ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

७ नम्बर प्रदेशका अर्थमन्त्री बोहरालाई आत्मनिर्भर प्रदेश बनाउने चिन्ता, स्रोत खोज्दै भन्सारको अनुगमन

Feb 18, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
फागुन ६, धनगढी । प्रदेश नम्वर ७ का नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पदभारको पहिलो चरणमा कैलाली भन्सारको अनुगमन गरेका छन् । शनिवार मन्त्रीमा नियुक्त भएका बोहराले आर्थिक रुपमा प्रदेशलाई सम्पन्न बनाउन कैलाली भन्सारलाई एशियकै प्रमुख भन्सार नाकाको रुपमा स्तरोन्नती गरिने बताए । ७ नम्वर प्रदेशमा उत्पादित वस्तुलाई भारतसहित तेस्रो मुलुकसम्म निर्यात र आवश्यक वस्तु आयात गर्न योग्य बनाउन सकिने भन्दै उनले भन्सारमा कार्यरत कर्मचारीहरुले आवश्यकता महशुस गरी आवश्यक योजना बनाउन आग्रह गरे । ‘ठूलो परिमाणमा पेट्रोलिय पदार्थ आयात भइरहेको अवस्थामा त्यसलाई विस्थापित गर्ने एकमात्र उपाय जलविद्युतको विकास हो, यो प्रदेश नेपालकै जलस्रोतको हिसाबले पहिलो नम्वर भएकाले जलविद्युत विकासको विकल्प छैन,’ उनले भने । आर्थिक वर्ष २०७३/७४ मा ७ नम्वर प्रदेशबाट वार्षिक ८ अर्व ३६ करोड रुपैयाँ राजस्व संकलन हुने गरेको बताउँदै मन्त्री बोहराले तलव भत्तामा मात्रै वार्षिक ३६ अर्व र पूँजीगततर्फ १५ अर्व रुपैयाँ खर्च हुने गरेको आफूले पाएको बताए । राजस्व संकलन १६ दशमलव ५१ प्रतिशत अर्थात ८ अर्व ६६ करोड मात्रै भएकाले ५१ अर्वको खर्च थेग्न र प्रदेशलाई आत्मनिर्भर बनाउन थप ४२ अर्व राजस्व संकलन हुने वातावरण बनाउन आवश्यक रहेको उनले बताए । ‘अव खर्च घट्ने भन्दा बढ्ने भएकाले हामीले वार्षिक ६०–६५ अर्वको हाराहारीमा राजस्व संकलन गर्नुपर्छ,’ बोहराले भने । नेपालका प्रमुख १० ओटा भन्सार कार्यालयमध्ये १० औं नम्बरमा रहेको यहाँको भन्सार नाकाबाट हुने आयात–निर्यात पनि १० औं नम्बरमै रहेको भन्सार कार्यालय कैलालीले बताएको छ । माघ मसान्तसम्म एकसय दुई प्रतिशत राजस्व संकलन गरेको भन्सार कार्यालयले खाद्यन्नसहित १० ओटा वस्तुको आयात गर्दै आएको बताएको छ । यस वर्ष भन्सारसम्बन्धी ५८ ओटा मुद्दामध्ये दुई ओटा मुद्दा फच्र्यौटबाट ८५ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सारले बताएको छ । सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्न रात्रीकालीन सेवाको समेत आवश्यकता महशुस गरेका मन्त्री बोहराले यसको औचित्यलाई पुष्टि हुने गरी योजना बनाउन भन्सार कर्मचारीहरुलाई निर्देशनसमेत दिएका छन् । भन्सार कर्मचारीको सक्रियता नबढेसम्म प्रदेशले आर्थिक लक्ष्य भेट्टाउन नसक्ने बताउँदै उनले व्यवसायलाई लाभ हुने गरी काम गर्न सचेत गराए । कैलाली भन्सारको चालू आर्थिक वर्षको भन्सार असुली लक्ष्य ३ अर्व रुपैयाँ रहेको कार्यालयले बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)