कुनै व्यक्तिको अनुहार हेरेर ऊ धनी छ कि मध्यम वर्गीय हो वा गरीब भनेर तपार्इं खुट्याउन सक्नुहुन्छ ? अनुहार हेरेरै मानिसको आर्थिक हैसियत थाहा पाउन सकिने जर्नल अफ पर्शनालिटी एण्ड सोसियल साइकोलोजीको पछिल्लो संस्करणमा छापिएको एक अध्ययन प्रतिवेदनले देखाएको हो । ‘समृद्धि र सामाजिक स्तरबीच सम्बन्ध रहने यसअघिका खोज अनुसन्धानले देखाइसकेका छन्,’ युनिभर्सिटी अफ टोरोण्टोका स्नातक स्तरमा अध्ययनरत विद्यार्थी र यस प्रतिवेदनका सहलेखिका आर थोरो जर्नडोटिरले भनेकी छन् ।
सामान्य रूपमा भन्नुपर्दा धनी मानिसहरू ससाना आवश्यकता पूरा गर्ने दौडमा रहेका गरीब मानिसको तुलनामा बढी खुशी, तनावमुक्त जीवन जिउन चाहन्छन् । त्यो समृद्धिको भिन्नता वास्तवमा मानिसको अनुहारमा देख्न सकिने जर्नडोटिरको भनाइ छ । जर्नडोटिर र उनका सहलेखक साइकोलोजीका प्राध्यापक निकोलस ओ रुलले ८० जना गोरा पुरुष र ८० जना गोरा महीलाको तस्वीर हेरेर यसबारे मूल्याङ्कन गरेका थिए । ती कुनै पनि तस्वीरमा टाटु र पियर्सिङ थिएन । ती तस्वीरमध्ये आधा वार्षिक डेढ लाख डलर कमाउने माथिल्लो वर्गका मानिसको थियो भने बाँकी आधा काम गर्ने वर्ग अर्थात् वार्षिक ३५ हजार डलर कमाउने मानिसको थियो । ती तस्वीरमा रहेका मानिस कुन आर्थिक हैसियतका हुन् भन्नेबारे ६८ प्रतिशतले सही अनुमान लगाएका थिए । तर, मानिसहरूले के आधारमा अनुहार हेरेर आर्थिक हैसियतबारे अनुमान लगाए भन्ने चाहिँ यकीन हुन सकेन । यसबारे प्रश्न गर्दा उनीहरूले आफूलाई थाहा नभएको बताएका थिए ।
ती अनुहारमा प्रष्ट रूपमा केही नदेखिए पनि नजीकबाट नियाल्दा भने केही फरक देखिएको पाइएको थियो । उनीहरूको आँखा र मुखलाई हेरेर हैसियत अनुमान गर्न सकिएको अध्ययनमा पाइएको छ । केही समयसम्म तस्वीरलाई हेर्ने हो भने अनुहारमा मानिसको जीवनको अनुभव देख्न सकिने र यसैले उनीहरू धनी हुन् वा गरीब हुन् पत्ता लगाउन सकिने अनुसन्धानकर्ताको निष्कर्ष छ । यसबारे थप स्पष्ट हुन अनुसन्धानकर्ताले ती तस्वीरमा रहेकामध्ये को एकाउण्टेण्ट हुन लायक छ भन्ने प्रश्न गर्दा सर्वेक्षणमा सहभागीले माथिल्लो वर्गका मानिसलाई रोजे । मानिसहरू गरीबीको चक्रबारे कुरा गर्छन् र सम्भवतः त्यसमा अनुहार पहिचानले पनि योगदान दिएको हुन सक्ने अनुुसन्धानकर्ताको भनाइ छ । एजेन्सी