काठमाडौं । आगामी वर्षदेखि सुक्खायाममा हुने विद्युत् अभाव व्यवस्थापनका लागि इनर्जी बैङ्किङको प्रक्रिया अगाडि बढाउन लागिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । ‘यसका लागि भारतसँग छलफल अघि बढाउन लागिएको छ,’ उनले भने, ‘वर्षामा उनीहरूकहाँ विद्युत् अभाव हुने समयमा हामीले दिने र हिउँदमा हामीकहाँ कम हुने बेला उताबाट लिने गर्न सकिन्छ ।’ आगामी मङ्सिरदेखि सञ्चालनमा आउने भनिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेवा)ले उत्पादन दिन थालेपछि हालकै उपभोग संरचनामा वर्षामा नेपाललाई आफ्नो उत्पादन बढी हुनेछ ।
त्यसैगरी भारतसँग दैनिक रूपमा पनि इनर्जी बैङ्किङ गर्न सकिने अवस्था रहेको राष्ट्रिय योजना आयोगका सदस्य अरविन्दकुमार मिश्रले बताए । ‘हाम्रो दैनिक विद्युत् खपतको पीक आवर सकिएपछि भारतमा विद्युत् माग उच्च हुन्छ,’ उनले भने, ‘त्यसलाई व्यवस्थापन गर्न पनि दुई देशबीच इनर्जी बैङ्किङ हुनु आवश्यक छ ।’ नेपालमा साँझ ६ देखि ९ बजेसम्म दिनभरिकै सबैभन्दा बढी विद्युत् माग हुने गरेको छ । तर, भारतमा रातमा उद्योगका लागि बढी विद्युत् आवश्यक पर्ने हुँदा १० बजेपछि उताको माग बढ्ने मिश्रले बताए ।
निजीको योगदान अहम्
नेपालको विद्युत् उत्पादनमा निजीक्षेत्रको भूमिका उल्लेखनीय रहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताएका छन् । सन् १९११ देखि शुरू भएको नेपालको विद्युत् उत्पादनमा निजीक्षेत्र सहभागी नहुँदासम्म उत्पादनको परिमाण तथा गति दुवै कम भएको अभिव्यक्ति उनले दिए । ‘सन् १९९२ देखि निजीक्षेत्रका लागि नीतिले बाटो खुला गरेपछि मात्रै विद्युत् उत्पादनले गति लिएको हो,’ घिसिङले भने, ‘यसले गर्दा यतिबेला प्राधिकरणको उत्पादनको हाराहारीजस्तै निजीक्षेत्रको पनि उत्पादन रहेको छ ।’ हाल प्राधिकरणको जलविद्युत् उत्पादन जडितक्षमता ५ सय १० मेवा छ भने निजीक्षेत्रको जडितक्षमता ४ सय ८३ मेवा रहेको छ । प्राधिकरणको ५३ मेवा थर्मलसहित हाल देशभित्रको कुल ग्रीड कनेक्टेड विद्युत् आयोजनाहरूको जडितक्षमता १ हजार ४६ मेवा रहेको छ ।
लोडशेडिङ हटाउन उपभोक्ताको साथ
उपभोक्ताले प्राधिकरणको आह्वानमा साथ दिएका कारण देशै लोडशेडिङको मारबाट मुक्त हुन सकेको घिसिङले बताए । साँझ र बिहान (पीक आवर)मा उद्योगको विद्युत् कटौतीबाहेक यतिबेला देशैभरि लोडशेडिङ नरहेको उनले जानकारी दिए । ‘नियमित विद्युत् आपूर्तिको विश्वास उपभोक्तले पाएका कारण यो वर्षको हिउँदको विद्युत् अभावको जोखीमबाट पनि अब मुक्त भयौं,’ उनले भने, ‘मैले जसले सोध्दा पनि लोडशेडिङ हुँदैन भन्नु पनि उपभोक्तालाई आश्वस्त गराई लोडशेडिङ म्यानेजमेण्ट गर्नु नै थियो ।’
‘सन् २०२५ सम्म सबै नेपालीका लागि विद्युत् पु¥याउन के गर्नुपर्ला ?’ भन्ने विषयमा बिहीवार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उल्लिखित विषयहरूमा चर्चा भएको थियो । कार्यक्रममा योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख डा. कुसुम शाक्यलगायतले पनि आआफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा योजना आयोगका पूर्वउपाध्यक्ष पोखरेलले चिनी मिलबाट इथानोल बनाउने प्रक्रिया अघि बढाउन सके तत्कालै पेट्रोल आयातको ठूलो परिमाण घटाउन सकिने धारणा व्यक्त गरे । त्यस्तै चिनी मिलकै बगासबाट उत्पादन हुनसक्ने २५ देखि ३० मेवा विद्युत्लाई ग्रीडमा जोड्न सकिने पनि उनले बताए । त्यसैगरी आयोगका सदस्य मिश्रले चाहिएको सबै काम गर्ने भन्ने मान्यताले सोचअनुसार काम हुन नसकेको आरोप लगाए । समग्र आवश्यकतालाई ससाना एकाइमा वर्गीकरण गरी योजनाबद्ध रूपमा अघि बढाउनुपर्ने उनको तर्क रहेको थियो । त्यसैगरी उनले अबको क्रममा प्रसारण लाइनको व्यवस्थापनमा केन्द्रित हुन प्राधिकरणलाई सुझाव दिए । कार्यक्रमको आयोजना बारबरा एडम्स फाउण्डेशनले गरेको थियो ।