ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हल्दिया बन्दरगाह : रोकियो मल र कोइला

Mar 6, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल
वीरगञ्ज । भारतीय रेलवेले हल्दिया बन्दरगाहमा आवश्यकताअनुसार र्‍याक उपलब्ध नगराउँदा नेपाली आयातकर्ताको हजारौं मेट्रिकटन मालसामान रोकिएको छ । कोलकाता बन्दरगाहको बेथितिबाट आजित आयातकर्तालाई हल्दिया बन्दरगाह सहज विकल्प बन्न सक्ने सम्भावना भए पनि रेलसेवाको अनिश्चितताका कारण आयातमा समस्या देखिएको हो । पश्चिम बङ्गालको हल्दिया पोर्ट व्यवस्थापनले कण्टेनर कार्गोतर्फ आयातकर्ता आकर्षित गर्न खोजे पनि बल्क कार्गोको व्यवस्थापन प्रभावकारी बनाउन नसकेको आयातकर्ताले बताएका छन् । यो बन्दरगाहबाट मलखाद, कोइला, जिप्सम, क्रुड आयललगायतका कार्गो बढी आउँछन् । कोलकाता पोर्ट ट्रष्टकै छातामुनि रहेको यो बन्दरगाहको सञ्चालन निजीक्षेत्रको हल्दिया इण्टरनेशनल कण्टेनर टर्मिनलले गर्दै आएको छ । कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले हल्दियामा कम्तीमा १५ हजार मेट्रिकटन मलखाद रोकिएको बताए । उनका अनुसार रेलवेले समयमा रेल उपलब्ध नगराउँदा यो परिमाणको मलखाद बन्दरगाहमै अड्किएको हो । ‘रेलवेले आवश्यकताअनुसार सेवा उपलब्ध नगराउँदा नेपाली आयातकर्ताले मगाएको मल र कोइलागायत वस्तु अड्किएका छन्,’ उनले आर्थिक अभियानसित भने । हल्दिया बन्दरगाहबाट कृषि सामग्री कम्पनी र साल्ट टेडिङले युरिया र डीएपी मल भित्र्याउँछन् । रेलसेवाको विलम्बले बेलैमा मलखाद ल्याउन नसक्दा खेतीको समयमा अभाव सृजना हुने गरेको छ । ती कम्पनीले चीन र ओमानबाट मलखाद खरीद गरेका थिए । आयातकर्ता माधव राजपालले हल्दियामा अहिले ४० र्‍याक कोइला अड्किएको बताए । ‘एउटा र्‍याकले कम्तीमा ३ हजार ७ सय मेट्रिकटन कोइला बोक्छ । यसआधारमा हल्दियामा कोइलामात्र करीब १ लाख ५० हजार मेट्रिकटन अलपत्र परेको छ,’ उनले भने । यो बन्दरगाहबाट कोइलाका केही कारोबारी र क्लिङ्कर उत्पादनमा आधारित स्वदेशी सिमेण्ट उद्योगले कोइला ल्याउँछन् । कोइला क्लिङ्करको कच्चा पदार्थ हो । महावाणिज्यदूत अर्यालले स्वदेशी आयातकर्ताका लागि यो बन्दरगाहमा महीनामा ३० ओटा र्‍याक आवश्यक रहेकोमा रेलवेले १५ ओटाभन्दा बढी दिन नसकेको बताए । मागको आधामात्र आपूर्ति भएपछि आयातित मालसामान थुप्रिएको उनले बताए । हल्दियामा रेल नपाएपछि केही आयातकर्ताले विगतमा कोलकाता बन्दरगाहबाट मालसामान मगाएका थिए । भारतीय रेलवेसँग मागको तुलनामा र्‍याकको सङ्ख्या न्यून रहेकाले आपूर्तिमा समस्या भएको बताइएको छ । सरकारी र निजीक्षेत्रका गरी करीब १ सयजति मालवाहक र्‍याक रहेको रेलवे स्रोतले बतायो । नेपालका लागि आएको मलखाद र कोइला १ महीनभन्दा लामो समयदेखि हल्दियामा अड्किएको छ । भूपरिवेष्टित मुलुकले ढुवानीमा पहिलो प्राथमिकता पाउनुपर्नेमा व्यवहारमा त्यसो हुन नसक्दा नेपाली आयातमा बढी जरीवाना तिर्नु परेको दाबी महावाणिज्य दूतावासका अधिकारीको छ । रेलवेले रक्सोलमा जाम भएकाले रेल दिन नसकेको बताउने गरेको ती अधिकारीको भनाइ छ । आयातकर्ता राजपाल केही दिनदेखि रक्सोलमा जाम नरहेको बताउँछन् । ‘पहिला क्लिङ्कर अनलोड हुँदा यहाँ जामको समस्या थियो । तर, अहिले रेलवे यार्ड करीब खालीजस्तै छ । तर पनि र्‍याक पाइएको छैन,’ वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सचिवसमेत रहेका राजपालले भने । रेलवेले गत डिसेम्बर अन्तिम सातायता रक्सोलमा क्लिङ्कर लोडअनलोड बन्द गरेको छ । हल्दिया बन्दरगाह व्यवस्थापनले भने सुधारको प्रयास भइरहेको बताएको छ । पोर्ट टर्मिनलका वरिष्ठ महाप्रबन्धक तपन सेनगुप्ताले रेलवेसँग समन्वय भइरहेको बताए । उनले पछिल्लो समय रेलवे ढुवानीमा सुधार आएको दाबी पनि गरे । कण्टेनर कार्गोतर्फ बन्दरगाहको आधा क्षमतामात्र उपयोग भइरहे पनि आयातकर्ताले उपयोग गर्न चासो नदेखाएको गुनासो उनले गरे । कोलकातामा कार्यरत आयातकर्ताका प्रतिनिधि (कस्टम हाउस एजेण्ट)को बहानबाजी र आयातकर्ता तुलनात्मक सहज सेवाका बारेमा अद्यावधिक नहुँदा लाभ लिन नसकेको दाबी टर्मिनलले गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)