आजभोलि कतिपय मानिसको दिनचर्या मोबाइलमा लगाइएको अलार्मले निद्रा खुलेपछि शुरू हुन्छ । बालक, युवा, प्रौढ वा वृद्ध सबैलाई आ–आफ्ना आवश्यकताअनुसारका फिचरबाट स्मार्टफोनले सुविधा दिइरहेका छन् । कसैले फोन उठाउन मात्र प्रयोग गर्ने मोबाइल कसैका लागि भने व्यवसाय सञ्चालनदेखि जीवनका सारा आवश्यकता पूरा गर्ने साधन हो ।
ब्यूँझेदेखि ननिदाएसम्म मोबाइलमा जोडिइरहने गरी मानिसको जीवनशैली परिवर्तन भएको छ । अहिले सबै क्षेत्रले आफ्ना सूचना मोबाइलद्वारा प्रवाह गर्ने गरेका छन् । एउटै मोबाइलले समाचार माध्यम (रेडियो, टेलिभिजन, अनलाइन), फोटो एल्बम, म्युजिक प्लेयर (अडियो÷भिडियो), टेलिफोन डायरी, क्यामेरा (स्टिल÷भिडियो), क्यालेण्डर, क्यालकुलेटर, अलार्म, टर्च जस्ता धेरै प्रकारका सुविधा दिन्छ । यसबाहेक टेलिकमको सन्देश सेवा तथा फेसबूक, भाइबर, ह्वाट्सएप जस्ता अनलाइन एप्लिकेशनका माध्यमबाट मानिसले मोबाइलबाटै सन्देश आदान–प्रदान साथै सूचना प्राप्त गर्न पाएका छन् ।
कम्प्युटर तथा ल्यापटपको उपयोगले शिक्षा, रोजगारी, व्यवसाय जस्ता विषयमा सहज सुविधा पुगेको छ । टाइपराइटर युगलाई विस्थापित गरेको यो प्रविधिले व्यक्ति तथा कार्यालयको कार्यकुशलता वृद्धि गरेको छ । तथ्याङ्क प्रशोधन तथा भण्डारणका लागि समेत उपयोगी यो साधन आजको युगको अपरिहार्य वस्तु बनेको छ ।
मोबाइल कम्प्युटरका साथै सूचना प्रविधिका अन्य धेरै साधन तथा माध्यमको विकासले मानिसको जीवनशैलीअन्तर्गत शिक्षा, कृषि, व्यापार, बैङ्किङ जस्ता हरेक क्षेत्रमा ठूलो परिवर्तन ल्याएको छ ।
शिक्षा
धुलेपाटी, खरीपाटी, कालोपाटी, किताब÷कापी हुँदै विकास भएको हाम्रो शिक्षा क्षेत्र कम्प्युटर, ट्याब तथा डिजिटल बोर्डमा पुगेको छ । दुर्गम भेगका विद्यालयमा समेत क्रमिक रूपमा कम्प्युटर शिक्षाको विस्तार भइरहेको छ । राजनीतिक दलका घोषणापत्रदेखि स–साना गैरसरकारी संस्थासमेत विद्यार्थीलाई ल्यापटप दिने योजनामा छन् । कतिपय संस्थाले त योजनालाई कार्यान्वयनमै ल्याइसकेका पनि छन् ।
विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना प्रविधि विभागले आर्थिक वर्ष (आव) २०७२/७३ देखि ई–स्कूल नामको मोबाइल एप विकास गरी हरेक विद्यालयका गतिविधि आधुनिक सूचना प्रविधिद्वारा व्यवस्थित गर्ने प्रयास थालेको छ । उक्त प्रणालीबाट अनलाइन कम्युनिकेशन, प्रगति विवरण पठाउने, डिजिटल कण्टेण्ट डाउनलोड गर्ने, विद्यालयमा कार्यरत शिक्षक र विद्यार्थीको रेकर्ड राख्ने, भर्ना गर्ने, परीक्षा लिने, नतीजा प्रकाशन जस्ता दैनिक काम गर्न सकिन्छ । विभागले क्यान महासङ्घ, जिल्ला शाखाहरूसँगको समन्वयमा विभिन्न जिल्लाका १५ जना कम्प्युटर शिक्षक एवम् कम्प्युटर प्राविधिकलाई प्रशिक्षक प्रशिक्षण दिएको थियो । तालीम लिएका प्रत्येकसँग आफ्नो जिल्लाका पाँच/पाँचओटा विद्यालयमा सिष्टम लागू गर्नेगरी सम्झौतासमेत गरिएको छ । यसलाई चालू आवमा पनि थप विस्तार गर्दै लैजाने नीति विभागको छ ।
देशले खुला विश्वविद्यालय विधेयक १ वर्षअघि नै पारित गरेको छ । यसले अब संसारका जुनसुकै देशमा रहेर पनि अनलाइनको माध्यमबाट अध्ययन गरी शैक्षिक प्रमाणपत्र पाउने ढोका खोलेको छ । अर्कोतर्फ विद्यालयहरूले मोबाइलबाट विद्यार्थी र अभिभावकलाई सूचना प्रवाह गर्ने, नोट उपलब्ध गराउने जस्ता काम गरेका छन् । पुस्तकालय डट ओआरजी, राष्ट्रिय पुस्तकालय तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको अनलाइन संस्करण जस्ता विभिन्न ई–लाइब्रेरीले घरै बसीबसी चाहेको पुस्तक पढ्ने अवसर दिएका छन् ।
कृषि
दूरदराजमा खेती किसानी गर्ने कृषकको हातमा रहेको मोबाइल यतिबेला उनीहरूको सबैभन्दा ठूलो शक्ति बनेको छ । मोबाइलमै जलवायूको अवस्था, मल–बीउ, रोगव्याधिको जानकारीदेखि बजार भाउसम्म उपलब्ध छन् । स्मार्ट कृषि, कृषि गुरु, किसान गुरू, कृषि घरलगायत एपका माध्यमले किसानले घरै बसीबसी जानकारी प्राप्त गर्छन् ।
त्यस्तै, डब्ल्यूडब्ल्यूडब्ल्यू डट एनएएमआइएस डट जीओभी डट एनपीमा एकीकृत बालीपात्रो, हाम्रो कृषि मोबाइल एप, प्रश्न–उत्तरलगायत विभिन्न प्रकाशन पढ्न पनि सकिन्छ । सरकारले एसएमएस सेवा, साप्ताहिक कृषि–मौसम सल्लाह बुलेटिन, हाम्रो कृषि मोबाइल एप र किसान कलसेण्टर स्थापना गरी किसानलाई प्रविधिमैत्री सेवाप्रदानमा सहजीकरण पनि गरिरहेको छ । अहिले विभिन्न गैरसरकारी संस्थाले मोबाइल फोनको प्रयोग गरी किसानलाई मौसमी सूचना, वर्षाको अग्रिम जानकारी, बजार भाउ र रोगकीराबाट बच्ने उपाय सिकाउँदै आएका छन् । त्यसैगरी कृषि विभागअन्तर्गत बालीसंरक्षण निर्देशनालयले ई–प्लाण्ट क्लिनिक पनि सञ्चालन गर्दै आएको छ ।
न्यूजएग्रो डट कमले राष्ट्रिय–अन्तरराष्ट्रिय प्रविधि र समाचार समेटनुका साथै प्रत्येक शनिवार कृषि पाठशालामार्फत कृषि तथा पशुपक्षीपालनसम्बन्धी सिकाइ र शीप प्रस्तुत गर्छ । आरएनडी इन्नोभेटिभ डटकम डटएनपी, कृषक खबर डटकम, नेपाली किसान डटकम, कृषि पोष्ट डटकम, भेट टाइम्स डटकम, कृषि अभियान डटकमलगायत वेबसाइट पनि यस प्रकारका सूचना प्रवाहमा सक्रिय छन् ।
बैङ्किङ
अनलाइन बैङ्किङ, मोबाइल बैङ्किङ, शाखारहित बैङ्किङ, विद्युतीय चेक भुक्तानी (क्लीयरिङ) जस्ता सेवाको विस्तारमा आईसीटीको निकै ठूलो भूमिका छ । यसले गर्दा घण्टौं लाइन लागेर पैसा राख्ने, निकाल्ने, आदान–प्रदान गर्ने जस्ता झन्झट समाधान गरिदिएको छ । तथ्याङ्क क्षतिको सधैं खतरा रहने यस प्रणालीमा अलग–अलग क्षेत्र र अझ अलग देशमै पनि ब्याकअप राख्ने सिष्टमको विकासले जोखीम सम्भाव्यता घटाएको छ । त्यसैगरी लगानीका लागि तत्पर नागरिकलाई सहज हुनेगरी हालै अनलाइनबाटै शेयर भर्ने सी–आस्बा प्रणाली पनि लागू भएको छ ।
नेपाली मुद्रामा भुक्तानी हुनेगरी जारी गरिएका क्रेडिट कार्ड, डेबिट कार्ड, प्रिपेड र एटीएम कार्डले पैसा बोकेर हिँड्दा हुने अप्ठ्यारो र जोखीमको अन्त्य गरेको छ । एटीएम जस्ता उपकरणबाट वस्तु तथा सेवाको (मोबाइल रिचार्ज, टेलिभिजन÷इण्टरनेट) बिल भुक्तानीको सुविधा पनि बैङ्कहरूले प्रवाह गरिरहेका छन् । सबै सेवा तथा वस्तु खरीद गर्दा विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने पोइण्ट अफ सेल्स (पीओएस) प्रणाली पनि कार्यान्वयनमा छ ।
व्यापार
अनलाइनका माध्यमबाट व्यापारका लागि मुञ्चा डटकम धेरै पुरानो वेबसाइट हो । शोरूम तथा स्टोरविना नै अनलाइनका माध्यमबाट ग्राहकको माग अनुसारका सामान बेच्न सकिने भएकोले अनलाइन शपको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । यस्ता शप सम्बन्धित होलसेलबाट सामान लिई राम्रो मार्जिन राखेर घर–घरमै डेलिभरी पनि गर्छन् । बढ्दो व्यस्त जीवनशैलीका कारण किनमेल गर्न समय छुट्याउन गाह्रो परिरहेका ग्रहकलाई अनलाइन शप निकै सहयोगी पनि भएका छन् ।
पछिल्लो समय दराज डटकम, सस्तो डील डटकम, हाम्रो बजार डटकम, नेप्बे डटकम, जस्ता साइटहरू राम्रो व्यापार गरिरहेका छन् । नेपाल भित्र र बाहिर व्यापार गरिरहेका यस्ता शपहरूले ग्राहकबाट अनलाइनबाटै भुक्तानी लिने व्यवस्था मेत गरेका छन् । विदेशबाट सामान आयातको ट्र्याकिङका लागि भनेर वाणिज्य मन्त्रालयले सिष्टम तयार गरिरहेको छ । त्यसपछि नेपालका लागि आयात भइरहेका सामान कुन समयमा कहाँ आइपुगे भन्ने सम्पूर्ण तथ्याङ्क रहनेछ ।