व्यवस्थापन ज्ञान : बढी योग्यता भएका कर्मचारीबाट समस्या
Feb 19, 2018
 
रोजगारी
काठमाडौं । स्नातकसम्म पढेको व्यक्तिले एनजीओ आईएनजीओलगायत धेरै तलब पाइने कार्यालयमा सहायक वा पियन तहको काम गरिरहेका हामीले देखेका छौं । कहिलेकाहिँ भनेको जस्तो काम नपाउँदा स्नातकोत्तर तह उत्तीर्ण गरेकाहरू पनि ससाना काममा अल्झिरहेका हुन्छन् । धेरै योग्यता चाहिने काम भएपनि उपयुक्त कर्मचारी नभेट्दा अदक्ष कर्मचारी राख्न रोजगारदाता पनि बाध्य हुन्छन् । धेरै योग्यता चाहिने काममा अदक्ष कर्मचारी राख्दा निकै समस्या हुन्छ । तर, थोरै योग्यता भए पुग्ने कामका लागि आवश्यकताभन्दा धेरै योग्यता भएका कर्मचारी भर्ती गर्नु पनि समस्याकारी नै हो । कहिलेकाहिँ हामी ‘ओभरक्वालिफाइड’ छौं भन्ने जान्दाजान्दै पनि त्यस्तो काम गर्छौं ।
क्यानडाको कलगेरीस्थित एमण्डा हेइबर्टले पनि यस्तै गरिन् । हेइबर्टले एक सञ्चार कम्पनीको निर्देशकका रूपमा काम गरिसकेकी थिइन् । सो काम छुटेपछि केही वर्षअघि उनले भिटामिन सप्लिमेण्ट कम्पनीमा काम गरिन् । उक्त कामका लागि आफू ‘ओभरक्वालिफाइड’ छु भन्ने उनलाई थाहा थियो । उच्च तलब सुविधा, नाम चलेको ठूलो कम्पनीमा काम गर्ने अवसर आदिले गर्दा हेइबर्ट सो कम्पनीमा सानो पदमा रहेर पनि काम गर्न लोभिइन् । तर, काममा जान थालेपछि उनले दिनभर व्यस्त रहने गरी पर्याप्त काम पनि पाइनन् र काम उनले सोचेजस्तो चुनौतीपूर्ण पनि थिएन । उल्टै पट्यार लाग्दो थियो । त्यसैले, सो काम आफ्ना लागि अर्थपूर्ण नभएको महसूस उनलाई हुन थाल्यो । अनि २ वर्ष नबित्दै उनले सो काम छाडिन् । यस्तो महसूस गर्ने हेइबर्ट एक्लै व्यक्ति भने होइनन् । योग्यताभन्दा न्यून स्तरको काम गर्ने जो कोहीलाई यस्तै महसूस हुन्छ ।
थोरै योग्यता भए पनि हुने काममा बढी योग्यता हुने कामदारले काम गर्नुपर्ने स्थिति नेपालमा मात्रै होइन संसारभर छ । बेलायतमा मात्रै प्रत्येक ६ मध्ये एक जना कर्मचारी उसले गरिरहेको कामका लागि ‘ओभरक्वालिफाइड’ भएको अनुमान गरिएको छ । स्नातक तह उत्तीर्ण गरेका ५८ प्रतिशतले त्यस्तो डिग्री नभए पनि हुने काम गरिरहेका छन् । अमेरिकामा पनि स्नातक तह पढेका हरेक चारमध्ये एक जना अहिले तिनीहरूले गरिरहेको कामका लागि ‘ओभरक्वालिफाइड’ भएको अनुमान छ । पहिले धेरै पढाइ नै नचाहिने काम गर्न अहिले कैयौं कर्मचारीहरूले शैक्षिक प्रमाणपत्रलाई हतियार बनाएका छन् । यसले गर्दा एक प्रकारको रोजगारी ‘इन्फ्लेशन’को स्थिति उत्पन्न भएको छ, जहाँ कर्मचारीहरूले आफूलाई चुनौतीपूर्ण नलागेको कामसमेत गरिरहेका छन् ।
यस्तो प्रवृत्ति बढ्दै गएसँगै रोजगारदाताहरूले ठूलो सङ्ख्यामा स्मार्ट, उच्च शीप भएका अनि धेरै पढेका कर्मचारी पाइरहेका छन् । झट्ट हेर्दा यो प्रवृत्तिले रोजगारदाताहरूलाई फाइदा भइरहेको जस्तो देखिन्छ । तर, वास्तविकता अर्कै छ । यस्तो प्रवृत्तिले कम्पनीहरूलाई फाइदा गर्दैन । बरू उल्टै हानि गर्न पनि सक्छ । आवश्यकताभन्दा धेरै योग्यता भएका कर्मचारी भर्ती गरेर कम्पनीहरूले आफ्नै नोक्सान गरिरहेको हालै भएका अनुसन्धानहरूले देखाएका छन् ।
असन्तुष्टिको लहर
कार्यालयमा उच्च शीप भएका र धेरै पढेका व्यक्तिहरू हुनु वरदानै हो । तर, यस्ता ‘ओभरक्वालिफाइड’ कर्मचारीले यति त म गर्न सकिहाल्छु नि भन्ने वा दिक्क लागेको भावना देखाएर असन्तुष्टि व्यक्त गर्नेलगायत नकारात्मक धारणा विकास गर्न सक्छन् । यस्तो भावना ऊबाट विस्तारै कार्यालयका अन्य क्युबिकल वा कर्मचारीमा पनि पोखिन सक्ने चेतावनी पोर्टल्याण्ड स्टेट युनिभर्सिटीका व्यवस्थापन विषयका प्राध्यापक बेर्रिन एर्डोगनले दिएकी छन् । ‘इण्टाइटलमेण्ट’को भावनाले सबैजना विशेषगरी समूहमा काम गर्नेहरूको मनोबल घटाउँछ भन्छिन् एर्डोगन । कुनै कामका लागि चाहिनेभन्दा बढी शीप भएका कर्मचारीले आफ्ना सहकर्मीभन्दा आफू बेग्लै छु भन्ने महसूस गर्ने उनको अनुसन्धानले देखाएको छ । यस्तो भावनाले बिस्तारै उनीहरूलाई पृथक् र एक्लो बनाउँछ ।
कुनै कर्मचारी ओभरक्वालिफाइड छ भने उसले आफूलाई दिइएको काममा पूर्ण रूपमा तल्लीन भएर नगर्न पनि सक्ने ‘द २७ च्यालेञ्जेज म्यानेजर्स फेस’ पुस्तकका लेखक तथा लिडरशीप तालीम विशेषज्ञ बु्रस टुल्गनले बताएका छन् । टुल्गन भन्छन्, ‘न्यून मनोबलका कारण कामप्रति तिनीहरूको रुचि हराउँछ र गर्नुपर्ने काम पनि गर्दैनन्’ । उनका अनुसार चाहिनेभन्दा धेरै योग्यता छ भन्ने अनुभूतिले उत्पन्न हुने यस्तो समस्या विशेषगरी युवा कर्मचारीमा बढी पाइएको छ । अन्य पुस्ताका तुलनामा मिलेनियलहरूले आफू र आफ्ना रोजगारदातासँग पनि बढी अपेक्षा राखेका हुन्छन् । (सन् १९८० को दशकको शुरूदेखि सन् २००० को दशकको शुरूको बीचमा जन्मिएकाहरूलाई मिलेनियल भनिन्छ । आफूले पाएको पदका लागि आफू निकै प्रतिभाशाली छु भन्ने सोच्नेमा युवा कर्मचारी नै धेरै भएका तथा कार्यस्थलमा छँदा यिनीहरू प्रायः निराश रहने सन् २०१७ को शुरूमा फ्लोरिडा एट्लाण्टिक युनिभर्सिटीका अनुसन्धाताले गरेको अध्ययनले देखाएको थियो ।
यस्ता कर्मचारीहरू कार्यालयमा ढिला आउने र छिट्टै निस्कने, काम चोर्ने र आफूभन्दा कमजोर सहकर्मीलाई हेप्नेलगायत विद्रोहात्मक गतिविधिमा बढी संलग्न हुने सम्भावना धेरै भएको फ्लोरिडा एट्लाण्टिक युनिभर्सिटीको व्यवस्थापन विभागका सहायक प्राध्यापक माइकल हरारी भन्छन् ।
राम्रा गुण पनि छन् ओभरक्वालिफाइड कर्मचारीका
कारण जहिले पनि नराम्रै हुन्छ भन्ने चाहिँ होइन । हालैको एक अध्ययनमा एर्डगन र दुर्हाम युनिभर्सिटीको बिजनेश स्कूलका सहायक प्राध्यापक हङ देङले ओभरक्वालिफाइड कर्मचारीमा केही व्यक्तिगत विशेषता पहिचान गरेका छन् । यी विशेषताले तिनीहरूलाई जस्तोसुकै वातावरण/कार्यस्थलमा पनि ‘फिट’ रहन मद्दत गर्ने अध्ययनमा पाइएको थियो । ‘चाहिनेभन्दा धेरै योग्यता भएपनि अर्को व्यक्तिलाई छिट्टै प्रभावित गर्न सक्ने खूबी भएको कर्मचारीले सहकर्मीहरूसँग अन्तरक्रिया गर्दा उपर्युक्त सामाजिक व्यवहार देखाउन सक्छन् र सहकर्मीले यिनीहरूलाई सक्षम एवम् आकर्षक व्यक्तित्वका रूपमा हेर्छन्,’ भन्छन् देङ । देङका अनुसार यस्ता कर्मचारीहरू लोकप्रिय हुन्छन् र आफूलाई सबैले स्वीकार गर्ने भएकाले यिनीहरू सकारात्मक व्यवहार गर्न प्रेरित पनि हुन्छन् ।
बढी योग्यता भएकाहरूमा वरिपरिको वातावरणअनुरूप आफूलाई ढाल्ने, मित्रवत् व्यवहार देखाउने र काम वा हाकिमलाई उपेक्षा गर्नबाट आफैंलाई रोक्ने बानी हुन्छ । यस्तो बानी भएका कर्मचारीले अरूको तुलनामा प्रभावकारी ढङ्गले काम गर्न सक्ने देङको भनाइ छ । ओभरक्वालिफाइड कर्मचारी भर्ती गर्दा कम्पनीमा हानि हुने भएपनि केही कुरामा विचार गर्ने हो भने यो स्थिति नियन्त्रण गर्न सकिन्छ । यसका लागि उनीहरूलाई व्यस्त राख्न पर्याप्त काम दिनुपर्छ । यिनीहरूलाई सृजनशील कामहरू दिने, दीर्घकालीन परियोजना सुम्पिने र कम्पनीभित्र अन्य समूहसँग सहकार्य गर्ने जिम्मा दिन सकिने कार्नफिल्ड स्कुल अफ म्यानेजमेण्टका नेतृत्व क्षमता विषयका प्राध्यापक एलिजाबेथ केलन बताउँछिन् ।
यसो गर्दा समस्या नै उत्पन्न हुँदैन भन्ने चाहिँ होइन । यस्तो तरीका अपनाउँदा अन्य कर्मचारीको मनमा भने आफूलाई पक्षपात गरियो कि भन्ने धारणा बढ्न सक्छ । त्यसैले यस्तो तरीका अपनाउँदा हाकिमहरू चनाखो हुनुपर्ने केलनको धारणा छ । केलनका अनुसार उक्त कामका लागि त्यही ओभरक्वालिफाइड व्यक्तिलाई नै किन रोजियो भन्नेबारे टीममा छलफल गर्नु महत्त्वपूर्ण छ ।
ओभरक्वालिफाइड कर्मचारीको मनमा आउने नकारात्मक भावनाविरुद्ध लड्ने अर्को तरीका भने कर्पोरेट भर्याङमा माथि कसरी उक्लिने भन्नेबारे खुलेर कुरा गर्नु पनि हो । एक कम्पनीका मानव संसाधन अधिकृतले एउटा कामका लागि ओभरक्वालिफाइड व्यक्ति भर्ती गरे । उनले किन यस्तो निर्णय गरे भन्नेबारे आफूले छलफल गरेको दृष्टान्त एर्डोगनले दिएकी छन् । छलफलका क्रममा अधिकृतले उक्त कर्मचारीलाई १ वर्षसम्म सोही पदमा रहेर काम गरेपछि सङ्गठनमा उनको पदोन्नति हुन सक्ने सम्भावनाबारे बताए । उनको यस्तो अभिव्यक्ति सुनेर सधैंभरि अहिलेको काम गर्नु नपर्ने र केही समयपछि योभन्दा राम्रो कामको अवसर पाइने भन्दै ती ओभरक्वालिफाइड कर्मचारी मख्ख परे ।
यो उदाहरण तपार्इंमा पनि लागू भयो भने तपार्इं के गर्नु हुन्छ ? अहिले गरिरहेको कामका लागि आफू ओभरक्वालिफाइड छु भन्ने महसूस गर्ने हरेक व्यक्तिलाई भोलि काम गर्दै जाँदा अहिलेको भन्दा उच्च पदमा उन्नति हुने सम्भावनाले मद्दत गर्न सक्छ । हामीमध्ये कैयौं अहिले पनि हेइबर्टको जस्तै स्थितिमा छौं होला । यस्ता व्यक्तिले थोरै योग्यता भएपनि हुने काम किन गर्न चाहेको हो र सो कम्पनीमा आफू कसरी फिट रहन सक्छु भन्नेबारे अन्तरवार्ताकै क्रममा छलफल गर्ने सल्लाह टुल्गनले दिएका छन् । ‘काम पाउन सीभीमा आफ्ना उपलब्धि र योग्यतालाई कम देखाउने वा उपलब्धिको महत्त्व घटाउने गर्नु हुँदैन । इमानदार र विश्वसनीय बन्नुहोस्,’ टुल्गनले भनेका छन् ।