ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५५ प्रतिशत घटे शाखारहित बैङ्किङ ग्राहक

Feb 26, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । वित्तीय कारोबारको पहुँच धेरै स्थानमा पु¥याउन खोलिएका शाखारहित बैङ्किङ ग्राहकको सङ्ख्या घट्न थालेको छ । गत आर्थिक वर्ष (आव)को तुलनामा चालू आवमा यस्तो ग्राहकको सङ्ख्या ५५ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैङ्कको मङ्सिर मसान्तसम्मको तथ्याङ्कअनुसार गतवर्ष शाखारहित बैङ्किङ ग्राहक सङ्ख्या २ लाख १५ हजार ९४ भएकोमा हाल घटेर ९६ हजार २ सय ६२ जनामा सीमित भएको छ । ग्राहक सङ्ख्या घटेको देखिए पनि शाखारहित बैङ्किङ केन्द्रको सङ्ख्या भने विस्तार भएको छ । गतवर्षसम्म ८ सय ९२ ओटा त्यस्ता केन्द्र भए पनि गत मङ्सिर मसान्तसम्म १ हजार २८ ओटा पुगेको छ । यो गतवर्षको तुलनामा १५ प्रतिशत बढी हो । शाखारहित बैङ्किङका ग्राहक घट्नुको मुख्य कारण सर्वसाधारणले विशेष प्रयोजनका लागि यस्ता खाता खोल्ने र काम सकिएपछि बन्द गर्ने प्रवृत्ति बढ्नु भएको राष्ट्र बैङ्कको भनाइ छ । केन्द्रीय बैङ्कका अनुसार सरकारले पेन्सन वितरण गर्ने बेलामा प्रायः दुर्गम क्षेत्रमा शाखारहित बैङ्किङ ग्राहकको खाता खोल्ने र काम सकिएपछि बन्द गर्ने भएकाले यसको सङ्ख्यामा कमी आएको हो । राष्ट्रिय वाणिज्य बैङ्कका ९३ ओटा शाखारहित बैङ्किङ केन्द्र छन् । बैङ्कका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) भूपेन्द्र पाण्डेका अनुसार केन्द्रअन्तर्गत करीब १६ हजार ग्राहक रहेका छन् । पछिल्लो समय सबै स्थानीय तहमा बैङ्कको शाखा पुर्‍याउनुपर्ने भएकाले मुख्य केन्द्रमा खोलिएका करीब पाँचओटा शाखारहित बैङ्किङ केन्द्रलाई हटाएर शाखा कार्यालय नै स्थापना गरिएको उनले जानकारी दिए । ‘शाखारहित बैङ्किङ केन्द्रमा नेटवर्किङ, लाइनलगायतमा अवरोध हुने र त्यसबाट ससाना कारोबार मात्र हुने भएकाले ग्राहकको आकर्षण शाखा कार्यालयमा बढ्न थालेको देखिन्छ,’ उनले भने, ‘विशेष गरेर शाखा कार्यालय खुल्न थालेपछि शाखारहित बैङ्किङ केन्द्रका ग्राहक सङ्ख्यामा कमी आएको हो ।’ नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष तथा नेपाल बङ्गलादेश बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले मुलुक सङ्घीय संरचनामा गएसँगै ७ सय ५३ स्थानीय निकायमा वाणिज्य बैङ्कको शाखा खोल्नुपर्ने भएको र त्यस्ता शाखा खोलिएपछि शाखारहित बैङ्किङ केन्द्रमा ग्राहक घटेको तर्क गरे । ‘सरकारी भत्ता, पेन्सन लिने बेलामा र भूकम्पपीडितले रकम लिने बेलामा शाखारहित बैङ्किङ केन्द्रमा ग्राहक बढ्ने र त्यसपछि खाता बन्द गर्ने भएकाले घटेको हुन सक्छ,’ उनले भने । उनका अनुसार पछिल्लो समय बैङ्कका शाखा गाउँगाउँमा पुगेकाले पनि शाखारहित बैङ्किङ घटेको हो,’ उनले भने । सङ्घीय संरचनाअनुसार तय भएका ७ सय ५३ स्थानीय तहमध्ये हालसम्म ३ सय ५२ तहमा वाणिज्य बैङ्कको उपस्थिति रहेको छ । बाँकी २ सय ९२ तहमा शाखा खोल्ने प्रतिबद्धता वाणिज्य बैङ्कहरूले गरेका छन् भने १ सय ९ तहमा प्रतिबद्धता प्राप्त हुन बाँकी रहेको छ । पछिल्लो समय मर्जर तथा एक्वीजिशनको नीतिपश्चात् बैङ्कको सङ्ख्या घटेता पनि शाखा सञ्जाल भने उल्लेख्य रूपमा विस्तार भएको छ । २०७४ पुस मसान्तसम्ममा २८ वाणिज्य बैङ्क, ३६ विकास बैङ्क, २५ वित्त कम्पनी र ५८ लघुवित्त वित्तीय संस्था गरी कुल १ सय ४७ ओटा बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा छन् । यस्तै ती बैङ्क तथा वित्तीय संस्थाअन्तर्गत सञ्चालनमा रहेका शाखाको सङ्ख्या ५ हजार ५ सय ९२ पुगेको छ । त्यसमध्ये वाणिज्य बैङ्कको शाखा २ हजार ४ सय ६२ ओटा छन् । २०७३ असार मसान्तसम्म यसको सङ्ख्या १ हजार ८ सय ६९ ओटा थियो । यस्तै विकास बैङ्कको शाखा ८ सय ४६ ओटा, वित्त कम्पनीको १ सय ६३ ओटा र लघुवित्त वित्तीय संस्थाको २ हजार १ सय २१ ओटा शाखा पुगेको राष्ट्र बैङ्कको तथ्याङ्कमा उल्लेख छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)