तत्कालका लागि इम्बोष्ड नम्बर प्लेट राख्ने कार्य रोक्न सर्वोच्चको अन्तरिम आदेश
Feb 22, 2018
 
समाचार
मुख्य खबर
फागुन १०, काठमाडौं । सरकारले सवारी साधनमा अनिवार्य लागू गरेको इम्बोष्ड नम्बर प्लेट राख्ने कार्य तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । बिहीवार प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको एकल इजलाशले सरकारका नाममा अन्तरिम आदेश दिंदै इम्बोष्ड नम्बर प्लेट राख्ने कार्यलाई तत्कालका लागि अगाडि नबढाउन आदेश दिएको हो ।
वातावरणविद् भरत बस्नेतले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले तत्कालका लागि इम्बोष्ड नम्बर प्लेट राख्ने कार्य अन्तरिम आदेश दिंदै रोकेको छ । बस्नेतले इम्बोष्ड नम्बर प्लेट राख्ने कार्यमा ठूलो कमिसनको खेल भएको, भारतीय नम्बर प्लेट जस्तो देखिएकोलगायतका विषयमा रिट दायर गर्दै उक्त नम्बर प्लेट राख्ने काम स्थगित गर्न माग गरेका थिए ।
इम्बोष्ड नम्बर प्लेटका लागि यस्तो थियो अहिलेसम्मको व्यवस्था :-
सरकारले सवारीसाधनमा पुराना नम्बरप्लेट विस्थापित गरी नेपालभर चल्ने सवारीसाधनमा अत्याधुनिक प्रविधि युक्त ‘इम्बोष्ड नम्बर प्लेट’ जडान गर्ने यातायात व्यवस्था विभागले निर्णय गरेको हो । नयाँ तथा अत्याधुनिक प्रविधिसहितको इम्बोष्ड नम्बरप्लेटले कर तथा राजस्व सङ्कलनमा सहज हुनुका साथै सवारी चोरी हुँदा वा आवश्यकता पर्दा तिनको अवस्थिति पत्ता लगाउनेलगायत काममा प्रत्यक्ष सहयोग पुग्ने ठम्याइ विभागको छ । यसले भन्सार छलेर सवारीसाधन भिœयाउने प्रवृत्ति पनि निरुत्साहित हुने हुँदा राज्यलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
नम्बरप्लेट राख्न के गर्नुपर्छ ?
‘इम्बोष्ट नम्बरप्लेट’ राख्न कुनै पनि सवारीधनी एकपटक मात्र विभागमा जानुपर्छ । शुरूमा सवारीधनीले ‘इम्बोष्ट नम्बरप्लेट’ जडानका लागि अनलाइन आवेदन भर्नुपर्छ । सवारीको सम्पूर्ण आवश्यक विवरणसहित उक्त आवेदन भरिसकेपछि निर्धारित रकम राष्ट्रिय वाणिज्य बैङ्कको खातामा जम्मा गरेको भौचर नम्बरसहित पोष्ट गर्नुपर्छ ।
त्यसपछि उक्त आवेदन विभागको सिष्टममा जान्छ । उत्पादक कम्पनीले विभागबाट आएको विवरणअनुसार प्लेटमा रहेको आरएफआईडी ९रेडियो फ्रिक्वेन्सी आइडेण्टिफिकेशन० चिप्ससहितको स्टिकरमा सबै विवरण राखेर विभागमा पठाउँछ ।
यसरी तयार भएको नम्बरप्लेटमा उल्लेख भएको विवरणमा सवारीधनीको फोन नम्बर पनि हुन्छ । उक्त नम्बरमा प्लेट तयार भएको र जडान गर्न आउन सम्बन्धित धनीलाई म्यासेज जान्छ । त्यसपछि विभाग वा तोकिएको स्थानमा गएर जडान गर्न सकिन्छ ।
शुल्क
इम्बोष्ड नम्बरप्लेट राख्न मोटरसाइकलको २ हजार ५ सय, तीनपाङ्ग्रे सवारीको २९ सय, चारपाङ्ग्रे सवारीको ३ हजार २ सय र हेभी सवारीको ३ हजार ६ सय रुपैयाँ तिर्नुपर्छ । सवारीधनीले फारम भर्नुभन्दा पहिले राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको विभागको खातामा तोकिएको रकम दाखिला गर्नुपर्छ ।
यसरी जोडिने इम्बोष्ड नम्बरको आयु १० वर्ष हुनेछ । इम्बोष्ड प्रविधिमा पाँच प्रकारका नम्बरप्लेटको मात्र कार्यान्वयन हुनेछ । सरकारी सवारीसाधनमा सेतो प्लेटमा रातो अक्षर तथा अङ्क र निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर तथा अङ्क हुनेछन् । यस्तै, कूटनीतिक सवारीसाधनका लागि सेतो प्लेटमा नीलो अक्षर तथा अङ्क हुनेछ । राष्ट्रपतिको सवारीका लागि पनि छुट्टै प्लेटको व्यवस्था छ ।