जसै प्रम ओलीले नयाँ मन्त्रीहरु नियुक्त गरे, मानिसहरुको विकासे आशाको ग्राफ पनि ह्वात्तै माथि गयो । सामाजिक सञ्जालका भित्ता अर्थतन्त्रमा सुधार आउने रुमानी सपनाले भरिए । देशलाई समृद्धिको ६ लेनको बाटोमा कसरी ल्याउने भनेर सुझावै सुझावले भरिएका लेख पत्रपत्रिका र अनलाइनमा ह्वारह्वार आइरहेका छन् । ट्विटे र फेसबुके अर्थशास्त्रीहरुको सल्लाह त झन् कति कति ? विकास गर्ने एकसे एक प्रेस्कृप्सन पस्किरहेका छन् । राजनीतिक चेतनाले भरिपूर्ण नेपालीहरु प्रायः आफूलाई पूरा नभए पनि आधा वा पौने अर्थशास्त्रीभन्दा कम कसैले शायद ठान्दैनन् । त्यसमा पनि सबैभन्दा अग्ला डाक्टर अर्थमन्त्री (अम) बनेपछि आशाको पारो त चढ्ने नै भयो ।
नचढोस् पनि किन ? किनकि राष्ट्र बैङ्कमा एक डाक्टर छँदै थिए, अब अर्थ मन्त्रालयमा पनि अर्का डाक्टर आएका छन् । अझ योजना आयोगका डाक्टर पनि राजीनामा नदिई बसेका भए त तीन भाइ डाक्टर मिलेर अर्थतन्त्रलाई कहाँ पुर्याउँथे होलान् ? हुन त योजना आयोगको साटो अब बन्ने नीति आयोगमा कुनै डाक्टर नै आउन बेर पनि छैन । आखिर बेरोजगार वाम अर्थशास्त्री अझै देशमा थुप्रै बाँकी जो छन् । भलै नेतृत्वमा डाक्टर हुँदैमा मात्र पनि अर्थतन्त्र चाहिँ नसुध्रने रहेछ । यसअघि पनि उदाहरणका लागि, एक जना डाक्टर अर्थमन्त्री भएको बेला अर्का डाक्टर अर्थात् हालका अर्थमन्त्री नेराबैका गभर्नर थिए ।
अहिले हेर्दा अर्थतन्त्र उँभो लगाउने जिम्मा यिनै एक्ला डाक्टरको काँधमा मात्र आएको देखिन्छ । त्यै बुझेर हो कि हाकिम रिझाउनलाई मात्र हो, डाक्टर अर्थमन्त्रीको स्वागत समारोहमै राजस्व र अर्थसचिव दुवैले एकै स्वरमा ‘आमाको अगाडि मामाको बयान कसरी गरौं’ भन्दै तारिफको पुल बाँधिरहे । राबैका गभर्नर हुँदा उनले केही सकारात्मक काम गरेका कारणले उनीमाथि आशा र भरोसारूपी फूलहरु फ्याँकेका होलान् मानिसहरुले । स्वयम् प्रम ओलीले पनि त्यै आशाले यी डाक्टरलाई अम बनाएको हुनुपर्छ । तर, वाम गठबन्धनले घोषणापत्रमा भनिएका कतिपय पपुलिष्ट कार्यक्रम अम डाक्टरले पाल्लान् कि फाल्लान् ? किनकि पपुलिष्ट कार्यक्रम पाले अर्थतन्त्र झन् भँड्खालोमा पर्छ । नपाले आफूलाई नियुक्त गर्नेहरु रिसाउन सक्छन् । यसको व्यवस्थापन कसरी गर्लान् डाक्टर साहेबले ?
वाम गठबन्धनले घोषणापत्रमा भनिएका कतिपय पपुलिष्ट कार्यक्रम अम डाक्टरले पाल्लान् कि फाल्लान् ? किनकि पपुलिष्ट कार्यक्रम पाले अर्थतन्त्र झन् भँड्खालोमा पर्छ । नपाले आफूलाई नियुक्त गर्नेहरु रिसाउन सक्छन् ।
त्यस्तै, बजेट घाटा, व्यापार घाटा बढ्दो, रेमिट्यान्स घट्दो, कर्मचारीको खर्च बढ्दो, विकास बजेट घट्दो छ । उता भएको बजेट खर्च हुन नसकेको स्थिति छ भने यता गरेको खर्च पनि जथाभावी छ र बजेटमै नपरेका कामका लागि पैसाको माग बढ्दो छ । यी र यस्ताखाले सबै ट्युमरहरुलाई चिरफार गरेर अर्थतन्त्रलाई स्वच्छ पारेर जनताका विकासका आकाङ्क्षा पूरा गर्न सक्लान् त यी अम डाक्टरसाबले ? मूल प्रश्न यहीँ छ ।
हुन त अर्थतन्त्रलाई सफा र चिटिक्क पार्न डाक्टरसा’ब एक्ला भने छैनन् । प्रमले थप डाक्टर नपाए पनि रङ रङका अरु मन्त्री नियुक्त गरिसकेका छन् । त्यसमध्ये एक छन् वातावरण मन्त्री । पदमा आउन नपाई भकाभक निर्णयहरु सुनाउँदै छन् । अब नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनी बन्दै गर्दिने रे ! पहिले पनि यी मन्त्री हुँदा कर्मचारीलाई विदेशी पीआर लिनमा रोक लगाएर पपुलर बनेका थिए । अब अहिले प्लाष्टिकका पछि लागेका छन् । यिनी पा र पी अर्थात् पापीका पछाडि एकोहोरो लागिरहन्छन् जस्तो छ है । तर, अब कुहिने मात्र उत्पादन गर्न पाउने भनेपछि समस्या पर्लाजस्तो छ । हिजो कर्मचारी मात्र डराका थे । अब व्यवसायीहरु पनि यिनीसँग डराउनुपर्ने भयो । किनकि अब कुहिने प्लाष्टिक बनाउने चीज खोज्दै व्यवसायीहरु कहाँकहाँ मात्र हिँड्नु ?
यता वातावरणमन्त्रीको जागरुकता देखेपछि नवनियुक्त क्रान्तिकारी उद्योगमन्त्री त पक्कै झन् एग्रेसिभ बन्ने नै होलान् । उनी एग्रेसिभ बनून् कि नबनून्, मन्त्रालयका कर्मचारी अब मन्त्रालय मातहतका सबै ठाउँका ट्वाइलेट सफा राख्न एग्रेसिभ्ली लाग्न थालिसके भन्ने सुइँको पाइएको छ । नत्र फेरि ट्वाइलेटमा थुनिन प¥यो भने गाह्रो पो पर्छ त !
यता गृहमा बादल छाएको छ । अनि रक्षाले ईश्वर पाएको छ । यिनले देशको अनि बोर्डरको पनि रक्षा गर्न सक्लान् कि नसक्लान् ? सबै मन्त्रीहरुले आर्थिक अनुशासन पालना गर्न र गराउन सक्लान् कि नसक्लान् ? यो लगायत मन्त्रीहरुको सोच, कार्य योजना र काम गर्ने शैलीलगायतका कुराले पनि सरकारको सफलता र असफलता साथै देशको समृद्धि छिटो हुने वा नहुने भन्ने निर्भर गर्छ । अर्थात् विकास अब यिनै मन्त्रीहरुकै भरोसामा अडेको छ । प्रमले त सपनाको चुच्चो थुतुने रेल कुदाइदिने मात्र न हो ।
बाँकी कुराहरु त त्यस्तैत्यस्तै हुन् । फूल, माला, अबिर, खादा र सुझाव दिने, आशीर्वादचाहिँ लिने । अनि जागीर, टेण्डर र लाइसेन्स माग्नेहरुको भीडले मन्त्रीहरुलाई काम गर्ने फुर्सद दिए भने न काम गर्ने हो । दिएनन् भने कसरी गर्ने ?