ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शर्मासँग ४५ लाख धरौटी माग

Mar 4, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई

फागुन २०, काठमाडौं । पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको आरोप लागेका राजस्व अनुसन्धान विभागका पूर्वप्रमुख चुडामणि शर्मासँग विशेष अदालतले ४५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

विशेष अदालतका सदस्यहरु द्वारिकामान जोशी र चण्डीराज ढकालको इजलासले गैरकानूनी सम्पत्ति मुद्दामा ४५ लाख रुपैयाँ धरौटी माग गरेको हो । विशेष अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले मागिए बमोजिमको धरौटी राख्नको लागि शर्माले प्रयास गरिरहेको आर्थिक अभियानलाई जानकारी दिए ।

सम्बद्ध स्रोतले दिएको जानकारी अनुसार शर्माले नेपाल इन्भेष्टमेन्ट बैङ्कको ४५ लाख रुपैयाँ ग्यारेन्टी दिएको पत्र ल्याउने प्रयास गरिरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माविरुद्ध ४ करोड १९ लाख ५४ हजार १ सय २४ रुपैयाँ अवैध रुपमा कमाएको आरोप लगाई केही साता अघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर गर्दा अख्तियारले शर्मालाई फरार भनी उल्लेख गरेको थियो । शर्मा आइतवार नै उपस्थित भएपछि बयान लिइएको थियो । बयान सकिएपछि उनलाई धरौटी माग्ने वा थुनामा पठाउने भन्ने सम्बन्धमा बहस भएको थियो ।

इजलासले बहस सकिएपछि शर्मासँग ४५ लाख रुपैयाँ वा सो बराबरको जेथा धरौटी लिई तारेखमा छाड्न र धरौटी राख्न नसके थुनामा पठाउन आदेश दिएको छ । विशेष अदालतका प्रवक्ता पोखरेलले भने, ‘शर्माले धरौटी राख्नको लागि चाँजोपाँजो मिलाउँदै छन् ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)