ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धमाधम ईभी चार्जिङ स्टेशन सञ्चालन : अनुमति दिन्छ, तथ्यांक राख्दैन प्राधिकरण

२०८० जेठ, २८  
समाचार यातायात प्रविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रकाश जोशी

काठमाडौं  । नेपालमा पछिल्लो समय आम ग्राहकमा विद्युतीय सवारीसाधन (ईभी) प्रतिको आकर्षण बढ्दै गएको छ । ग्राहकहरू ईभीप्रति आकर्षित भएको देखिएपछि व्यवसायीले विभिन्न अन्तरराष्ट्रिय ब्रान्डका विद्युतीय सवारीसाधन भित्र्याइरहेका छ । केही समय अगाडिसम्म ईभी खरीदकर्तालाई चार्जिङ स्टेशन टाउको दुखाइको विषय थियो । अहिले त्यो समस्या क्रमश: समाधान हुँदै गएको छ । 

नेपाल विद्युत् प्राधिकरण र विभिन्न मोटर कम्पनीहरूले धमाधम चार्जिङ स्टेशन बनाएर सञ्चालन गरेपछि ईभी प्रयोगकर्तालाई सहज भएको छ । नेपाल विद्युत् प्राधिकरणले झापा, सुनसरी, मोरङ, उदयपुर, सप्तरी, सर्लाही, मकवानपुर, चितवन र काठमाडौंमा चार्जिङ स्टेशन राखेको छ । त्यस्तै ललितपुर, बनेपा, धादिङ, भक्तपुर, रूपन्देही, सुर्खेत, कास्की, कैलाली, महोत्तरी, पर्वत, दाङ, बाँके र सिन्धुलीमा पनि प्राधिकरणले चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । हालसम्ममा प्राधिकरणको चार्जिङ स्टेशन संख्या ३२ पुगेको छ । 

निजीक्षेत्रले पनि ईभी चार्जिङ स्टेशन निर्माणको कामलाई तीव्रता दिएको छ । हुन्डाई मोर्टसले ललितपुर, काठमाडौं, भक्तपुर, चितवनको भरतपुर, सौराहा र कुरिनटार, सिन्धुलीको मूलकोट, वीरगञ्ज र हेटौंडामा चार्जिङ स्टेशन राखेको छ । हुन्डाईले बिर्तामोड, दमक, विराटनगर, इटहरी, पोखरा, भैरहवा, बुटवल, भालुबाङ, दाङ, नेपालगञ्ज, चिसापानी र धनगढीमा गरी ४३ ओटा चार्जिङ स्टेशन बनाएको छ । टाटा मोटर्सले काठमाडौं उपत्यका, धादिङ, चितवन, हेटौंडा, सिमरा, ढल्केबर, लहान, इटहरी, बिर्तामोड, मूलकोट, पोखरा, भैरहवा, भालुवाङ, नेपालगञ्ज, धनगढीलगायत १६ ठाउँमा डिसी (छिटो चार्ज हुने) चार्जिङ स्टेशन खोलेको छ । 

टाटाले ५५ ठाउँमा एसी (ढिलो चार्ज हुने) चार्जिङ स्टेशन खोलेको छ । टाटाका एसी चार्जिङ स्टेशन बिर्तामोड, विराटनगर, धरान, ढल्केवर, जनकपुर, सिमरा, वीरगञ्ज, हेटौंडा, नारायणगढ, कावासोती, बुटवल, भैरहवा, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, पोखरा, धार्केलगायत ठाउँमा छन् । 

यसबाहेक बीवाईडी, एमजी, दिगोलगायत ब्रान्डका विद्युतीय सवारीसाधन विक्रेता कम्पनीले पनि चार्जिङ स्टेशन बनाइरहेका छन् । तर, नेपालमा हालसम्म कतिओटा ईभी चार्जिङ स्टेशन छन् भन्ने आधिकारिक तथ्यांक उपलब्ध छैन । नेपाल विद्युत् प्राधिकरणले आफूले बनाएका चार्जिङ स्टेशनको तथ्यांक राखे पनि निजीक्षेत्रले कति चार्जिङ स्टेशन बनाएको छ र अहिले देशभर चार्जिङ स्टेशनको संख्या कति छ भन्ने तथ्यांक राखेको छैन । आर्थिक अभियानले नेपाल विद्युत् प्राधिकरणसँग यो विषयमा चासो राख्दा प्राधिकरणका अधिकारीहरूले देशभरको एकीकृत तथ्यांक संकलन नगरेको बताए ।

चार्जिङ स्टेशन राख्ने अनुमति सम्बद्ध वितरण केन्द्रले दिने गरेको र कति कम्पनीले कुन कुन ठाउँमा चार्जिङ स्टेशन राखे भन्ने कुराको तथ्यांक वितरण केन्द्रसँग हुन सक्ने प्राधिकरणको भनाइ छ । कतिपयले हाई भोल्टेज विद्युत् लाइन पहिले नै लिइसकेको अवस्थामा छुट्टै मीटर नलगीकनै चार्जिङ सुविधा दिइरहेको प्राधिकरणका अधिकारीहरूले बताए । 

अटोमोबाइल व्यवसायीका हकहितको संरक्षण एवं प्रवर्द्धनका लागि स्थापित नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालसँग पनि निजीक्षेत्रले देशभरमा कतिओटा चार्जिङ स्टेशन बनाएर सञ्चालन गरिरहेको छ भन्ने कुराको जानकारी छैन । नाडा सचिवालयमा यस विषयमा बुझ्दा चार्जिङ स्टेशनको तथ्यांक राख्ने परिपाटी नरहेको जवाफ दिइयो । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)