नेपालमा अन्तरराष्ट्रिय नारी दिवस मनाउन थालिएको करीब ४ दशक भइसकेको छ । पहिलोपटक २०४६ सालमा अन्तरराष्ट्रिय नारी दिवस मनाएसँगै यसको शुरुआत भएको हो । श्रमिक महिलाका पक्षमा विश्वव्यापी रूपमा आवाज उठाउँदै मनाउन शुरू गरिएको यो दिवस अहिले महिलाका हकअधिकार, महिला आरक्षण, लैङ्गिक विभेदको अन्त्य, पुरुषसरह तलब, सुविधालगायत विषयमा केन्द्रित भएको छ । यसैगरी आर्थिक, सामाजिक र न्यायिक क्षेत्रमा समान पहुँच, आरक्षणलगायत विविध विषयलाई पनि यो दिवसले समेटेको छ ।
अहिले पनि धेरैजसो महिलालाई नारी दिवसको बारेमा जानकारी छैन । कतिपयले यसलाई बिदा पाइने दिनको रूपमा मात्र लिने गरेका छन्, जसले गर्दा नारी दिवसलाई नारामै सीमित दिवसको रूपमा व्याख्या गर्ने गरिएको पाइन्छ ।
नारी आवाजकै कारण अहिले छोरीलाई पढाउन प्रोत्साहित गर्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । यसबाट छोरीलाई नपढाउने, नाबालिग छँदै विवाह गर्ने प्रवृत्तिमा पनि केही कमी त आएको छ । तर पनि बलात्कार, यौन हिंसा, दाइजोका लागि जलाइएका÷मारिएका घटनाले महिला अझै शोषण र अन्यायबाट मुक्त हुन नसकेको तथ्य प्रष्टै छ । नारी दिवसलाई प्रभावकारी बनाउन, व्यावसायीक क्षेत्रमा महिलाको संलग्नता उकास्न राज्यस्तरबाट अहिले दिइरहेको छूट सुविधा बढाउन सकिन्छ । सरकारी क्षेत्रमा आरक्षण प्रणालीका कारण महिलाको सहभागिता बढ्न थालेको छ । तर, पुरुषको तुलनामा महिला सङ्ख्या कम नै छ । वैदेशिक रोजगारीका लागि पुरुष विदेशिने क्रम बढेसँगै पछिल्लो समय निजीक्षेत्रका धेरैजसो उद्योगमा महिलाको सहभागिता बढेको छ । उनीहरूको शीप सुधार्न तालीमको व्यवस्था त अपरिहार्य छँदै छ, उनीहरूलाई टिकाइराख्न अत्यावश्यक पर्ने बिदामा थप सहुलियत दिने, समान कामका लागि महिला र पुरुषको तलबमा अन्तर नगर्ने, लचिलो कार्य समयको व्यवस्थालगायत विषयमा ध्यान दिनु पनि जरुरी छ ।
अग्रपङ्तीमा नेपाली महिला
देशकै पहिलो महिला राष्ट्रपति बनिन् विद्यादेवी भण्डारी । भण्डारी दोस्रोपटक पनि राष्ट्रपति बन्ने पक्कापक्की भइसकेको छ । रुपान्तरित प्रतिनिधिसभाका पहिलो सभामुख ओन्सरी घर्ती, पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की, नेपाल उद्योग वाणिज्य सङ्घकी अध्यक्ष भवानी राणा आदिले महिला उपस्थिति नै नरहेको ओहोदामा पुगेर महिला अब्बल र क्षमतावान् छन् भनेर देखाइसकेका छन् । यस मामिलामा नेपाल विश्वमै अगाडि छ । विश्वका विकसित देशमा पनि यस्ता उदाहरण विरलै पाइने गरेका छन् ।
यसरी शुरू भयो
विश्वमा पहिलोपटक नारी दिवस फेब्रुअरी २८, १९०९ मा मनाइएको थियो । १९०८ को फेब्रुअरी २८ मा समाजवादी पार्टीले न्यूयोर्कमा गार्मेण्ट उद्योगमा हडताल गरेका थियो, जहाँ महिलाले कार्यस्थलको अव्यवस्थाका बारेमा आवाज उठाएका थिए । यही दिनको सम्झनामा महिला दिवस मनाइँदै आएको छ । अमेरिकाको राजनीतिक नाराका रूपमा आएको यो दिवस अहिले महिला अधिकार, महिला सशक्तीकरण, समानतालगायत विषयमा केन्द्रित हुन थालेको छ । अमेरिकाको समाजवादी पार्टीले फेबु्रअरी २८, १९०९ मा मनाएको राष्ट्रिय महिला दिवस नै पहिलो महिला दिवस हो । यसको १ वर्षपछि डेनमार्कको कोपेनहेगनमा भएको समाजवादीहरूको अन्तरराष्ट्रिय सम्मेलनले यसलाई अन्तरराष्ट्रिय मान्यता दियो । सन् १९११ मा आएर यसलाई ११ देशमा दिवसको रूपमा मनाउन थालियो । यसपछि हरेक वर्ष फेबु्रअरीको अन्तिम आइतवार विभिन्न मुलुकले नारी दिवसको रूपमा मनाउन थाले । सन् १९१७ मा रूसमा टेक्सटाइल क्षेत्रका महिला कामदारले रोटी र शान्ति (पहिलो विश्व युद्धको अन्त्य)को मागसहित फेबु्रअरीको अन्तिम आइतवार ऐतिहासिक हड्ताल गरे । यो जर्जियन क्यालेण्डरअनुसार ८ मार्चमा पर्ने भएकोले यो दिनलाई अन्तराष्ट्रिय नारी दिवसको रूपमा मनाउन थालिएको हो ।
सन् १९६० देखि यो दिवसमा महिला समानताका साथै महिला स्वायत्तताको विषयले प्राथमिकता पाउन थाल्यो । सन् १९८० देखि भने महिला–महिलाबीचको विविधता र यसैको आधारमा महिलामाथि हुने शोषण र दमनको व्याख्या गर्दै तेस्रो चरणको आन्दोलनको शुरुआत भयो । सन् १९७७ मा संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउने सबै राष्ट्रका प्रतिनिधिलाई बोलाएर प्रत्येक वर्ष ८ मार्चमा अन्तरराष्ट्रिय नारी दिवस मनाउने आधिकारिक घोषणा गर्यो । त्यसयता यो दिनलाई महिलाका विविध पक्षसँग जोडेर विश्वभर पर्वकै रूपमा मनाइँदै आएको छ । यस वर्षको अन्तरराष्ट्रिय नारी दिवसको नारा ‘प्रेस फर प्रोग्रेश’ छ ।