराँत, राजवंशी, लिम्बू वा संक्षेपमा किरालि पनि राख्न सकिने भो । होइन भने नदीको नाममा राखे पनि भो मेची वा कोशी प्रदेश भनेर । वा अरु जातिका नाममा मेचे वा कोचे राख्न पनि मिल्छ । हिमालका नाममा राख्न मन लागे सगरमाथा प्रदेश भन्न पनि मिल्यो । २ नम्बर प्रदेशको नाममा झन् धेरै विकल्प छन् । राजधानी नपाएकाको मन शान्ति गर्न ‘वीरगञ्ज जनकपुर’ प्रदेश राख्दा हुन्छ । यसमा तराई मधेश जोडेर बिजतम प्रदेश राख्न मिल्छ । नत्र भोजपुरी मैथली प्रदेश भने पनि भयो । होइन, यहाँ धार्मिक नाम मार्मिक लाग्छ भन्ने हो भने जनक, सीता, राम वा जसीरा प्रदेश राख्न मिल्यो । होइन जातजाति झल्किने नै चाहिने हो भने झा प्रदेश, कर्ण प्रदेश, लाल प्रदेश, यादव प्रदेश आदिमध्ये कुनै एउटा राख्दा भोे । कि त पासवान, मुसहर मिसाएर पामु प्रदेश वा साह र लाल मिलाएर साला प्रदेश राख्न पनि मिल्यो । तर, साला अलि सुहाएन । यसलाई उल्ट्याएर लासा प्रदेश राख्न चैं मिल्छ । त्यसो गर्दा तराईमा चीन नजिक पुगेजस्तो भान पनि हुन्छ । नदीकै नाममा बाग्मती वा कमला राख्ने वा एउटैमा जोडेर बाग्क प्रदेश राख्न पनि मिल्छ । ३ नम्बर प्रदेशले पनि बाग्मतीमा आफ्नो दाबी राख्न सक्ने सम्भावना रहन्छ । भलै ऊसित अरु दुई विकल्प पनि छन् । यसमा विष्णुमती प्रदेश वा टुकुचा प्रदेश राख्ने । होइन हिमालयमै जाने भन्ने कुरा आयो भने गौरीशङ्कर प्रदेश जिन्दावाद । ल कहाँ हुन्छ, जातिकै नाममा प्रदेश हुनुपर्छ भनेर उफ्रिनेहरु तम्सिए भने नेवाः प्रदेश, तामाङ प्रदेश वा दुवै मिलाएर नेता प्रदेश बन्न सक्ने भो । तराईका दराई कराइहाले भने दनेता प्रदेश बनाए भो, नत्र छोडे भो । हामी पनि यही प्रदेशमा बस्छौं नि भनेर चेपाङहरु च्याङ च्याङ गर्न आए भने नेतामा चे थपेर नेताचे प्रदेश बनाए पनि भो ।
अबको चरण प्रदेशको नाम के राख्ने, राजधानी कहाँ राख्ने, कुन रङको कोट, कुन रङको सारी लाएर कुन भाषा बोल्ने भन्ने लडाइँको चरण हुनेछ ।
४ नम्बर प्रदेशमा भने नाम राख्न ठूलै दोहोरी वा रोधी गाउनुपर्ने हुन सक्छ । किनकि बाहुन पनि धेरै यहीँ छन्, गुरुङ मगरको पनि मुख्य ठाउँ यही हो । अनि जातिका आधारमा गर्दा कसको नाममा राख्ने ? संक्षेपमा पनि त्यति अनुप्रास मिल्ने देखिन्न । त्यसैले सबैभन्दा राम्रो कुनै एक हिमालय शृङ्खलाको नाममा अन्नपूर्ण, धौलागिरि वा माछापुच्छ्रे प्रदेश राख्नु उपयुक्त देखिन्छ । तर, माछापुच्छ्रे राख्दा एउटा रिस्क वा जोखीम छ । माछापुच्छ्रे भन्दा पेरुको माचुपिच्चुसँग जुध्ला भन्ने डर सधैं रहन्छ । एकचोटि दिल्लीमा हाम्रै राजदूतावासमा माछापुच्छ्रे भनेर माचुपिच्चुको फोटो झुण्ड्याएथे । त्यसैले सबैभन्दा राम्रो त गण्डक प्रदेश राख्दा हुने हो । फेरि यो त गुरुङको गबाट प्रदेशको नाम आयो भनेर भाँजो नहाल्लान् भन्न सकिन्न । नवलपरासीदेखि नेपालगञ्ज र वर्दियासम्म फैलिएको ५ नम्बर प्रदेशमा रोल्पा, रुकुम पनि भएकाले यसलाई सिधै रोरु प्रदेश नाम राख्दिए हुने हो । त्यसो गर्दा बुटवल राजधानी भयो भनेर कराउने दाङ र रोल्पाका मान्छे पनि थुमथुमिन्थे र माओवादी जनयुद्धको सम्मान गरेजस्तो पनि देखिन्थ्यो । होइन युद्ध झल्काउनुको साटो शान्ति पो टल्काउनुपर्छ भन्नेहरु धेरै छन् भन्ने लाग्छ भने कि त लुम्बिनी वा बुद्ध प्रदेश राख्दा पनि मिल्छ । युद्ध नि हुँदैन, बुद्ध नि मिल्दैन भन्ने हो भने त यहाँ थारू र मगरहरुको बस्ती पनि बाक्लै भएकाले नाम राख्ने विवादलाई थामथुम पार्ने सबैभन्दा उपयुक्त संक्षेपमा थाम प्रदेश राखे हुन्छ । सबैभन्दा नाम राख्न सजिलो प्रदेश शायद ६ नम्बर हो । किनकि कि त सीधै नदीको नाममा कर्णाली प्रदेश राख्दे भो । नत्र शाही या ठकुरी प्रदेश राख्दिए भयो । किनकि अझै पनि त्यहाँ उनीहरुकै बढी चल्छ । तर ७ नम्बर प्रदेशको नाम राख्ने कार्य सबैभन्दा कठिन देखिन्छ । किनकि यहाँ विकल्प धेरै छन् । हिमालका नाममा राख्ने हो भने अपि, सैपाल वा असै राख्न सकिन्छ । कि त सीधै नदीको नाममा महाकाली राखे भो । थुप्रै जातजातिमध्ये थारू, शाही, ठकुरी यहाँ पनि छन् । कि त उनीहरुको झल्को दिने खालको नाम शाठ या यस्तै केही राख्नुपर्‍यो । यो त कता कता स्वाँठ जस्तो पो सुनियो त । यो त अलि मिलेन । बरु यहाँ देशकै ठूलो पञ्चेश्वर जलविद्युत् आयोजना छ । त्यसैले पञ्चेश्वर प्रदेश पनि राख्न सकिन्छ । यो आयोजना साँच्चै बन्यो भने पश्चिम मात्र होइन, यसले पूरै देश उज्यालो बनाउँछ । तर, पञ्चेश्वर राख्दा पञ्चे भन्ने सुनिने हुनाले यो नाम मन नपराउने धेरै हुनसक्ने सम्भावना रहन्छ । राख्न त खप्तड वा डोट्याल प्रदेश पनि राख्न मिल्छ । अझ लिम्पियाधुरा वा कालापानी प्रदेश राख्न सके सबैभन्दा राम्रो । त्यसो गर्न सके यो भारतको नभई नेपालकै भूभाग हो भन्ने पुनः प्रमाणित हुन्छ । तर, त्यो नाम राख्ने आँट गर्न सक्लान् र नेताहरुले ?
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)