हामीले घरमा दैनिक प्रयोग गर्ने उपभोग्य वस्तुका कारण वायु प्रदूषण हुने एक नयाँ अध्ययनले देखाएको छ । अमेरिकाको कोलोराडो विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार घरमा दैनिक रूपमा प्रयोग गरिने कञ्जुमर गूड्समा हुने रसायन वायु प्रदूषणको प्रमुख कारक तत्त्व हो । साइन्स पत्रिकाको पछिल्लो संस्करणमा छापिएको अध्ययन प्रतिवेदन अस्थिर जैविक कम्पाउण्ड्स (भीओसीएस)मा बढी केन्द्रित छ । यस्तो तत्त्व सफा गर्ने तरल पदार्थ र रङमा बढी पाइन्छ । यस्तो तत्त्व हावामा मिसिएपछि स्वास्थ्यमा नकारात्मक असर गर्ने तत्त्व बन्छ ।
भीओसी पाइने गैरसवारीजन्य स्रोतलाई कम आँकलन गरिएको वैज्ञानिकहरूले बताएका छन् । प्रतिवेदनमा भनिएको छ, ‘यो परिणाम केही आश्चर्यजनक लाग्न सक्छ, किनकि हामीले तौलको हिसाबले त अन्य रसायन उत्पादनभन्दा बढी इन्धनको प्रयोग गर्दै आएका छौं ।’ इन्धनको उत्पादन गर्दा कच्चा तेलको ९५ प्रतिशत भाग प्रयोग हुन्छ भने डियोड्रेण्ट, कीटनाशक र टाँस्ने वस्तुमा पाइने रसायन बनाउन जम्मा ५ प्रतिशत कच्चा तेलमात्र प्रशोधन गरिन्छ । तर, सवारीमा प्रयोग हुने इन्धन जलेको हुन्छ भने अधिकांश घरायसी उत्पादनलाई हावामा त्यत्तिकै उडाउने गरी नै डिजाइन गरिएको हुन्छ ।
‘नेल पोलिश मेटाउने रिमूभर, हेयरस्प्रेजस्ता घरमा प्रयोग हुने रसायन प्रायः तरल आकारमा हुन्छ र यस्तो रसायन अधिकांश क्षेत्रमा सफा गर्ने एजेण्टको रूपमा प्रयोग गरिन्छ,’ अमेरिकी वैज्ञानिक संस्था नेशनल ओशियानिक एण्ड एट्मोस्फेरिक एड्मिनिष्ट्रेशनकी वैज्ञानिक डा. जेशिका गिल्म्यानले बताएकी छन् । त्यस्तै, यो रसायनको विकल्प पानीमात्र हुन सक्छ र सबैजसो दाग खाली पानीले मात्र मेटाउन सक्दैन । तर, यसको कम प्रयोग भने उपयोगी हुने बताइएको छ । यसलाई आफ्नो काम पूरा गर्न जति आवश्यक छ, त्यतिमात्र प्रयोग गर्नु एउटा राम्रो उपाय हुन सक्ने वैज्ञानिकहरूको दाबी छ ।
तर, हामीले सास फेर्ने हावामा विभिन्न तत्त्वको सम्मिश्रण पाइने भएकाले कुन रसायनले कस्तो खालको स्वास्थ्य समस्या निम्त्याइरहेको छ भनेर निर्क्योल गर्नु करीब असम्भवजस्तै रहेको अनुसन्धानकर्ताहरू बताउँछन् । हामीले प्रयोग गर्ने रूमफ्रेश्नरदेखि बेडरूममा प्रयुक्त फ्ल्याटप्याक फर्निचरबाट हुने रसायन उत्सर्जनले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । सरकार र सञ्चार दुवै क्षेत्र घरभित्र उत्सर्जन हुने रसायनभन्दा बाहिर कारलगायत सवारीले गर्ने उत्सर्जनमा केन्द्रित रहेका कारण यो अनुसन्धानका लागि बेवास्ता गरिएको क्षेत्र हो । अनुसन्धानकर्ताहरूले यस अध्ययनका लागि व्यापक सूचना सङ्कलन गरेका थिए । अमेरिकामा उपभोक्ता र औद्योगिक उत्पादनले उत्सर्जन गर्ने भीओसीको मात्रा वायु प्रदूषण इन्भेण्टरिजले अनुमान गरेभन्दा दुई वा तीन गुणा बढी रहेको अध्ययनको निष्कर्ष छ । एजेन्सी