ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘प्यासन’लाई पछ्याऊ भन्नु सबैभन्दा ठूलो झुट हो : क्युबन

Feb 26, 2018  
रोजगारी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
काठमाडौं । आफ्नै प्रयासले अर्बपति भएका हुन् मार्क क्युबन । अमेरिकाको पिट्सबर्ग शहरमा श्रमिक परिवारमा जन्मिएका क्युबन अहिले अमेरिकाका प्रसिद्ध व्यापारी र लगानीकर्ता हुन् । उनको जीवनशैली देखेर धेरैले डाह गर्छन् । कुनै समय गोजीमा ६० डलरमात्रै भएका क्युबनसँग अहिले अर्बौं डलरको सम्पत्ति छ । सन् १९८० को दशकको शुरूमा कम्प्युटरको प्रयोग भर्खरै बढ्दै थियो । यस्तोमा ‘योर बिजनेश सफ्टवेयर कम्पनी’मा उनले काम थाले । काम गर्दै जाँदा कैयौं सफ्टवेयर क्लाइण्टसँग क्युबनले राम्रो सम्बन्ध बनाए । आफैले कुनै सफ्टवेयर व्यवसाय पो शुरू गर्न सकिन्छ कि भनेर उनले कम्पनीका क्लाइण्टसँग भेटघाट गर्न थाले । तर, यस्तो देखेपछि कम्पनीले उनलाई कामबाटै निकालिदियो । ती क्लाइण्टहरूले पुरानो कम्पनी छाडेर क्युबनको माइक्रो सोलुशन्स नामक कम्पनीसँग काम शुरू गरे । सन् २००१ ताका अमेरिकी शेयरबजारमा डट कम बबल (प्रविधि कम्पनीको शेयरमूल्य ह्वात्तै बढेर एक्कासि घट्नु) देखापर्नुअघि वेब सर्भिस याहुले ५ अर्ब ९० करोड डलरमा क्युबनको ब्रोडकाष्ट डट कम कम्पनी किनेपछि उनी एक्कासि अर्बपतिको सूचीमा आएका हुन् । अहिले क्युबन अमेरिकी बास्केटबल टीम डल्लास माभेरिक्सका मालिक हुन् । उनी अमेरिकी च्यानल एबीसीमा आउने रियालिटी टिभी शो ‘शार्क ट्याङ्क’का स्टार पनि हुन् । फोब्र्सको रियल टाइम नेटवर्थअनुसार क्युबनसँग आइतवार फेबु्रअरी २५ मा ३ अर्ब ७० करोड डलर नेटवर्थ छ । क्युबन अचानक यो स्थानमा आएका होइनन् । यो स्थानमा आउन उनले निकै दुःख गरेका छन् । दुःखका दिनमा उनले कैयौं ससाना काम गरेका थिए । क्युबनले कहिले बेसबल कार्ड बेचे अनि कहिले पाउडर दूध, कहिले स्ट्याम्प त कहिले सिक्का । तर, जीवनमा उनले एउटा काम भने कहिल्यै गरेनन् । के हो त त्यो ? आफ्नो प्यासन (अनुराग)लाई पछ्याउने । जीवनमा हरेक मानिसले केही न केही लक्ष्य लिएका हुन्छन् । कसैले आनो प्यासनलाई नै लक्ष्य बनाएका हुन्छन् । अनि कसैले आफूले जे काम गरिरहेको छ त्यसलाई नै प्यासन बनाउँछन् । ‘प्यासनलाई पछ्याऊ भन्नु जीवनको सबैभन्दा ठूलो गल्ती हो ।’ एमेजन इन्साइट्स फर आन्त्रप्रेनर्स सिरिजमा क्युबनले भनेका थिए । हरेक मानिसले अरूलाई अर्ती दिँदा ‘आफ्नो प्यासन जेमा छ त्यही काम गर’ भन्छन् । क्युबनका अनुसार यस्तो अर्ती राम्रो होइन । आफूलाई जुन काम गर्दा बढी खुशी लाग्छ, त्यही कामलाई प्राथमिकता देऊ, त्यसैमा करियर बनाऊ भन्नु ठीक होइन । प्यासन भएको काम गर्दैमा सो काम सबैभन्दा राम्रो तवरले, कुशलताका साथ नै गरिन्छ भन्ने हुँदैन । यसलाई अझ प्रष्ट पार्न क्युबनले आफ्नै उदाहरण पनि दिएका छन् । ‘बास्केटबल खेलाडी बन्न म अति उत्सुक थिएँ, अचानक मैले महसूस गरें म त बास्केटबल मात्रै प्रतिघण्टा ७० माइलका दरले फाल्न सक्छु,’ क्युबन भन्छन्, ‘तर अन्य लिगका प्रतिस्पर्धीहरूले प्रतिघण्टा ९० माइलका दरले बास्केटबल फालेको देखें ।’ क्युबनको लगाव त प्रोफेशनल बास्केटबल खेलाडी नै बन्ने थियो । तर, बास्केटबल खेल्न उनी त्यति निपुण भने थिएनन् । बास्केटबलबाहेक उनका अन्य ‘प्यासन’ पनि थिए । प्यासन प्यासन भनेर प्यासनकै पछाडि हिँड्नुभन्दा जे कामलाई बढी समय दिइन्छ, त्यही काममा धेरै ध्यान देऊ भन्छन् उनी । ‘त्यही काममा समय देऊ, त्यही क्षेत्रमा दोब्बर लगानी गर’ भन्ने सुझाव क्युबनको छ । आफूले जे काममा बढी समय दियो त्यही काम राम्ररी गर्न सक्ने भएको अनुभव छ क्युबनको । ‘धेरै मानिस प्यासनको मात्रै कुरा गर्छन्, तर यो वास्तवमै ध्यान दिनुपर्ने कुरा भने होइन । मूल्याङ्कन, सोच विचार गरेर यही काममा म मेरो सारा समय लगाउँछु भन्ने निर्णय गर्नुपर्छ,’ क्युबनले भनेका छन् । कसैले कुनै काममा धेरै समय लगाउँछ, आफ्ना सारा प्रयास सोही काम सुधार्न खर्च गर्छ भने त्यो काममा ऊ निकै पोख्त हुन्छ । यस्तो गर्ने जो व्यक्ति पनि उसको काममा निपुण र पोख्त हुने धारणा क्युबनको छ । आफूले सबैभन्दा राम्रोसँग गर्ने काम गर्न पाउँदा जो पनि खुशी हुन्छ । यसैगरी, काम गर्दै जाँदा मानिसको शीप पनि खारिन्छ । क्युबन भन्छन्, ‘आफूले राम्रोसँग गर्न जानेको काम चट्ट कसैले पनि छोड्दैन, किनकि सिपालु भएर काम गर्न सक्नु एउटा खुबी हो, कुनै काममा सबैभन्दा उत्कृष्ट हुनु पनि रमाइलो हुन्छ ।’ तर, राम्रो बन्न सजिलो छैन । यसका लागि पर्याप्त प्रयास गर्नुपर्छ । त्यसैले प्यासनलाई नपछ्याऊ । ‘बरू आफूले जे काममा बढी समय दिइरहेको छ त्यही कामलाई आफ्नो करियर बनाऊ’ भनेर क्युबनले भनेका छन् । जीवनमा नियन्त्रण गर्न सक्ने एउटा मात्र चिज भनेको आफ्नो प्रयास नै हो । क्युबनको सफलताको गोप्य मन्त्र नै उनको प्रयास हो । हुन त प्यासनलाई पछ्याएरै जीवनमा सफल भएका उदाहरण पनि हामीले देखेका छौं । तर, प्यासनलाई पछ्याउँदै नपछ्याऊ भन्ने सल्लाह दिने क्युबन एक्ला अर्बपति भने होइनन् । म्याट्रेस कम्पनी कास्परका सहसंस्थापक जेफ च्यापिनले त प्यासनलाई ‘सनक’को संज्ञा दिएका छन् । ‘हामीलाई मन्त्रमुग्ध पार्ने अनेकौं कुरा छन् जसलाई लगावका साथ गर्नै पर्दैन,’ सीनएबीसीको मेक इन कार्यक्रममा च्यापिनले भनेका थिए । प्यासनलाई नै पछ्याऊ भन्ने कुरा झ्वाट्ट सुन्दा आफूलाई मन पर्ने कुरा मात्रै गर भन्ने जस्तो सुनिन्छ । ‘मलाई चङ्गा उडाउन मन पर्छ, त्यसो भए मैले चङ्गा व्यवसाय शुरू गर्ने त ?’ च्यापिनले उदाहरण दिएका छन् । च्यापिनका अनुसार प्यासनलाई रोजगारीमा परिणत गर्नु भनेको आफ्नै रुचिलाई ध्वस्त बनाउनु हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)