अङ्क ‘७’ लाई भाग्यशाली जादूको मन्त्र भएको विश्वास विश्वमा लामो समयदेखि विद्यमान छ । तर, हालै गरिएको एक मनोवैज्ञानिक अध्ययनले भने यो परम्परागत मान्यतालाई चुनौती दिँदै अङ्क ‘४’ भाग्यशाली भएको दाबी गरेको छ । अष्ट्रेलियाका एक नामी मनोविज्ञले गरेको उक्त अध्ययनमा मानिसहरुको मष्तिस्कले सूचना र तथ्याङ्क प्रशोधन गर्दा एकपटकमा चारओटासम्मको विश्लेषण गर्दा नअलमलिने सम्भावना छ, त्यसपछि मस्तिष्क अलमलिने पाइएको छ ।
‘जर्नल एक्टा साइकियाट्रिका स्क्याण्डिनाभिसिया’को पछिल्लो अङ्कमा प्रकाशित उक्त अध्ययनको शोधले सन् १९५६ मा अमेरिकी मनोविज्ञ जर्ज मिलरले गरेको अर्को अनुसन्धानलाई खण्डन गरेको छ । मिलरले विख्यात मनोवैज्ञानिक जर्नल ‘द साइकोलोजिकल रिभ्यू’मा उक्त वर्ष प्रकाशित एक लेखमा मानव मस्तिष्कले एकपटकमा सातओटा सूचना अथवा तथ्याङ्कको प्रशोधनमात्र गर्न सक्ने उल्लेख गरेका थिए । ‘द म्याजिकल नम्बर सेभेन, प्लस अर माइनस टू, सम लिमिट्स अन आवर क्यापासिटी फर प्रोसेसिङ इन्फरमेशन’ शीर्षकमा प्रकाशित उक्त आलेख अहिलेसम्म छापिएका सबैभन्दा प्रभावशाली मनोवैज्ञानिक सोधमध्ये एक मानिँदै आइएको छ ।
तर, मिलरको सोध पनि अपूर्ण रहेको बताउँदै अष्ट्रेलियाली अनुसन्धानकर्ताहरुले मानव मस्तिष्कले एकपटकमा चारओटा मात्र सूचना र तथ्याङ्कहरुको प्रशोधन गर्न सक्ने बताएका छन् । युनिभर्सिटी अफ न्यू साउथ वेल्स (यूएनएसडब्ल्यू)का मनोविज्ञान प्राध्यापक गोर्डन पार्करका अनुसार मिलरका परीक्षणहरुलाई पुनः विश्लेषण गर्दा उनले सही अङ्क पत्ता लगाउने कार्यलाई फराकिलो अन्तरले चुकेका थिए । ‘कुनै पनि ७ अङ्कका टेलिफोन नम्बर मानौं ६४५८९३७ लाई सम्झिनुपर्दा धैरैजसो हामीले उक्त नम्बरलाई ६४, ५८, ९३ र ७ गरी चार भागमा विभक्त गर्ने गर्छौं,’ पार्करले एक उदाहरण प्रस्तुत गर्दै लेखेका छन् । यसबाट अङ्क ४ नै मानिसहरुको बुझाइको सीमा भएको उनको जिकीर छ । अहिलेसम्म सबैभन्दा प्रभावशाली मानिँदै आएको मनोवैज्ञानिक शोध आफ्नो परीक्षणबाट झण्डै शतप्रतिशत फरक भएको पाइएको पार्करले दाबी गरेका छन् ।
उनले मिलरले प्रयोग गरेको बहु–तहयुक्त शीर्षक र वैज्ञानिक तथ्यभन्दा बाहिर गएर त्यस शोधभित्र प्रयुक्त ‘जादूको मन्त्र’ शब्दले गर्दा नै त्यो आलेखलाई यतिविधि सफल बनाएको दाबी गरे । पार्करले मिलरका खोजको ५० वर्षपछि पनि मानव मष्तिस्कको भण्डारण क्षमताबारेको अनिश्चय जारी नै रहेको बताए । ‘मानव मष्तिस्कले गर्न सक्ने तथ्याङ्कको भण्डारण असीमित हुन सक्छ, तर उक्त सीमा अल्पकालीन अवधिका सम्झनालाई सक्रिय बनाउँदा भने हुन सक्छ,’ उनले भने । अब भने मनोविज्ञहरुबीच मानव मष्तिस्कले छोटो अवधिका चारओटा सम्झनामात्र भण्डारण गर्न सक्ने अवधारणामा सहमति बन्दै गएको पार्करको कथन थियो ।