ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रकम जुटाउन नसक्दा हकप्रदमा कम आवेदन

Mar 4, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको पूँजी वृद्धिका लागि नीतिगत व्यवस्था गरेकोले गत वर्षदेखि नै बजारमा हकप्रद शेयर जारी गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको छ । पूँजी वृद्धिका लागि अधिकांश कम्पनीले हकप्रदलाई नै आधार बनाएका छन् । पछिल्लो समय एकैपटक कम्पनीहरूले हकप्रद जारी गरेकोले लगानीकर्ताले हकप्रदका लागि रकम जुटाउन नसकेको देखिन्छ । कम्पनीहरूले हकप्रद विक्रीका लागि तय गरेको निर्धारित अवधिमा आवश्यकताअनुसार आवेदन नपर्दा अवधि थप गरेर विक्री गरिरहेका छन् । हकप्रद जारी गर्दा सम्पूर्र्ण शेयर विक्री नभई बाँकी रहन गएमा लीलाम बढाबढमा समेत विक्री गर्न सक्छन् । यो व्यवस्था हुँदाहुँदै म्याद थप गरेरै विक्री गर्नुपर्ने बाध्यता कम्पनीको छ । यसले लगानीकर्तामा रकमको अभाव भएको प्रष्ट हुन्छ । साधारण शेयरकै मूल्यमा खरीद गर्न पाउने हकप्रदमा लगानी गर्न पछि हट्ने अवस्था त पक्कै छैन, पछिल्लो समय निरन्तर घट्दो शेयरबजार र तरलता अभावका कारण बैङ्क तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगर्दा बढी संस्थापक सदस्यले रकम जुटाउन समस्या देखिएको नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालको भनाइ छ । ‘कतिपय लगानीकर्ताले शेयर विक्री गरी हकप्रदका लागि रकम जुटाउने गरेको अवस्थामा हाल शेयरको बजार मूल्य कम हुँदा विक्री गर्न नसकेको अवस्था छ,’ उनले भने । राजनीतिक अस्थिरता हटेर शेयरबजारमा सुधार आउने आशामा लगानीकर्ता केही समय पछि हटेको हुन सक्ने अनुमानसमेत उनले गरे । हालसम्म ग्रीन डेभलपमेण्ट बैङ्क, प्रभु बैङ्क, कर्णाली डेभलपमेण्ट बैङ्क र लुम्बिनी विकास बैङ्कले हकप्रदमा आवेदन दिने म्याद थप गरेका छन् । ग्रीनले माघ २, प्रभुले माघ ७, कर्णालीले र लुम्बिनी विकास बैङ्कले माघ ११ देखि हकप्रद जारी गरेका हुन् । म्याद थप गरी ग्रीन, लुम्बिनी र प्रभुले फागुन २३ गतेसम्म र कर्णालीले चैत १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेका छन् । यसअघि प्रभुले फागुन १३, ग्रीनले फागुन ८, लुम्बिनी र कर्णाली डेभलपमेण्टले फागुन १६ गतेको मिति तोकेको थिए । ग्रीन डेभलपमेण्टले लगानीकर्ताका लागि ४ सय प्रतिशतका दरले ४० लाख कित्ता हकप्रद जारी गरेको हो । यस हकप्रदमा तोकिएको अवधिमा ५० प्रतिशत मात्र आवेदन पर्न आएकोले म्याद थप गरिएको विक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जानकारी दिएको छ । यस्तै, २ सय २५ प्रतिशतका दरले ३३ लाख ९७ हजार ५ सय कित्ता हकप्रद जारी गरेको कर्णाली डेभलपमेण्टको हकप्रदमा समेत कम आवेदन परेकोले अवधि थप गरेको विक्री प्रबन्धक प्रभु क्यापिटलको भनाइ छ । प्रभु नै विक्री प्रबन्धक रहेको लुम्बिनीको हकप्रदका लागि पनि म्याद थप गरिएको छ । लुम्बिनीले १० प्रतिशतका दरले २० लाख ८ हजार ८ सय ७८ दशमलव ४७ कित्ता हकप्रद जारी गरेको हो । राष्ट्र बैङ्कले तोकेबमोजिमको चुक्तापूँजी पुर्‍याउनकै लागि ४० प्रतिशत हकप्रद जारी गरेको प्रभु बैङ्कको हकप्रदको पनि म्याद थप गरिएको छ । प्रभुले २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता हकप्रद जारी गरेको हो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले लगानीकर्ताको मागबमोजिम म्याद थपिएको बताए । लगानीकर्ता लगातार घटिरहेको शेयरबजारको अवस्था हेरेर पछि हटेको हुनसक्ने उनको अनुमान छ । अर्को कारण अहिले बैङ्क तथा वित्तीय संस्थाले तरलता अभावका कारण सजिलै ऋण उपलब्ध नगराएकोले पनि यो अवस्था सृजना भएको हुन सक्ने उनी बताउँछन् । यी कम्पनीसँगै श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स, कामना सेवा विकास बैङ्क, नेको इन्स्योरेन्स, सिद्वार्थ बैङ्क, एशियन लाइफ इन्स्योरेन्स र फष्र्ट माइक्रोफाइनान्स हकप्रद निष्कासनको क्रममा छन् भने सूर्योदय लघुवित्त र प्राइम लाइफ इन्स्योरेन्सले निष्कासनको मिति तोकिसकेका छन् । लगातार घटिरहेको शेयरबजार, बैङ्क तथा वित्तीय संस्थामा देखिएको तरलता सङ्कट, राजनीतिक अस्थिरतालगायत कारण हकप्रद विक्री घटेको हुनसक्ने अनुमान सम्बन्धित व्यक्तिहरूले गरिरहेको अवस्थामा हाल निष्कासित र निष्कासनको क्रममा रहेका हकप्रद पूर्ण रूपमा विक्री हुने सम्भावना कम छ । प्राथमिक बजारमा तीव्ररूपमा शेयर निष्कासन हुनु र बजारमा बढी मात्रामा हकप्रद निष्कासनका कारण धेरै कम्पनीमा लगानी गरेका लगानीकर्तालाई रकमको अभाव भएको हुनसक्ने अनुमान पनि गर्न सकिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)