तराई मधेशमा फगुवा (होली) पर्व आपसी सद्भाव र रङको उत्सवको रूपमा मनाइन्छ । नेपालको पहाडी क्षेत्रभन्दा एक दिनपछि मनाइने यो पर्व यस क्षेत्रको मुख्य चाड हो । होलीलाई आफन्तबीच भेटघाट र उमङ्गको अवसरको रूपमा पनि लिइन्छ । पछिल्लो समयमा यो पर्व यो क्षेत्रमा बसोवास गर्ने विभिन्न समुदायबीच आपसी सद्भाव र सम्बन्ध अभिवृद्धिको माध्यम बन्न पुगेको छ ।
यस क्षेत्रका लोकसंस्कृतिका बारेमा जानकार एवम् पत्रकार चन्द्रकिशोर यस्ता सांस्कृतिक अवसरहरूले समुदायबीच सद्भाव अभिवृद्धि गर्ने बताउँछन् । पछिल्लो समयमा होली पर्व सामूहिकता प्रदर्शनको माध्यम बनेको बुझाइ उनको छ । ‘यो पर्वले यहाँका विभिन्न समूदायलाई आपसमा जोड्ने काम गरेको छ,’ उनी भन्छन्, ‘होलीको संस्कृति र परम्पराले समुदायबीचको आर्थिक र सामाजिक दूरी घटाउने कामसमेत गरेको छ । यो अन्यन्त सकारात्मक पाटो हो ।’
तराई क्षेत्रमै पनि स्थानअनुसार फगुवाको संस्कृतिमा विविधता रहेको जानकारहरू बताउँछन् । कामविशेषले टाढाटाढा रहेका परिवारका सदस्य यो बेला होली मनाउन घर फर्किने गर्छन् । यो पर्वमा परिवारका सबै सदस्य, आफन्त र साथीसङ्गी भेला भएर आपसमा रङ दलेर मीठो परिकार खाने चलन छ । मान्यजनको हातबाट अबिर ग्रहण गरी आशीर्वाद लिनु पनि फगुवाको विशेषता हो ।
तर, पछिल्लो समयमा होलीको सांस्कृतिक पक्ष अतिक्रमित हुन पुगेकोमा भने जानकारहरू चिन्तित देखिएका छन् । सञ्चारकर्मी रीतेश त्रिपाठी बढ्दो आधुनिकतासँगै यो चाडको सांस्कृतिक विशेषता ओझेलमा पर्न गएको बताउँछन् । ‘होलीअगावै गाउँघर र शहरका गल्लीहरूमा गुञ्जिने होलीका परम्परागत सङ्गीत ‘होरी’ अहिले सुन्न पाइँदैन,’ उनी भन्छन् ।
होलीका गीतका नाममा हिन्दी र भोजपुरी भाषामा रेकर्ड भएका अन्य गीतले प्रवेश पाएपछि परम्परागत गीत गाउने चलन लोप भएर गएको हो । तराईमा प्रचलित लोकबजाहरू ढोलक, डम्फा, झाल र मञ्जिरी बजाएर गाइने होलीका गीत अहिले ‘होली मिलन’का नाममा आयोजना हुने समारोहमा बजाइने यस्ता बनिबनाउ गीतको चर्को अतिक्रमणले लोप भएका छन् । विभिन्न प्रसारण र सञ्चारमाध्यममा होली गीत भनेर बजाइने अहिलेका गीतमा परम्पराको छनकसमेत नपाइने दाबी त्रिपाठीको छ ।
समयको गतिसँगै होली मनाउने तौरतरीका पनि फेरिएको छ । जानकार चन्द्रकिशोर पहिले कृषिमा आधारित पर्वहरूमा अहिले आधुनिकताले प्रवेश पाएको बताउँछन् । ‘पहिला श्रीपञ्चमीलगत्तै गाउँघरमा होली गाउने चलन थियो । गाउँघरमा होलीको धार्मिक मान्यतामा आधारित सांस्कृतिक गीतहरू सुनिन्थ्यो । त्यो अहिले छैन,’ उनी भन्छन् । अधिकांश पर्वहरू कृषिमा आधारित भए पनि खेतिपाती गर्ने मानिसको सङ्ख्यामा कमी आएपछि विस्तारै यस्ता लोकसांस्कृतिक परम्परा ओझेलमा पर्दै गएको छ । पहिले १ महीनाअगावै होलीको माहोल शुरू हुने गरेकोमा अहिले यसको रौनक २/४ दिनमा सीमित हुन पुगेको जानकारहरू बताउँछन् ।
पत्रकार चन्द्रकिशोर यो क्षेत्रमा मनाइने होली पर्वले विभिन्न समुदायबीच देखापरेका मनोवैज्ञानिक दूरीलाई मेट्दै आपसी सद्भाव र सम्मान अभिवृद्धिमा सघाउ पुर्याएकोमा भने खुशी व्यक्त गर्छन् । यो पर्वले समुदायको बीचमा बढाएको अपसी अन्तर्घुलन र उल्लासलाई प्रवद्र्धन गर्न सक्ने हो भने होली मनाउनुको सार्थकता हुने उनको भनाइ छ ।