ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खैरोपत्र खै त अर्थमन्त्रीज्यू ?

Mar 9, 2018  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
नयाँ सरकार आएपछि अर्थतन्त्र माथि उक्लेला भनेको त नहुने भयो । अघिल्लो सरकारले ७ प्रतिशतका दरले आर्थिक वृद्धि हुने भनेको थियो । तर, यो सरकारले ६ प्रतिशत मात्रै गर्दिने रे । अर्थतन्त्रको मध्यावधि समीक्षा गर्दा अर्थमन्त्रीले यस्तो कुरा गरे । बर्बाद पो गरे त । झन् नयाँ सरकारमा अर्थतन्त्र बुझेका अर्थमन्त्री (अम)ले आर्थिक वृद्धि बढाउलान् भनेको त घटाउने कुरा पो गरे बा ! अमका अनुसार अब उप्रान्त फागुन मसान्तसम्म काम शुरू नगरेका परियोजनालाई पैसै नदिने रे ! मान्छेहरूको कत्रो योजना थियो जेठमा काम थालेर असारमा सिध्याउने भन्ने । योजना नै बिगार्दे भन्या अमले त । यो नेपाली परम्पराविरुद्ध पनि छ । चट्ट जेठमा योजना शुरू गर्‍यो, असारमा सिध्याएर तात्तातै पैसा भुक्तानी दियो, लियो । अनि बाँकी १० महीना आराम ग¥यो । कति मज्जा थियो । यता काम गर्न नदिने अनि देश विकास गर्ने पैसा चैं विदेशबाट ल्याउने रे ! यत्रो राष्ट्रवादी दलबाट अर्थमन्त्री बन्ने अनि पैसा चैं विदेशबाट ल्याउने पो भन्छन् । यो चैं केके नमिलेजस्तो देखियो त । त्यसमा पनि बाहिर पार्किङ ग¥या पैसा ल्याउने भनेका छन् । यो बाहिर पार्किङ गरेको भनेको चैं कहाँ होला ? घरबाहिर कार पार्किङ वा पानीट्याङ्कीमुनि अण्डर ग्राउण्ड गरेर चूडामणिहरूजस्ता कुबेरहरूले राखेको गाडधन झिकेर ल्याउने भनेको हो कि वा चौधरी, पाण्डे र सुमार्गीहरूले विदेशमा राखेको पैसा ल्याउने भनेको हो ? यसमा अमले स्पष्ट पार्दिए हुन्थ्यो नि । हुन त नेपाली बैङ्कहरूले विदेशी बैङ्कमा पैसा थुपारेर राखेका छन् भने त्यो ल्याउन राष्ट्र बैङ्क (राबै)लाई भनिसकेका रहेछन् अर्थमन्त्रीले । त्यै लिन हो कि किन हो केही हप्ताअघि मात्र राबैका गभर्नर श्रीमतीसहित बेलायत भ्रमणमा निस्क्या थे । यै कुरालाई पो सङ्केत गरेका हुन् कि अमले ।
यता काम गर्न नदिने अनि देश विकास गर्ने पैसा चैं विदेशबाट ल्याउने रे ! यत्रो राष्ट्रवादी दलबाट अर्थमन्त्री बन्ने अनि पैसा चैं विदेशबाट ल्याउने पो भन्छन् । यो चैं केके नमिलेजस्तो देखियो त ।
भन्न त अमले आइन्दा दरबारमार्गमा छापा नमार्ने तर मुहान सफा गर्ने भनेका छन् । अर्थात् खोलानालातिर कसैले पैसा पार्किङ गरेको चाल पाएर त्यो फिर्ता ल्याउने भनेका पो हुन् कि ! किनकि हिजो सर्वहाराका मुक्तिका लागि लडेका कतिपय नेता अहिलेका कतिपय ठूल्ठूला जलविद्युत् आयोजनाका प्रवद्र्धक भा’छन् । सीधै भन्न नमिलेर घुमाएर तिनलाई इशारा गरेका हुन् कि मन्त्रीले ! त्यति मात्र कहाँ हो र ? मध्यावधि समीक्षा गर्ने क्रममा अमले राज्यसंयन्त्रको ‘नट बोल्ट’ कस्ने कुरा पनि गरे । यसको मतलब ठ्याक्कै चैं बुझिएन । यो भनेको अहिले इमानदारीपूर्वक कर तिरिरहेका करदाताहरूलाई नै अझ निचोरेरै राजस्व बढी उठाउने भनेका हुन् कि भन्ने अर्थ निस्किन्छ । पहिल्यैदेखिको परम्परा पनि यै हो । किनकि नटबोल्ट कस्ने कुराकै क्रममा अमले ‘हामी राजस्व लक्ष्यभन्दा माथि लान्छौं’ भनेका छन् । त्यसैले उनले राजस्व माथि कसरी कसरी लग्छन्, त्यो हेर्न मन लाग्या छ है ! यता सामाजिक सुरक्षाको सुविधामा पनि पुनर्विचार गर्ने रे सरकारले । बल्लबल्ल नेपाली जनताले धमाधम नगद पाउँदै जालान् भनेको त त्यो पनि रोकिने भयोजस्तो छ । जे होस्, माथिका सबै कुराहरू अर्थतन्त्रको मध्यावधि समीक्षा अर्थात् ‘कृष्णपत्र’ थियो । किनकि यो कुरा कृष्ण अर्थात् कालो अक्षरमा छापिएरै आएको थियो । अब अमले श्वेतपत्र निकाल्ने रे ! त्यसभित्र चैं केके र कसरी आउने हो थाहा भएन । श्वेत भनेसी सेतो, सफा र राम्रै आउला भन्ने आशा गरौं । वास्तवमा वामको अर्थमन्त्री भएसी निकाल्नुपर्ने त रातोपत्र थियो । आउने चैं भयो सेतोपत्र । तर खैरोपत्र पनि ल्याउन सके मात्र देशको अर्थतन्त्रको सही चित्र झल्किन्थ्यो भन्ने लाग्छ । किनकि, देशको अर्थतन्त्र आधा सेतो र आधाभन्दा बढी चैं ‘ग्रे’ अर्थात् खैरो छ रे !  त्यसैले आधाभन्दा ठूलो त्यत्रो अर्थतन्त्रका बारेमा पनि केही समीक्षा र केही योजना ल्याउनुपर्ने हो कि अर्थमन्त्रीज्यू !
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)