ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चार नगरमा गुरुयोजनाको तयारी

Feb 25, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । काठमाडौं उपत्यकाका चारओटा नयाँ नगरको विकासका लागि सरकारले गुरुयोजना बनाउन प्रक्रिया शुरू गरेको छ । काठमाडौं उपत्यकामा विकास गरिने ती नगरको विकासका क्रममा निर्माण गरिने नयाँ पूर्वाधार र पुराना सम्पदालाई कसरी संरक्षण गर्नेलगायत विषयमा खाका बनाउन गुरुयोजनाको तयारी गरिएको हो । काठमाडौं उपत्यका विकास प्राधिकरणले ती नगरको विकासका लागि परामर्शदाता कम्पनी छनोट प्रक्रियालाई अघि बढाएको हो । प्राधिकरणका शहरी योजनाकार भागवतभक्त खोखालीले चार नगरमध्ये दुईओटा नगरको गुरुयोजना निर्माणका लागि कम्पनी छनोट भइसकेको जानकारी दिए । ‘चारओटै नयाँ नगरको विकासका लागि परामर्शदाता छनोट गरिने कार्य अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘अहिले काठमाडौंको दक्षिण–पश्चिम र पूर्व–दक्षिणको गुरुयोजना बनाउनका लागि परामर्शदाता छनोट भइसकेका छन् ।’ उनका अनुसार सबैभन्दा बढी क्षेत्रफल १ लाख रोपनीमा निर्माण हुने काठमाडौंको पूर्व–उत्तरका लागि छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । साथै उत्तर दिशाको अध्ययनका लागि प्राप्त भएको आवेदन खारेज गरी प्राधिकरणले परामर्शदाता छनोटका लागि पुनः प्रक्रिया शुरू गरेको छ । नयाँ नगर विकासका लागि भक्तपुर र ललितपुरमा कुनै समस्या नदेखिएकाले यो क्षेत्रको गुरुयोजना बनाउने काम सरल भएको उनको भनाइ छ । गुरुयोजना निर्माणको जिम्मा पाएका ती स्वदेशी तथा विदेशी परामर्शदाताहरूले सरकारलाई १२ देखि १५ महीनासम्ममा गुरुयोजनाको प्रतिवेदन पेश गर्नेछन् । सबैभन्दा ठूलो क्षेत्रफल रहेको नगर विकासको गुरुयोजनाको प्रतिवेदन १५ महीनामा पेश गर्नुपर्ने व्यवस्था गरिएको शहरी योजनाकार खोखालीले बताए । उनका अनुसार अन्य १०/१० हजार रोपनी क्षेत्रफलको गुरुयोजनाको प्रतिवेदन भने कम्पनीले १२ महीनामा पेश गर्नुपर्छ । प्राधिकरणका अनुसार चार नगर विकासको गुरुयोजनामा चारओटा कम्पनी संलग्न हुनेछन् । त्यसमध्ये क्षेत्रफलका हिसाबले साना रहेका तीनओटा नगरको विकास नेपाली कम्पनी र ठूलो मानिएको नगर विकासको गुरुयोजना निर्माणका लागि विदेशी परामर्शदाता कम्पनीको समेत सहभागिता रहनेछ । यस्तै ती नगरको गुरुयोजना बनाउँदा रू. १८ करोड खर्च हुने अनुमान गरिएको प्राधिकरणले जानकारी दिएको छ । गुरुयोजनामा ती चार नगरमा निर्माण गरिने नयाँ पूर्वाधार कसरी विकास गरिने, पुराना बस्ती तथा निजी आवास र पुराना सांस्कृतिक सम्पदाहरूलाई कसरी संरक्षण गरिने भन्नेलगायत विषयमा खाका तयार गरिनेछ । अर्काेतर्फ सरकारले घोषणा गरेअनुसार काठमाडौं उपत्यकामा विकास गरिने स्मार्ट, स्याटेलाइट सिटीका साथै बाहिरी चक्रपथमा बाधा नपर्ने गरी पूर्वाधार विकास गर्ने गुरुयोजना बनाइने मन्त्रालयका एक अधिकारीले जानकारी दिए । शहरी विकास मन्त्रालयले गत वैशाख २४ गते काठमाडौं उपत्यकाभित्रका चार दिशामा चार नयाँ नगर निर्माण गर्ने निर्णय गरेको थियो । मन्त्रालयले जग्गा एकीकरणको माध्यमबाट निजी जग्गाधनीहरूसमेतको संलग्नतामा ती नगरका शहरी संरचनाहरू विकास गर्ने बताएको छ । मन्त्रालयले यसका लागि अन्तरराष्ट्रिय ‘स्टेट अफ आर्ट’ शहर निर्माण गर्न सोसँग सम्बन्धित विज्ञहरूको सेवा परामर्श लिने पनि निर्णय गरिसकेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)