ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैङ्किङमा महिला नेतृत्व

Mar 8, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
बैङ्कमा आकर्षण तथा सहभागिता विगतको तुलनामा बढे पनि नेतृत्व तहमा भने कमै छन् । यद्यपि, केही वर्षयता बैङ्क तथा वित्तीय संस्थाको नेतृत्व तहमा समेत पुग्न महिला सफल भएका छन् । सरकारी वा निजीक्षेत्रका बैङ्किङ क्षेत्रमा महिलाले कुशलतापूर्वक नेतृत्व सम्हालिरहेका छन् । तिनैमध्येका प्रतिनिध पात्र हुन्– निलम तिम्सिना, अनुपमा खुजेली, वन्दना पाठक र आशा राणा अधिकारी । वित्तीय क्षेत्रका लागि महिला पनि सक्षम छन् भन्ने उदाहरण हुन् काठमाडौंकी अनुपमा खुजेली । उनी सफल बैङ्करहरूमध्ये एक हुन् । खुजेली अहिले मेगा बैङ्कको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत छिन् । २०४७ साल (सन् १९९१)मा ग्रिनलेज बैङ्क (हालको स्ट्याण्डर्ड चार्टर्ड)मा एसिष्टेण्टबाट प्रवेश गरेकी खुजेलीसँग बैङ्किङ क्षेत्रमा २७ वर्षको अनुभव छ । अर्थशास्त्रमा एमबीए गरेकी उनी समाजले बैङ्किङ पेशामा महिलालाई इज्जत दिने भएकोले उक्त बैङ्कमा परीक्षा, अन्तरवार्ता दिएर आएको बताउँछिन् । मेगा बैङ्कमा खुजेलीबाहेक नेतृत्व तहमा धेरै महिला पुगेका छन् । बैङ्कमा जम्मा ५ सय ९७ जना स्थायी कर्मचारीमध्ये २ सय ३५ जना महिला कार्यरत छन् । यसअन्तर्गत नेतृत्व तहमा अनुपमासहित पाँचजना प्रमुख पदमा कार्यरत छन् । मेगा बैङ्ककै एसिष्टेण्ट डीसीओ म्यानेजर पदमा कार्यरत रविना देशराज श्रेष्ठले अन्तरराष्ट्रिय बैङ्करको अवार्ड पनि प्राप्त गरिसकेकी छिन् । उनले ‘लेडी अफ एक्सिलेन्स’ अवार्ड तथा २१औं शताब्दी गोल्डेन फिनिक्स अवार्डजस्ता अन्तरराष्ट्रिय अवार्ड पाएकी छिन् । यस्तै, मेगा बैङ्ककै एसिष्टेण्ट जनरल म्यानेजरमा प्रज्ञा पाण्डे, सिनियर म्यानेजरमा डेनी श्रेष्ठ र हेड अफ डिपोजिट कार्ड एण्ड रेमिट्यान्समा जेनु थापा कार्यरत छिन् । सफल बैङ्करमध्ये अर्को महिला हुन् वन्दना पाठक । अर्थशास्त्रमा स्नातकोत्तर गरेकी उनले २०५१ (सन् १९९४)देखि बैङ्किङ पेशाको शुरुआत गरेकी हुन् । बङ्गलादेश बैङ्कमा एसिष्टेण्ट लेभलबाट शुरुआत गरेकी उनी १० वर्षको कार्य अनुभवपछि नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैङ्कमा प्रवेश गरिन् । करीब २३ वर्षको बैङ्किङ करीअरमा उनले हरेक तहको अनुभव समेटी सकिन् । ‘कोही व्यक्ति एउटा बैङ्कमा लामो अनुभव भएपछि अर्कोमा जाँदा २–३ ओटा तह फड्को मार्ने प्रचलन छ । तर, मैले त्यसो गरिन्, हरेक तहमा काम गरेरै अहिले डेपुटी प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता भएकी छु ।’ एनसीसीमा करीब १ हजार जनशक्तिमध्ये महिलाको सहभागिता ४० प्रतिशत भएको उनले जानकारी दिइन् । आशाराना अधिकारी सनराइज बैङ्कको व्यवस्थापन समूहमा सिनियर डेपुटी म्यानेजरको रूपमा कार्यरत छिन् । सरकारी स्वामित्वको नेपाल राष्ट्र बैङ्कको विभाग तथा महाशाखाको प्रमुख तहमा एक जनामात्र महिलाको नेतृत्व छ । केन्द्रीय बैङ्कको आन्तरिक लेखापरीक्षण विभागकी कायममुकायम कार्यकारी निर्देशक निलम तिम्सिना हुन् । उनी यसअघि राष्ट्र ऋण व्यवस्थापन विभाग व्यवस्थापन विभागमा कार्यकारी निर्देशक थिइन् । केन्द्रीय बैङ्कमा १ सय ८३ जना महिला र ८ सय ८९ पुरुष कार्यरत छन् । कृषि विकास बैङ्कमा कुल २ हजार ८ सय १५ जनामध्ये करीब २ सयभन्दा बढी महिला कर्मचारी कार्यरत छन् । बोर्ड डाइरेक्टरमा १० वर्षदेखि लक्ष्मी गिरी रहँदै आएकी छिन् । व्यवस्थापन समूहको शाखा प्रमुखमा निकु आचार्य, हर्कमाया चौहान, सरिता पोखरेललगायतको नेतृत्व छ । नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष तथा नेपाल बङ्गलादेश बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाका अनुसार २८ ओटा वाणिज्य बैङ्कमा महिलाको सहभागिताबारे यकिन तथ्याङ्क राखिएको छैन । डेभलपमेण्ट बैङ्कर्स सङ्घका अध्यक्ष तथा मुक्तिनाथ विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत भरतरज ढकालका अनुसार ३६ ओटा विकास बैङ्कमा करीब १५ हजार कर्मचारीमध्ये ३० प्रतिशत महिला छन् । नेपालको पहिलो महिला सीईओ अम्बिका श्रेष्ठ हुन् । सुप्रिम विकास बैङ्कसम्म आइपुग्दा उनले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसमेत सम्हालेकी थिइन् । यो बैङ्क मर्ज भएपछि भने उनले आफ्नै व्यवसाय गर्दै आएकी छन् । २०४१ सालदेखि क्लिन इजर्नी डेभलपमेण्ट (हाल एनएमबीमा गाभिएको) बैङ्कमा क्यासियरबाट आफ्नो पेशा शुरू गरेकी वर्षा श्रेष्ठ नायव प्रमुख कार्यकारी अधिकृतसमेत भएकी थिइन् । डेढ वर्ष अघिदेखि उनी गैरबैङ्किङ क्षेत्रमा कार्यरत छिन् । पहिले बैङ्कको शोभा बढाउन महिला कर्मचारी राखिने गरे तापनि अहिले भने उच्च तहमा महिलाको पहुँच पुग्न थालेको छ । आफै सक्षम हुँदैै गएकोले महिलाहरू बैङ्कको माथिल्लो तहसम्म पुग्न सकेको बैङ्करहरूको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)