ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दुर्घटना रोक्न सवारीसाधनमा जीपीएस ट्र्याकर जडान गरिँदै

Mar 6, 2018  
यातायात
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल
वीरेन्द्रनगर । कर्णाली प्रदेशका सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि यस क्षेत्रमा सञ्चालित सवारीसाधनमा ग्लोबल पोजिशनिङ सिष्टम (जीपीएस) ट्र्याकर जडान गरिने भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले आन्तरिक मामिला तथा कानून मन्त्रालयको निर्देशनमा सवारीसाधनमा यो प्रविधि जडान गर्न लागेको हो । जीपीएस ट्र्याकर जडानपछि कुन सवारीसाधनको लोकेशन तथा अवस्थाबारे जानकारी लिन र दुर्घटना भए/नभएको रेकर्ड राख्न सहज हुने अपेक्षा प्रहरीको छ । कर्णाली प्रदेशका सबै ठाउँमा मोबाइल सेवा नभएकोले जीपीएस ट्र्याकरले सबै सडकमा काम भने गर्नेछैन । यसका लागि कालीकोटको कालिकाडाँडामा नेपाल टेलिकमको रिपिटर टावर राख्नुपर्ने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (एआईजी) रणबहादुर चन्दले बताए । उक्त ठाउँमा रिपिटर टावर राखेमा कर्णाली प्रदेशका सबै सडकमा जीपीएस ट्र्याकरका माध्यमबाट सम्पर्क हुन सक्ने उनको भनाइ छ । सवारी दुर्घटना न्यूनीकरणका लागि कर्णाली राजमार्ग, छिञ्चु–दैलेख सडक खण्ड र रुकुम–सल्यान राजमार्गमा प्रहरी गस्ती सञ्चालन गरिने एआईजी चन्दले जानकारी दिए । प्रहरीका अनुसार मुख्य सडकका संवेदनशील स्थानमा सुरक्षा सङ्केतका साथै धेरै दुर्घटना हुने ठाउँ, पेट्रोल पम्पको दूरी, मर्मत गर्ने ठाउँको दूरी, प्रहरी एकाइ आदिको जानकारी दिने बोर्ड राखिनेछ । यसैगरी, सवारी चालक र सडक प्रयोगकर्ताका लागि चेतनामूलक ‘सडक सुरक्षा कार्यक्रम’ पनि सञ्चालन गरिने भएको छ । रूट परमिट नभएका सडकमा दुर्घटना बढेका कारण ती सडकमा रूट परमिटविना सवारीसाधन सञ्चालन गर्न नदिने चन्दले बताए । कर्णाली प्रदेशमा चल्ने सवारीसाधन, सवारी चालक अनुमतिपत्रको जाँचलगायत काम अब प्रविधिको माध्यमबाट गरिने उनको भनाइ छ । यात्रुको सुविधालाई दृष्टिगत गर्दै प्रहरीले कर्णाली राजमार्ग (जुम्ला–कालीकोट–सुर्खेत) सडक खण्डमा चल्ने सवारीसाधनलाई लगाएको टाइम कार्डको व्यवस्था परिवर्तन गरेको छ । उक्त राजमार्गमा चालकले मादक पदार्थ सेवन नगरेका साना सवारीसाधनलाई आवतजावत गर्न दिने व्यवस्था मिलाइएको छ । कुन–कुन रूटमा हुँदैन फोन सम्पर्क ? कालीकोटको सदरमुकाम मान्मबाट नाग्माघाटबीचमा फोन सम्पर्क हुँदैन । यो बीचमा कुनै सवारी दुर्घटना भएमा त्यसबारे तत्काल थाहा पाउन समस्या हुने गरेको प्रदेश प्रहरी कार्यालयले बताएको छ । यसको समाधानको उपायस्वरूप कालीकोटको साविक कालिका गाविसमा टेलिकमको रिपिटर टावर राख्न कार्यालयले मन्त्रालयसँग समन्वय गरेको छ । कालिकामा टावर राखेमा प्रदेशका सवै सडकमा भइरहेका गतिविधि नियाल्न सहज हुने प्रहरीले बताएको छ । सडक दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षाको व्यवस्था मिलाउने र रूट परिमिटविना ग्रामीण सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी प्रदेश प्रहरीले गरेको छ । ११% मानिसको मृत्यु दुर्घटनाबाट कर्णाली प्रदेशमा ११ प्रतिशत मानिसको मृत्यु सडक दुर्घटनाबाट हुने गरेको छ । मुख्य राजमार्ग, सहायक मार्ग र रूट परमिट नभएका ग्रामीण सडकमा हुने दुर्घटनाबाट ११ प्रतिशत मानिसको मृत्यु हुने गरेको पाइएको छ । पछिल्ला ३ वर्षमा मात्रै सवारी ज्यानअन्तर्गत १ सय ४३ मुद्दा दर्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका एआईजी चन्दले जानकारी दिए । उनका अनुसार सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति र रूट परिमिटविना सवारी सञ्चालन गर्नु हो । कर्णाली प्रदेशका १० ओटै जिल्लामा सवारीसाधन सञ्चालनमा छन् । राष्ट्रिय राजमार्ग नजोडिएका हुम्ला र डोल्पामा पनि हेलिकोप्टरबाट सवारीसाधन पुर्‍याएर छोटो दूरीमा सञ्चालन गरिँदै आएको छ । ‘
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)