ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जन्मदरको प्रवृत्ति हेरेर मन्दीको प्रक्षेपण गर्न सकिएला ?

Feb 28, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कुनै स्थानको जन्मदर र आर्थिक मन्दीबीच कस्तो सम्बन्ध हुन्छ ? जन्मदरको प्रवृत्ति हेरेर आर्थिक मन्दीको प्रक्षेपण गर्न सकिएला त ? यस्तो प्रश्न सुन्दा तपाईं हामीमध्ये धेरैलाई अचम्म लाग्न सक्छ । तर, जन्मदरको प्रवृत्ति हेरेरै आर्थिक मन्दीको प्रक्षेपण गर्न सकिने अमेरिकामा हालै भएको एक अनुसन्धानले देखाएको छ । यस्तो आँकलन अन्य परम्परागत सूचकभन्दा शुद्ध हुने बताइएको छ । ‘इज फर्टिलिटी अ लिडिङ इकोनोमिक इण्डिकेटर ?’ पुस्तकमा अनुसन्धाता संस्था ‘नेशनल ब्यूरो अफ इकोनोमिक रिसर्चका अनुसन्धाताहरूले यस्तो बताएका हुन् । आर्थिक मन्दी शुरू हुनुभन्दा कैयौं त्रैमासअघिदेखि नै गर्भधारण वृद्धि रोकिएको र जन्मदर पनि घटेको पाइयो । पुस्तकमा अमेरिकामा यसअघि भएका ३ पटकको आर्थिक मन्दीको विश्लेषण गरिएको छ । आर्थिक मन्दीको ठ्याक्कै प्रक्षेपण गर्न नसकेको भनेर यसअघि पटकपटक अर्थशास्त्रीहरूको आलोचना भइसकेको छ । आर्थिक वृद्धिदर कतातिर गइरहेको छ भनेर प्रक्षेपण नै गर्न नसक्ने पनि अर्थशास्त्री हुन्छन् भन्ने सम्मका प्रश्नहरू धेरैपटक उठे । यस्तोमा आर्थिक मन्दी मापन गर्न म्यानुफ्याक्चरिङ उत्पादन, खुद्रा खर्च र घरको मूल्यलगायत सूचकबाहेक अन्य उपायको खोजी गर्न थालियो । ‘हामीलाई के लागेको छ भने विगतका तीनओटा आर्थिक मन्दीका कारकहरूले गर्भधारणसम्बन्धी निर्णयमा गहन र तीव्र प्रभाव पारेका छन्,’ आफ्नो अध्ययनको सारांश बताउँदै प्रतिवेदनका लेखकहरूले भनेका छन् । यी तत्त्वहरूले अर्थतन्त्रको अन्य भागमा प्रभाव पार्नुअघि नै प्रजननसम्बन्धी निर्णयलाई प्रभावित पारिसकेको लेखकहरूको भनाइ छ । पुस्तकमा लेखकहरूले सन् १९८९ देखि सन् २०१६ सम्ममा अमेरिकाको जन्मदरको लेखाजोखा गरेका थिए । यस क्रममा जन्मेका १० करोडभन्दा बढी बालबालिकाको विश्लेषण गरिएको छ । यसमा गर्भपतन र गर्भपातको पनि हिसाब गरिएको छ । आर्थिक मन्दीको समयमा जन्मदर घटेको कुरालाई त यसअघि नै स्वीकार गरिएको थियो । तर, सबैले महसूस गर्ने गरी आर्थिक मन्दी देखा पर्नुभन्दा कैयौं महीनाभन्दा अघि नै गर्भधारण दर घटेको पाइएको पुस्तकका लेखकत्रय ड्यानियल हङ्गरम्यान, क्यासे बकल्स र स्टिभन लुगाउले बताएका छन् । ‘आर्थिक मन्दी र जन्मदरबीचको सहसम्बन्ध देखेर हामी निकै अचम्मित भयौं, योभन्दा पनि अचम्म त यस तथ्यलाई यसअघि कसैले ‘नोटिस’ नै नगरेको देखेर पो लाग्यो,’ हङ्गरम्यानले भनेका छन् । हङ्गरम्यान भन्छन्, ‘हरेक आर्थिक मन्दीको प्रकृति फरक थियो, मानिसहरूले घरमा खाना खाँदा गर्ने कुरा पनि फरक नै थियो होला, तर मलाई के लाग्छ भने बच्चाको चाहना राख्दा पनि उनीहरूले भविष्यकै कुरा गरे होलान् र यस्तो सोचेर समग्रमा उनीहरूले राम्रै गरेको जस्तै देखिन्छ ।’ सन् २००७ मा गरिएको एक जनमत सर्वेक्षणमा व्यवसायीहरूले आफू भविष्यप्रति निकै आशावादी भएको बताएका थिए । तर, त्यति बेला आर्थिक मन्दी शुरू हुन थालिसकेको थियो । त्यति बेला गर्भधारण दर घट्न थालिसकेको थियो र सन् २००८ को उत्तरार्द्धमा अमेरिकाको बहुराष्ट्रिय वित्तीय सेवा प्रदायक कम्पनी लेहम्यान ब्रदर्श र बियर स्टन्र्स टाट पल्टिनुभन्दा कैयौं त्रैमासअघिदेखि नै जन्मदर न्यून थियो । जन्मदर र आर्थिक मन्दीको स्तरबीच समेत सहसम्बन्ध रहेको बताइएको छ । सन् २००७ को मन्दीको बेलामा जन्मदर ४ प्रतिशत घटेको थियो । तर, सन् १९९० को शुरू र सन् २००० को शुरूमा भने यो दर २ प्रतिशतमात्र थियो । एजेन्सी
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)