दक्षिण अफ्रिकी राष्ट्र घानाको एक विद्यालयमा कम्प्युटरको पढाइ त हुन्छ, तर त्यसका लागि कम्प्युटर भने छैन । घानाको दक्षिणी क्षेत्रमा रहेको कुमासीस्थित एक विद्यालयमा शिक्षकले विद्यार्थीहरूलाई कम्प्युटर सिकाइरहेका त छन्, तर यसको अभ्यास गर्न त्यहाँ कम्प्युटर छैन । उनले कालोपाटीमा नै माइक्रोसफ्ट वर्डको चित्र बनाएर पढाइरहेका छन् । उनले यसरी कम्प्युटरको अभावमा कम्प्युटर प्रविधि पढाइरहेको समाचार अनलाइनमा आएपछि अहिले यो भाइरल भइरहेको छ । सूचना तथा सञ्चार प्रविधि (आईसीटी)का शिक्षक रिचार्ड अपियाह अकोटोले आफूले यसरी पढाइरहेको तस्वीर अनलाइनमा राखेका थिए जुन हजारौंपटक शेयर भएको छ । उनको यस्तो तस्वीर आएपछि अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले उनलाई नयाँ कम्प्युटर दिने वाचासमेत गरेको छ । ‘घानाको विद्यालयमा आईसीटी पढाउनु एकदमै नौलो र हास्यास्पद छ,’ आफ्नो तस्वीरसँगै उनले फेसबूक वालमा पोष्ट गरेका छन् । ‘म मेरा विद्यार्थीहरूलाई माया गर्छु, त्यसकारण मैले पढाएको कुरा उनीहरूले कसरी बुझ्छन् मैले त्यसै गर्नुपर्छ,’ फेसबूक म्यासेजमा उनले लेखेका छन् ।
सन् २०११ देखि अकोटोको विद्यालयमा कुनै पनि कम्प्युटर छैन । यद्यपि, त्यहाँ उच्च विद्यालयमा प्रगति हासिल गर्न युवाहरूले आईसीटीमा पास हुनैपर्छ । अकोटोले त्यसरी चित्र कोरेर भए पनि पढाइरहेको तस्वीर सामाजिक सञ्जालमा आएपछि धेरैले उनको यो कदमको तारीफसमेत गरेका छन् । एजेन्सी