स्मार्टफोन र ट्याब्लेट कम्प्युटर चलाउन अभ्यस्त भइसकेका तपार्इंका औंलाले अब चाँडै नै आराम पाउनेछन् । सम्भवतः केही महीनाको अन्तरालमै आँखाबाटै स्मार्टफोन र ट्याब्लेट चलाउन सकिने प्रणाली बजारमा आउनेछ । यसबाट प्रयोगकर्ताले फोन गर्ने, सन्देश पठाउने, सङ्गीत सुन्ने र अफिस एप्लिकेशन सञ्चालन गर्न सक्ने मात्र नभई भिडियो गेमसमेत खेल्न सक्नेछन् । आँखाबाटै ग्याजेट नियन्त्रण गर्ने यो प्रविधिको निर्माण गरेको छ, एक अमेरिकी कम्पनी गेज गू्रपले । यो कम्पनी झण्डै २० वर्षदेखि हात चलाउन नसक्ने अथवा पक्षघात भएकाले आँखाको माध्यमबाटै कम्प्युटर चलाउन सक्ने प्रणाली निर्माताका रुपमा प्रख्यात छ । तर, विगतमा यस्तो प्रविधि अत्यन्तै महँगो हुने गर्दथ्यो । अहिले भने स्मार्ट उपकरणले प्रविधि बजारलाई नयाँ रुपमा परिभाषित गरिरहँदा आँखाले नियन्त्रण गर्ने प्रणाली निकै सस्तो हुने कम्पनीका अधिकारीहरु बताउँछन् ।
‘केही समययता बिल्कुलै फरक प्रविधि विकासबारे हामीले निकै छलफल गरेका थियौं, छलफलको निष्कर्षमा आँखाबाट स्मार्टफोन र ट्याब्लेट सञ्चालन प्रणाली ल्याउने कम्पनी अहिलेको बजारमा जम्न सक्नेमा सबै एकमत भए,’ कम्पनीका सुने अल्सट्रप जोहान्सनले भने । यो प्रविधि निर्माणका लागि जोहान्सन र उनका केही सहकर्मीको सहभागितामा ‘द आई ट्राइव’ स्थापना गरिएको छ । विश्वका सबै प्रयोगकर्ताले आँखाबाटै आफ्ना ग्याजेट सञ्चालनको सुविधा पाऊन् भन्ने आफूहरुको उद्देश्य हो, जोहान्सन भन्छन् । जोहान्सनका अनुसार मोबाइल उपकरणबाट इन्फ्रारेड किरण प्रयोगकर्ताको अनुहारमा प्रक्षेपण गरिएपछि यो प्रणालीले काम गर्दछ । उक्त किरणले प्रयोगकर्ताका आँखामा ठोक्किएर स्रोततर्फ फर्किएपछि उपकरणमा रहेको सफ्टवेयर र प्रोशेसरले आँखाको चाललाई ‘क्यालिब्रेट’ गर्ने गर्दछ । त्यसपछि प्रयोगकर्ताले स्मार्टफोन र ट्याब्लेटलाई आफ्नो हेराइले नियन्त्रण गर्न सक्ने जोहान्सनले बताए । यसको प्रयोग विण्डोज ट्याब्लेटमा सफलतापूर्वक भइसकेको छ । जोहान्सनले यस प्रविधि निर्माण अब व्यावसायिक स्तरमै गरिने बताए ।