नाफा कमाउने प्रायः कम्पनीले कर्मचारीलाई बोनस दिन्छन् । कसैले थोरै बोनस दिन्छन्, कसैले धेरै । चीनमा एउटा स्टील कम्पनीले दिएको बोनस गोजीमा नअटाएर कर्मचारीले बोरामा लैजानुपरेको थियो । भेनेजुएलाको एक सेक्युरिटी कम्पनीले कर्मचारीलाई मासिक तलबसँगै ‘प्रेरक बोनस’का रूपमा अण्डा दिने भएको हो । भेनेजुएलाको पश्चिमी राज्य जुलियास्थित एटलास सेक्युरिटी कम्पनीले कर्मचारीलाई कामप्रति आकर्षण बढाउन मासिक १० डलर तलबसँगै समयको ख्याल राख्ने र राम्रो काम गर्ने कर्मचारीलाई बोनसस्वरूप १ सय ४४ ओटा अण्डा दिने योजना ल्याएको छ ।
कर्मचारीलाई राम्रो र समयमा काम गर्न प्रेरित गर्न यस्तो योजना ल्याउन लागिएको बताइएको छ । सङ्कटग्रस्त अर्थतन्त्र भेनेजुएलामा खाद्यान्नको अभाव र मूूल्यवृद्धिजस्ता समस्या बढ्ने क्रममा छन् । यसै कुरालाई हेर्दै कम्पनीले यस्तो योजना ल्याएको हो । कम्पनीले तोकेको मापदण्डभित्र पर्ने कर्मचारीलाई साप्ताहिक रूपमा ३६ ओटा अण्डा बोनस दिन लागिएको कम्पनीले बताएको छ । यी सबैको मूल्य ब्ल्याक मार्केट (सरकारले तोकेको आधिकारिक विनिमय दरभन्दा फरक दर)मा २ डलर पर्न आउँछ ।
मासिक तलबसँगै अण्डा बोनस पाउन कर्मचारीले समयमा कार्यालय आउने, स्मार्ट देखिने र आफ्नो कामको सिफ्ट पनि मिस नगर्ने जस्ता नियमको पालना गर्नुपर्नेछ ।
‘यस्ता साना तर महत्त्वपूर्ण नियम पनि धेरैजसो कर्मचारीले नमानेका कारण हामीले यस्तो कदम चालेका हौं,’ एटलासका मानव संसाधन म्यानेजर सिण्डी फ्युमेयरले भने । कम्पनी नवप्रवर्तनतर्फ अघि बढिरहेको र यो राम्रो सुविधा रहेकोमा उनले जोड दिएका छन् । यस्तो योजना भएको विज्ञापन दिएपछि जागिरका लागि थुप्रै आवेदन आएको पनि उनले बताए ।
भेनेजुएलाका कर्मचारीहरूलाई खाद्यान्न तथा यातायातसँग सम्बन्धित बोनसको महत्त्व धेरै नै छ । त्यहाँको मुद्रा धेरै नै अवमूल्यन भइसकेको छ र हाल मासिक न्यूनतम तलब ब्ल्याक मार्केट रेटमा जम्मा १ डलर रहेको छ । भेनेजुएला हाइपर मुद्रास्फीतिको अवस्थाबाट पनि गुज्रिरहेको छ भने यो विश्वमै धेरै हत्या हुने राष्ट्र पनि हो र धेरै जसो घटनामा सेक्युरिटी गार्ड नै पीडित हुने गरेका छन् । त्यसैकारण पनि यहाँ यस्तो जागिरप्रतिको आकर्षण घट्दै गएको हो ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले यी सबैका लागि ‘आर्थिक युद्ध’ कारण भएको आरोप लगाउँदै यो सबै विपक्षी दलले अमेरिकी सहयोगमा गरिरहेको आफूले विश्वास लिएको बताएका छन् । उता, आलोचकहरूले भने सरकारले नै भ्रष्टाचार र अयोग्यताको माध्यमबाट अर्थतन्त्रलाई खोक्रो बनाइरहेको बताएका छन् । एजेन्सी