ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘करप्शन पर्सेप्शन्स इण्डेक्स २०१७’ : नेपालमा भ्रष्टाचार घटेको सङ्केत

Feb 23, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
काठमाडौं । जताततै भ्रष्टाचार छ, घूस लेनदेन नगरी त केही काम नै बन्दैन भन्ने गुनासो हामीले बारम्बार सुन्दै आएका छौं । गएको १२ महीनामा हामीमध्ये धेरैले आफ्नो काम चाँडै सम्पन्न होस् भनेर सरकारी÷निजी दुवै क्षेत्रका कर्मचारीलाई घूस पनि दियौं होला । अनि अरूको बाध्यताबाट लाभ लिन पल्केकाहरूले घूस लिए पनि होलान् । अन्य देशमा भ्रष्टाचार बढेर हो वा नेपालमा साँच्चै भ्रष्टाचार कम भएर हो यस वर्ष विश्वव्यापी भ्रष्टाचार सूचकाङ्कमा भने नेपालको स्थिति केही सुध्रिएको पाइएको छ । भ्रष्टाचारविरोधी अन्तरराष्ट्रिय संस्था ट्रान्सपरेन्सी इण्टरनेशनलले सार्वजनिक गरेको ‘करप्शन पर्सेप्शन्स इण्डेक्स २०१७’ शीर्षकको प्रतिवेदनअनुसार समीक्षा अवधिमा ३१ अङ्क ल्याएर १८० देशको सूचीमा नेपाल १ सय २२औं स्थानमा छ । यस्तै सूचीमा गतवर्ष २९ अङ्कसहित नेपाल १ सय ३१औं स्थानमा थियो । ट्रान्सपरेन्सी इण्टरनेशनलले ४० भन्दा कम अङ्क ल्याउने देशलाई अत्यधिक भ्रष्टाचार हुने देशका रूपमा लिने गरेको छ । त्यसैले गतवर्षको तुलनामा यस वर्ष भ्रष्टाचार सूचकाङ्कमा नेपालको वरीयता सुध्रिए पनि स्थिति भने सन्तोष मान्ने खालको छैन । ३१/३१ अङ्कसहितको सूचीको १ सय २२औं स्थानमा यसपटक नेपालसँगै अजरबैजान, जिबुटी, काजकिस्तान, लाइबेरिया, माल्डोभा पनि छन् । दक्षिण एशियाली देशमध्ये भ्रष्टाचार सबैभन्दा कम पाइएको देश भुटान हो । ६७ अङ्कसहित भुटान सूचीको २६औं स्थानमा रहेको छ । अफगानिस्तान दक्षिण एशियामा सबैभन्दा बढी भ्रष्टाचारयुक्त देश बनेको छ । १५ अङ्कसहित अफगानिस्तान सूचीको १ सय ७७औं स्थानमा छ । सूचीमा भारत, श्रीलङ्का, माल्दिभ्स, पाकिस्तान र बङ्गलादेश क्रमशः ८१, ९७, ११२, १२७ र १४३औं स्थानमा छन् । ४१ अङ्कसहित चीन सूचीको ७७औं स्थानमा छ । सीपीआईअनुसार भ्रष्टाचार कम हुने देशको सूचीमा न्यूजील्याण्ड ८९ अङ्कसहित शीर्ष स्थानमा छ । उसलाई पछ्याउने क्रममा ८८ अङ्कसहित डेनमार्क दोस्रो स्थानमा छ । ८४/८४ अङ्कसहित फिनल्याण्ड, नर्वे र स्वीट्जरल्याण्ड तेस्रो स्थानमा रहँदा ८२/८२ पाएर सिङ्गापुर र स्वीडेन सूचीको छैटौं स्थानमा छन् । क्यानडा, लक्जेम्बर्ग, नेदरल्याण्ड र बेलायत सबैभन्दा कम भ्रष्ट देशको सूचीको शीर्ष ८÷८औं स्थानमा परेका छन् । सबैभन्दा चरम भ्रष्टाचार सोमालियामा पाइएको छ । १ सय ८० देश सूचीकृत सीपीआई सूचकाङ्कमा ९ अङ्कसहित सोमालिया सबैभन्दा पुछारमा छ । दक्षिण सुडान, सिरिया, अफगानिस्तान, यमन, सुडान, लिबिया र उत्तर कोरिया पनि भ्रष्ट देशको सूचीमा अगाडि नै छन् । यो सूचकाङ्कमा राजनीति, वित्तीय अनुशासन, न्यायमा पहुँचलगायत केही मापदण्डका आधारमा देशलाई शून्यदेखि १ सय अङ्क दिइएको छ । कुनै देशले शून्य अङ्क पाउनुको अर्थ हो, त्यहाँ भ्रष्टाचार चरम छ । १ सय अङ्क पाउने देशमा भने भ्रष्टाचार सबैभन्दा कम छ भन्ने बुझिन्छ । यो वर्ष दुई तिहाइभन्दा धेरै देशले ५० भन्दा कम अङ्क पाएका छन् । अधिकांश देशले भ्रष्टाचार नियन्त्रणमा नगण्य वा थोरै मात्र प्रगति गरेको प्रतिवेदनले देखाएको छ । पत्रकार र गैरसरकारी संस्था (एनजीओ)को सुरक्षा कमजोर भएका देशमा भ्रष्टाचार दर उच्च पाइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)