ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कलङ्की–महाराजगञ्ज सडक पनि अब ८ लेन

Mar 9, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । अब चक्रपथको कलङ्की–महाराजगञ्ज खण्ड पनि ८ लेनमा विस्तार हुने भएको छ । हाल निर्माणाधीन अवस्थामा रहेको कोटेश्वर–कलङ्कीजस्तै मापदण्डमा कलङ्की–महाराजगञ्ज खण्ड विस्तार हुने भएको हो । सो विषयमा सडक विभाग र चीन सरकारबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भइसकेको छ । सडक विभागअन्तर्गतको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले कलङ्कीदेखि महारजगञ्जसम्मको सडकलाई कोटेश्वर–कलङ्कीको जस्तै गरी विकास गर्न चीनसँग एमओयू भइसकेको जानकारी दिए । अहिले कलङ्की–कोटेश्वर सडक खण्ड विस्तार गर्दा गलत डिजाइनअनुसार भएको भन्दै विरोध आएका बेला विभागले फेरि चक्रपथको कलङ्की–महाराजगञ्ज खण्ड विस्तार गर्नका लागि चीनसँग एमओयू गरेको छ । तर, महाशाखा प्रमुख श्रेष्ठले कोटेश्वर–कलङ्की सडक खण्ड विस्तारमा देखिएको कमजोरीलाई सुधार गरी यो सडक विस्तार गरिने जानकारी दिए । उनले भने, ‘यो सडक विस्तार गर्दा बीचमा २ देखि ३ मिटर डिभाइडर राखिनेछ, र फूटपाथ पनि अनुकूल हुने गरी विकास गरिनेछ ।’ उनले चीनको शतप्रतिशत अनुदानमा सडक चौडा गरिने बताए । ‘८ लेनमा चौडा गरिने यस सडक खण्डमा कति रकम लाग्छ, चीनको अनुदान कति हो भन्ने कुरा उल्लेख गरिएको छैन,’ उनले भने, ‘आगामी असारसम्म हामीले यो सडक क्षेत्रमा पर्ने संरचनाहरू हटाउनुपर्छ ।’ आगामी असार १५ सम्ममा यो सडक क्षेत्रको ३१ मिटरभित्र पर्ने भौतिक संरचनाहरू हटाएर विभागले चिनियाँ निर्माण कम्पनीलाई फाइल दिएलगत्तै सडक विस्तारको काम अघि बढ्ने गरी एमओयू भएको हो । विभागले असार १५ सम्ममा त्यस खण्डमा रहेका बिजुलीका पोल, रूख र अन्य भौतिक संरचना हटाएर साइड क्लियर गराउनु पर्नेछ । प्रमुख श्रेष्ठका अनुसार कलङ्की–महाराजगञ्ज खण्डका राइट अफ वे २५ मिटर र ६ मिटर फूटपाथका लागि गरी दायाँबायाँ कुल ३१ मिटर क्षेत्रफलमा रहेका भौतिक संरचनाहरू हटाइने छ । यो खण्ड बढीमा ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य विभागले राखेको छ । काठमाडौं उपत्यकामा सडक विस्तार अहिले निकै चुनौतीपूर्ण बन्दै गएको अवस्थामा विभागले कलङ्की–महाराजगञ्जसम्म ८ लेनको सडक विस्तार गर्ने काम कठिन देखिएको छ । त्रिपुरेश्वर–नागढुङ्गा सडक खण्ड विस्तारलगायत उपत्यकाका मुख्य सडक विस्तारको काम स्थानीय बासिन्दाको अवरोध र सर्वाेच्च अदालतको आदेशका कारण प्रभावहीनजस्तै देखिएका बेला ४ महीनामा त्यस खण्डका सबै संरचना नहट्ने आशङ्का गरिएको छ । तर, प्रमुख श्रेष्ठले भने, ‘संरचना हटाउनु आवश्यक छ, हामीले लगानीका स्रोतहरू जुटाउँदा र शतप्रतिशत अनुदानमा सडक विस्तार कसैले गरिदिन्छ, भने हामी सबैले सहयोग गर्नुको विकल्प छैन ।’ अहिले काठमाडौं उपत्यकाका सडक विस्तारमा स्थानीय बासिन्दाको अवरोध र सरकारी उदासीनताले सडकको उपयोग जटिल बन्दै गएको छ । सडक विस्तारको काम समयमै सम्पन्न नहुँदा वर्षा हुँदा हिलो र गर्मीयाममा धूलोका कारण वातावरण प्रदूषण हुनुका साथै आम सर्वसाधारणको जनजीवन पनि प्रभावित बन्दै गएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)