ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाली बजारमा ईभीप्रति बढ्दो आकर्षण, यस्ता छन् नेपालमा उपलब्ध १० इलेक्ट्रिक गाडी

चालु आवको १० महीनामा ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको २ हजार ९५५ ओटा चारपांग्रे विद्युतीय सवारीसाधन आयात

२०८० जेठ, २९  
समाचार यातायात
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चालू आवको साउनदेखि वैशाख मसान्तसम्म ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको २ हजार ९५५ ओटा चारपांग्रे विद्युतीय सवारीसाधन आयात भएको छ । गत आवको सोही अवधिमा ४ अर्ब ५२ करोड रुपैयाँको १ हजार ५५१ विद्युतीय चारपांग्रे गाडी आयात भएको थियो ।

काठमाडौं  । नेपालमा पछिल्लो समय विद्युतीय सवारीसाधनको आकर्षण बढ्दो छ । आर्थिक वर्ष (आव) २०७८/७९ को १० महीनाको तुलनामा २०७९/८० को सोही अवधिमा विद्युतीय सवारीसाधनको आयात झन्डै दोब्बर पुगेको छ । भन्सार विभागका अनुसार नेपालमा चालू आवको साउनदेखि वैशाख मसान्तसम्म ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको २ हजार ९५५ ओटा चारपांग्रे विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आवको १० महीनामा नेपालले ४ अर्ब ५२ करोड रुपैयाँको १ हजार ५५१ विद्युतीय चारपांग्रे गाडी आयात गरेको थियो ।

नेपाली बजारमा अहिले दर्जनभन्दा बढी ब्रान्डका विद्युतीय सवारीसाधन पाइन्छ । यसले ग्राहकलाई सवारीसाधन किन्ने बेला अन्योलमा पनि पारेको पाइन्छ । विद्युतीय सवारीसाधन किन्दा विशेषगरी मूल्य, माइलेज, ब्याट्री क्षमता, वारेन्टीलगायत पक्षको अध्ययन आवश्यक हुन्छ ।

नेपाली बजारमा चर्चित १० विद्युतीय सवारीसाधन र तिनका विशेषता 

अल न्यू ई–६ 


अल न्यू ई–६ को नेपालको आधिकारिक विक्रेता साइमेक्स इंक हो । यसको ब्याट्रीको क्षमता ७१ दशमलव ७ किलोवाट आवर र अधिकतम स्पीड क्षमता १३० किलोमीटर प्रतिघण्टा रहेको कम्पनीको भनाइ छ । टर्क क्षमता १८० एनएम रहेको अल न्यू ई–६ एकपटकको फुल चार्जमा ५२२ किलोमीटर कुद्छ । 
यसको ब्याट्रीमा ८ वर्षको वारेन्टी छ । मोटरको पावर ७० किलोवाटको छ । कम्पनीका अनुसार ३० मिनेटमा कारलाई ८० प्रतिशत चार्ज गर्न सकिन्छ । गाडीको ग्राउन्ड क्लियरेन्स १७५ एमएम छ । 
नेपाली बजारमा अल न्यू ई–६ विभिन्न ४ रङमा उपलब्ध छ । कम्पनीका अनुसार यसको मूल्य ५९ लाख रुपैयाँ पर्छ ।

आयोनिक–५


नेपालमा आयोनिक–५ को आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो । यसमा ५८ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ । कम्पनीका अनुसार फुल चार्जमा आयोनिक ५ अधिकतम ३७५ किलोमीटरसम्म चल्न सक्छ । गाडीको अधिकतम टर्क ३५० एनएम छ । 
आयोनिक ५ को अधिकतम स्पीड १८५ किलोमीटर प्रतिघण्टा हो । ब्याट्रीमा ८ वर्षको वारेन्टी छ । यसको ग्राउन्ड क्लियरेन्स १५० एमएम छ । यसले शून्यदेखि १०० किलोमीटर प्रतिघण्टाको स्पीड समात्न ५ दशमलव २ सेकेन्ड लिन्छ ।
नेपाली बजारमा आयोनिक–५ विभिन्न ९ रङमा उपलब्ध छ । कम्पनीका अनुसार यसको मूल्य १ करोड ३ लाख रुपैयाँ तोकिएको छ । आयोनिक ५ ले वल्र्ड कार अफ द इयर, वल्र्ड इलेक्ट्रिक भेइकल अफ द इयर, वल्र्ड कार डिजाइन अफ द इयरजस्ता उपाधि पनि पाएको छ ।

एटो थ्री 


एटो थ्रीको नेपालको आधिकारिक विक्रेता साइमेक्स इंक हो । सन् २०२२ मा साइमेक्सले नेपाली बजारमा एटो थ्री सार्वजनिक गरेको थियो । यसमा ६० दशमलव ४८ किलोवाट आवरको ब्याट्री छ । कम्पनीका अनुसार फुल चार्जमा एटो थ्री अधिकतम ४२० किलोमीटरसम्म चल्न सक्छ । गाडीको टर्क क्षमता ३१० एनएम छ । 
कम्पनीले एटो थ्रीको ब्याट्रीमा ८ वर्षको वारेन्टी दिएको छ । गाडीको मोटरको पावर १०० किलोवाट छ । कम्पनीका अनुसार ८० किलोवाटको चार्जरबाट कारलाई फुल चार्ज गर्न ४५ मिनेट लाग्छ । शून्यदेखि १०० किलोमीटरको गति लिन ९ दशमलव ७ सेकेन्ड लाग्ने यो गाडीको ग्राउन्ड क्लियरेन्स १७५ एमएम छ ।
नेपाली बजारमा एटो थ्री विभिन्न चार रङमा उपलब्ध छ । कम्पनीका अनुसार यसको मूल्य ६५ लाख रुपैयाँ पर्छ ।

एमजी जेडएस ईभी


एमजी जेडएस ईभीको आधिकारिक विक्रेता प्यारामाउन्ट मोटर्स प्रालि हो । यसमा ५१ किलोवाट आवरको ब्याट्री छ । कम्पनीका अनुसार एमजी जेडएस ईभीले एकपटकको फुल चार्जमा ३२० किलोमीटरभन्दा बढी माइलेज दिन्छ । यसको अधिकतम टर्क २८० एनएम छ । 
कम्पनीले ब्याट्रीमा ८ वर्षको वारेन्टी दिएको छ । कम्पनीका अनुसार फास्ट चार्जरबाट कारलाई ८० प्रतिशत चार्ज गर्न ३० मिनेट लाग्छ । यस्तै गाडीले शून्यदेखि १०० किलोमीटर प्रतिघण्टाको स्पीड समात्न ८ दशमलव ५ सेकेन्ड लिन्छ ।
नेपाली बजारमा एमजी जेडएस ईभी विभिन्न ५ रङमा उपलब्ध छ । कम्पनीका अनुसार गाडीको शुरुआती मूल्य ४८ लाख ४९ हजार रुपैयाँ छ । नेपालमा एमजी जेडएस ईभी डिलक्स, कम्फर्ट र लङ रेन्ज गरी तीन ओटा डिजाइनमा उपलब्ध छ ।

किया निरो


किया निरोको नेपालको आधिकारिक विक्रेता कन्टिनेन्टल ग्रूप हो । यसमा ६४ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ । कम्पनीका अनुसार फुल चार्जमा किया निरो अधिकतम ४६० किलोमीटरसम्म कुद्न सक्छ । यसले अधिकतम ३९५ एनएमसम्म टर्क उत्पादन गर्छ । 
किया निरोको अधिकतम गति १६७ किलोमीटर प्रतिघण्टा छ । कम्पनीका अनुसार रेगुलर चार्जरबाट यसलाई फुल चार्ज गर्न ९ देखि १० घण्टा लाग्छ । यसले शून्यदेखि १०० किलोमीटर प्रतिघण्टाको स्पीड समात्न ७ दशमलव ८ सेकेन्ड लिन्छ ।
नेपाली बजारमा किया निरो विभिन्न ६ रङमा उपलब्ध छ । कम्पनीले निरोको मूल्य ७० लाख रुपैयाँ तोकेको छ ।

कोना इलेक्ट्रोनिक 


नेपालमा कोना इलेक्ट्रोनिकको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो । नेपालमा अहिले एउटा मात्र १०० किलोवाट क्षमताको कोना इलेक्ट्रोनिक उपलब्ध छ । कम्पनीका अनुसार गाडीले फुल चार्जमा ३९५ किलोमीटरसम्म माइलेज दिन्छ । 
कोना इलेक्ट्रोनिकमा लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । ब्याट्रीको क्षमता ३९ दशमलव २ किलोवाट आवर हो । ब्याट्रीलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ । ब्याट्रीमा ८ वर्षको वारेन्टी छ । 
कोनाको अधिकतम स्पीड १५५ किलोमीटर प्रतिघण्टा हो । शून्यदेखि १५५ किलोमीटर प्रतिघन्टाको स्पीडमा पुग्न यसलाई ९ दशमलव ९ सेकेन्ड लाग्छ । नेपाली बजारमा कोना सात रङमा उपलब्ध छ ।
कम्पनीका अनुसार नेपाली बजारमा कोना एनएसको मूल्य ६१ लाख, कोना जीएलको ६२ लाख र कोना जीएलएसको ६४ लाख ५६ हजार रुपैयाँ पर्छ । 

टाटा टिगोर ईभी एक्सई


टाटाकै टिगोर ईभीको नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालि हो । यसमा २६ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ । कम्पनीका अनुसार फुल चार्जमा यो गाडी ३०६ किलोमीटर कुद्न सक्छ । गाडीको अधिकतम टर्क १७० एनएम छ । 
कम्पनीले गाडीको ब्याट्री र मोटरमा ८ वर्षको वारेन्टी दिएको छ । कम्पनीका अनुसार २५ किलोवाटको फास्ट डिसी चार्जरबाट कारलाई ६५ मिनेटमा फुल चार्ज गर्न सकिन्छ । यो गाडीलाई शून्यदेखि ६० किलोमीटर प्रतिघण्टाको स्पीड लिन ५ दशमलव ७ सेकेन्ड लाग्छ । ग्राउन्ड क्लियरेन्स १७२ एमएम छ ।
नेपाली बजारमा टिगोर ईभी दुईथरी रङमा उपलब्ध छ । कम्पनीका अनुसार टिगोर ईभी एक्सईलाई ३० लाख रुपैयाँ, टिगोर ईभी एक्सएमलाई ३१ लाख ४९ हजार रुपैयाँ, टिगोर ईभी एक्सजेड प्लसलाई ३३ लाख रुपैयाँ र टिगोर ईभी एक्सजेड प्लस डिटीलाई ३३ लाख ४९ हजार रुपैयाँ पर्ने बताइएको छ ।

टाटा नेक्सन ईभी


टाटा नेक्सन ईभीको नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालि हो । यसमा ३० दशमलव २ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ । यसमा १०० किलोवाटको मोटर छ । कम्पनीका अनुसार फुल चार्जमा यो अधिकतम ३१२ किलोमीटरसम्म चल्न सक्छ । 
कम्पनीले ब्याट्रीमा ८ वर्षको वारेन्टी दिएको छ । यो गाडीलाई १ घण्टामा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसको ग्राउन्ड क्लियरेन्स २०५ एमएम छ । 
नेपालमा नेक्सन ईभी ३ रङमा उपलब्ध छ । कम्पनीका अनुसार नेक्सन एक्सएमको मूल्य ३९ लाख रुपैयाँ, नेक्सन एक्सजेड प्लसको ४१ लाख रुपैयाँ र नेक्सन एक्जेट प्लस लक्सको मूल्य ४३ लाख रुपैयाँ पर्छ । 

निसान लिफ


निसान लिफको नेपालको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रालि हो । जापानबाट आयात हुने यो पहिलो विद्युतीय सवारीसाधन हो । पायोनियर मोटो कर्पले नेपालमा सन् २०२२ देखि निसान लिफ विक्री गरिरहेको छ । यसमा ४० किलोवाट आवरको लिथियम आयन ब्याट्री छ । ७ घण्टामा फुल चार्ज हुन्छ । यसको अधिकतम टर्क ३२० एनएम छ । निसान लिफलाई घरमै ३ दशमलव ४ किलोवाटको एसी चार्जर र ५० किलोवाटको डिसी चार्जरले चार्ज गर्न सकिन्छ । 
निसान लिफको अधिकतम गति १५५ किलोमीटर प्रतिघण्टा छ । ब्याट्रीमा ८ वर्षको वारेन्टी छ । ग्राउन्ड क्लियरेन्स १५० एमएम रहेको गाडीले शून्यदेखि १०० किलोमीटरको स्पीड समात्न ७ दशमलव ९ सेकेन्ड लिन्छ ।
निसान लिफ विभिन्न ११ रङमा उपलब्ध छ । कम्पनीका अनुसार गाडीको मूल्य ६५ लाख रुपैयाँ रहेको छ ।

नेटा भी


नेपालका लागि नेटा भीको आधिकारिक विक्रेता चौधरी ग्रूपअन्तर्गतको सीजी मोटर्स रहेको छ । सन् २०२२ देखि सीजीले नेपालमा नेटा भी आधिकारिक रूपमा विक्री गरिरहेको छ । यसमा ३८ दशमलव ५ किलोवाट आवरको ब्याट्री छ । सीजीका अनुसार नेटा भीले एकपटकको फुल चार्जमा ३८० किलोमीटरभन्दा बढी माइलेज दिन्छ ।
यसको अधिकतम गति १०१ किलोमीटर प्रतिघण्टा रहेको छ । कम्पनीले गाडीको ब्याट्री र मोटरमा ८ वर्षको वारेन्टी दिएको छ । कम्पनीका अनुसार रेगुलर चार्जरबाट कारलाई फुल चार्ज गर्न ६ देखि ८ घण्टा लाग्छ । यसले ३ दशमलव ९ सेकेन्डमा शून्य देखि ५० किलोमीटरको गति लिन सक्छ । नेटा भीका प्रत्येक क्रेतालाई १ वर्षको बीमाको सुविधा नि:शुल्क दिएको सीजी मोटर्सको भनाइ छ । नेपाली बजारमा नेटा भी विभिन्न ५ रङमा उपलब्ध छ । कम्पनीका अनुसार यसको मूल्य ३८ लाख रुपैयाँ तोकिएको छ । सीजी मोटर्सले नेटा यू प्रो र नेटा एस पनि ल्याउने तयारी गरेको छ । 

१० महीनामा ८ अर्बको विद्युतीय गाडी आयात
नेपालमा विद्युतीय सवारीसाधनको माग बढेसँगै चालू आर्थिक वर्ष (आव) को १० महीनामा ८ अर्ब रुपैयाँभन्दा बढीको गाडी आयात भएको छ । भन्सार विभागका अनुसार नेपालले चालू आवको साउनदेखि वैशाख मसान्तसम्ममा ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको विद्युतीय चारपांग्रे गाडी आयात गरेको छ ।
गत आवको १० महीनाको तुलनामा चालू वर्षको सोही अवधिमा विद्युतीय चारपांग्रे आयात रकम ८६ प्रतिशत र परिमाण ९० प्रतिशतले बढेको हो । गत आवको १० महीनामा नेपालले ४ अर्ब ५२ करोड रुपैयाँको १ हजार ५५१ विद्युतीय चारपांग्रे गाडी आयात गरेको थियो ।
नेपालमा १० महीनामा २ हजार ९५५ ओटा चारपांग्रे गाडी भित्रिएको हो । सबैभन्दा धेरै १०० किलोवाटसम्मका चारपांग्रे आयात भएको देखिन्छ । उक्त अवधिमा १०० किलोवाटसम्मका गाडी ८ अर्ब ९ करोड रुपैयाँको २ हजार ८८२ ओटा आयात भएको छ । 
त्यसैगरी १०० किलोवाटभन्दा बढी २०० किलोवाटभन्दा कमको २७ करोड ५८ लाख रुपैयाँको ६६ ओटा चारपांग्रे आयात भएको छ । त्यस्तै २०० देखि ३०० किलोवाटसम्मको ४ करोड ६ लाख रुपैयाँको सातओटा चारपांग्रे आयात भएको छ । नेपालमा चीन, फ्रान्स, भारत, कोरिया, संयुक्त राज्य अमेरिका, जापानलगायत देशबाट विद्युतीय चारपांग्रे गाडी आयात हुने गरेको छ । 

नेपालमा विद्युतीय गाडीको बजार राम्रो : थापा
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापा नेपालमा अहिले अन्य सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको बजार राम्रो भएको बताउँछन् । थापाका अनुसार विद्युतीय सवारीसाधनमा साउथ एशियन मुलुकमध्ये सबैभन्दा राम्रो बजार नेपालको छ । 

नेपालमा अहिले ग्राहकमाझ १०० किलोवाट क्षमताको विद्युतीय सवारीसाधन लोकप्रिय रहेको थापाले बताए । ‘विद्युतीय सवारीसाधनको क्षेत्रमा अहिले मुख्य दुई चुनौती रहेको पाइन्छ । दक्ष जनशक्ति र चार्जिङ स्टेशन,’ थापा भन्छन्, ‘अहिले हामी निजीक्षेत्रले दक्ष जनशक्ति तयार गरिसकेको अवस्था छ । तर, चार्जिङ स्टेशनका लागि निजीक्षेत्रले मात्र गर्न सम्भव छैन ।

त्यसैले चार्जिङ स्टेशन निर्माण गर्न निजीक्षेत्रलाई सरकारले सहयोग गर्नुपर्छ ।’  मुलुकभर नै पर्याप्त चार्जिङ स्टेशन नहुँदा विद्युतीय सवारी साधन दुर्गम क्षेत्रमा पुग्न नसकेको थापाले बताए । 

नीतिगत अस्थिरताका कारण विद्युत् सवारीसाधन आयात गर्ने व्यावसायी मर्कामा पर्दै आएको थापाले बताए । विद्युतीय सवारीसाधनको करको दर पटकपटक फेरबदल हुँदा व्यवसायी मात्र नभएर ग्राहक पनि मर्कामा पर्ने गरेको थापा बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)