अन्तरवार्ता लिने मानिसको आँखामा हेरेर बोल्नुहोस् । यसले तपाईंको आत्मविश्वासलाई दर्शाउँछ । आफ्नो तर्कअनुसार हात चलाउनुहोस्, विनाकाम यताउति हल्लाउने नगर्नुहोस् ।
कुनै कम्पनीमा जागीरका लागि अन्तरवार्ता दिन जाँदा त्यसका लागि राम्रो तयारी गर्नुपर्ने हुन्छ । शैक्षिक योग्यताले मात्र तपाईंले कामको जिम्मेवारी सम्हाल्न सक्नुहुन्छ भन्नेबारेमा कम्पनीले विश्वास गर्दैन । तपाईंले अन्तरवार्ताबाट नै कम्पनीमा राम्रो प्रभाव छोड्न सक्नुहुन्छ । त्यसैले अन्तरवार्ता दिन जाँदा ध्यान दिनुपर्ने केही बु“दाहरू तल उल्लेख गरिएका छन् ।
१) अन्तरवार्ताकारलाई पहिलो भेटमा नै राम्रो प्रभाव पार्न सक्नुपर्छ । शुरूमा उसलाई हँसिलो अनुहार पारेर अभिवादन गर्नुहोस् र हात मिलाउनुहोस् । मानव संसाधन प्रबन्धक लिज एण्डर्शनका अनुसार अन्तरवार्ता दिनुभनेको तपाईंले आफ्नो कार्यक्षमतालाई भन्दा पहिला आफूलाई विक्री गर्नु हो । अन्तरवार्ताको पहिलो ३० सेकेण्डले नै तपाईं कम्पनीको टीमसँग काम गर्न सक्नुहुन्छ वा हुन्न भन्ने कुरा प्रदर्शित गर्ने विज्ञहरू बताउँछन् । त्यसैले अन्तरवार्ताकारका अगाडि तपाईं सहज देखिनुपर्छ ।
२) तपाईंले कम्पनीमा बुझाउनु भएको वायोडाटालाई पुनः अध्ययन गर्नुहोस । साथै कम्पनीले खुलाएको पदको विज्ञापनमा भएका कुराहरूको पनि राम्रो जानकारी राख्नुहोस् । कम्पनीको वेबसाइट भिजिट गरी त्यसको पृष्ठभूमिको बारेमा थप जानकारी बटुल्नुहोस् ।
३) अन्तरवार्ता लिने मानिसले सोधेको प्रश्नको नहड्बडाइ उत्तर दिनुहोस् । एण्डर्शनका अनुसार तपाईंलाई तत्काल उत्तर दिन गार्हो छ भने बरु एकछिन् सोच्नु राम्रो हुन्छ । तर, तत्काल गलत उत्तर दिएरपछि आफैलाई अप्ठ्यारोमा पार्नुहुँदैन ।
४) आफू त्यो कम्पनी र पदका लागि किन योग्य छु भन्नेबारेमा तपाईंले अन्तरवार्तामा प्रमाणित गर्नुपर्ने हुन्छ । आफ्नो शैक्षिक योग्यता, कार्यानुभव, क्षमता र कुशलतालाई प्रमाणित गर्नका लागि सकेसम्म तीन बलिया आधार बनाएरमात्र अन्तरवार्ताका लागि तयार हुनु राम्रो मानिन्छ ।
५) तपाईंले हालै कुनै कार्यालयमा काम गरिरहनु भएको छ भने अन्तरवार्ताकारले पुरानो कार्यालय छोड्न खोज्नुको कारण सोध्छन् । त्यसबेला तपाईंले पुराना कार्यालयको हाकिम तथा सहकर्मी नराम्रा भएको वा उनीहरूको नराम्रो पक्षको बारेमा बोल्नुहुँदैन । त्यस्तो व्यवहारले उनीहरूलाई तपाईंको बारेमा नकारात्मक धारणा बनाउन सहयोग गर्छ ।
६) आफ्नो शारीरिक हाउभाउलाई नियन्त्रण गर्नुहोस् । हात बाँधेर नबस्नुहोस् । तलमात्र हेरिरहने वा माथितिर फर्केर बस्ने जस्ता बानी छन् भने त्यसमा सुधार गर्नु जरुरी छ । अन्तरवार्ता लिने मानिसको आँखामा हेरेर बोल्नुहोस् । यसले तपाईंको आत्मविश्वासलाई दर्शाउँछ । आफ्नो तर्कअनुसार हात चलाउनुहोस, विनाकाम यताउति हल्लाउने नगर्नुहोस् ।
७) तपाईंको धैर्य जाँच्नका लागि अन्तरवार्ता लिने व्यक्तिले केही अनौठा प्रश्न पनि गर्न सक्छन् । एउटा अनुसन्धानका अनुसार ९० प्रतिशत अन्तरवार्तामा यस्ता प्रश्न सोधिन्छन् । तर, त्यस्ता प्रश्न सुनेर तपार्इं आत्तिनुपर्दैन । बरु एक छिन् सोच्नुहोस र उत्तर आएन भने पनि तर्कपूर्ण तरीकाले त्यसको जवाफ दिनुहोस् ।
८) तपाईं अन्तरवार्ता दिन जाँदा अन्तरवार्ताकारसँग सामान्य घनिष्ठता बढाउनुहोस् । यसका लागि तपाईंले आफ्नो मात्र होइन उसको पनि केही परिचय लिन सक्नुहुन्छ । तर, यो कार्य केही सहजताका लागि मात्र गर्नु राम्रो हो । अन्तरवार्ता लिने मानिसको बारेमा धेरै कुरा सोध्नुचाहिँ उत्ति राम्रो मानिँदैन ।
९) अन्तरवार्ताका क्रममा सोधिएका प्राविधिक प्रश्नहरू नबुझेमा स्पष्ट पार्न अनुरोध गर्नुहोस् । प्रश्न नबुझेमा नसोध्ने वा टाउको हल्लाउने तथा आँखा झुकाउने जस्ता क्रियाकलाप गर्नुहुँदैन ।
१०) अन्तरवार्ता दिँदा त्यस कम्पनी वा कार्यालयलाई तपार्इंको मात्र खाँचो छ भन्ने सोच्नुहुँदैन । त्यो काम वा पद आफ्नो लागि पनि उत्तिकै महत्व राखेको छ भन्ने कुराको छनक तपाईंले अन्तरवार्ताका क्रममा देखाउन सक्नुपर्छ । यसका साथै अन्तरवार्तापछि पनि अन्तरवार्ता लिने मानिस वा कम्पनीलाई धन्यवादसहितको ई–मेल पठाउन सक्नुहुन्छ ।
स्रोत : करियरबिल्डर डटको डटयूके
प्रस्तुति : उत्तरा घिमिरे