ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुत्केरी बिदा पर्याप्त र प्रभावकारी बनाऊ

Mar 11, 2018  
लेख | दृष्टिकोण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

कुपण्डोलको एक प्रतिष्ठित विद्यालयमा झण्डै १० वर्ष काम गरेकी एक शिक्षिकाले सुत्केरी बिदा नपाएपछि सुत्केरी हुनु केही दिन अघिदेखि नै काम छोडेर बस्नुपर्‍यो । नाम चलेको विज्ञापन एजेन्सीमा काम गरिरहेकी एक महिला कर्मचारीले २ महीनाको सुत्केरी बिदा त पाएकी थिइन् । सुत्केरी बिदापछि केही समय जागीर पनि खाइन् । तर, भर्खरै जन्मेको नाबालक छोरा हेर्न घरमा कोही नहुँदा जागीर नै छोडेर घरमै बस्नुप¥यो । विद्यालय जाने उमेरका तर साना सन्तान भएका महिला कर्मचारीका पनि समस्या कम छैनन् । छोराछोरीको बिदा हुँदा उनीहरूलाई हेर्न अफिसमा बिदा लिएर बस्नुपर्ने वा बच्चाबच्चीलाई आफूसँगै कार्यालयमा ल्याउनुपर्ने स्थिति छ ।

यी रोजगार विवाहिता महिलाले दिनँहु भोगिरहेका समस्याका उदाहरण मात्र हुन् । घर छोडेर अन्यत्रै जिल्लामा बसिरहेका, एकल परिवार अनि श्रीमान् श्रीमती दुवै जना काम गर्ने परिवारमा यस्ता समस्या धेरै पाइन्छ । छोराछोरी हेरिदिने कोही नभएपछि उनीहरूको लालनपालनकै लागि भनेर करियरमा विश्राम लिएर घरमै बस्न बाध्य महिला धेरै भेटिन्छन् । नेपालको प्रमुख प्रशासनिक भवन सिंहदरबारमा महिला÷कर्मचारीका ससाना छोराछोरी हेरिदिने व्यवस्था छ । त्यसबाहेक अन्यत्र रहेका सरकारी कार्यालयमा यस्तो व्यवस्था छैन । सरकारी कार्यालयमा काम गर्ने महिलाका पनि समस्या होलान् । तर, बिदा, पेन्सनलगायत विभिन्न सुविधाको लोभले पनि खाइरहेको जागीर हत्तपत्त कसैले छोड्दैनन् । घरपरिवारका सदस्यले पनि सरकारी सेवामा भएको जागीर सकेसम्म छुट्न दिँदैनन् ।

तर निजीक्षेत्रमा यस्तो हुँदैन । घरायसी समस्याका कारण छोराछोरी जन्मेपछि काम चटक्कै छोड्नेको सङ्ख्या धेरै छ । अलिक वर्ष सन्तान हुर्काएपछि केही वर्षको अन्तरालमा अर्को बच्चा पनि हुर्कायो । यसो गर्दैमा ५/७ वर्ष बितिसक्छ । आफूसरहका साथीभाइहरू करियरलाई निरन्तरता दिँदै निकै माथि पुगिसक्दा फेरि शुरूबाट काम थालनी गर्दाको पीडा त छँदै छ । पछि प्रतिस्पर्धामा आएर जागीरलाई निरन्तरता दिन पनि सोचेजस्तो सजिलो छैन । केहीले कामलाई निरन्तरता दिए पनि कार्यालय र छोराछोरीको हेरचाहबीच तालमेल मिलाउन नसक्दा कार्यालयमा उनीहरूको दैनिक प्रस्तुतिमा समस्या देखिएका छन् ।

सिंहदरबारमा भएजस्तै अन्य सरकारी र निजीक्षेत्रका कम्पनीमा समेत धेरै महिला कर्मचारी भएका कार्यालयमा छोराछोरी हेरिदिने व्यवस्था भएदेखि माथि उल्लिखित समस्याका कारण महिलाले काम छोड्नुपर्दैनथ्यो । अझ महिलाले जस्तै गरी पुरुषलाई पनि बालबच्चा हेर्न निश्चित समय बिदा दिने हो भने यो समस्या अलिक कम हुन्थ्यो कि ? हुन त धेरैजसो कार्यालयले बाबु बनेपछि पुरुष कर्मचारीलाई पनि १५ दिनको पितृत्व बिदा दिने गरेका छन् । बच्चाबच्ची हेर्नकै लागि चाहिँ अरू बिदा दिने चलन छैन । तर, त्यति बेला बच्चा निकै सानो हुन्छ । अस्पताल बस्नुबाहेक घरमा खासै धेरै काम हुँदैन । त्यसैले महिलाको सुत्केरी बिदा सकिएपछि वा पिताले स्याहार्न सक्ने भएपछि बिदा दिने व्यवस्था गर्नु राम्रो हुन्छ । महिलालाई मात्रै सुत्केरी बिदा दिने व्यवस्थाले बच्चा महिलाले मात्रैै हेर्नुपर्छ भन्ने संस्कारलाई बलियो बनाउँदै गएको छ । बच्चाको लालनपालनमा आमाबाबु दुवैको बराबरी हिस्सा हुनुपर्ने हो ।

यसका लागि सरकारले सरकारी क्षेत्रका पुरुष कर्मचारीलाई बच्चा हेर्न भनेर थप पितृत्व बिदा दिने व्यवस्था थाल्नुपर्छ । कानून नै ल्याएर निजीक्षेत्रलाई पनि यस्तो बिदा दिन लगाउन सकिन्छ । गतवर्ष बेलायतको सबैभन्दा ठूलो बीमा कम्पनी अविभाले बच्चा जन्मिएका वा साना बालबालिका एडप्ट गरेका अभिभावक (महिला र पुरुष) दुवैलाई बच्चा स्याहार्न १ वर्ष बिदा दिने घोषणा गरेको थियो । यस्तो बिदा पूरै तलबी भने थिएन । यसमध्ये आधा अर्थात् २६ हप्ताको बिदा मात्रै तलबी थियो । बाँकीका लागि छुट्टै व्यवस्था गरिएको थियो । हाम्रो देशमा पनि यस्तै खालको व्यवस्था गर्न सकिन्छ । महिलालाई दिने सुत्केरी बिदामध्ये अहिले पाइरहेको बिदा तलबी गरेर बाँकी केही अवधिको बिदा बेतलबी वा आधारभूत तलबको केही प्रतिशत दिने व्यवस्था गर्न सकिन्छ ।

अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले सन् २००० मा सुत्केरी सुरक्षा सम्मेलनमा सदस्य राष्ट्रहरूलाई १४ हप्ताभन्दा थोरै नहुने गरी महिला कर्मचारीलाई सुत्केरी बिदाको व्यवस्था गर्न भनेको थियो । तर, विश्वका अधिकांश देशले २ महीनाकै सुत्केरी बिदा दिइरहेका छन् । बेलायत सुत्केरीका लागि सबैभन्दा राम्रो मुलुक हो । त्यहाँ ५२ हप्ताको बिदा दिइन्छ । यसमध्ये कुल ३९ हप्ता तलबी हो । पहिलो ६ हप्तामा ९० प्रतिशत तलब दिइन्छ । बाँकी ३३ हप्तामा चाँहि १ सय ४० पाउण्ड वा औसत साप्ताहिक कमाइको ९० प्रतिशतमध्ये जुन थोरै हुन्छ त्यही दिइन्छ । हाम्रै छिमेकी देश भारतमा सरकारी र निजी दुवै क्षेत्रमा २६ हप्ता (१ सय ८२ दिन) मातृत्व बिदा दिइँदै आएको छ । सरकारी क्षेत्रमा काम गर्ने महिलाले पहिलादेखि नै यो सुविधा उपभोग गर्दै आएको भए पनि निजीक्षेत्रमा भने अप्रिलतिर मात्रै मातृत्व बिदा दोब्बरभन्दा धेरै बढाएर २६ हप्ता पु¥याउने निर्णय गरिएको थियो । चीनले पनि १४ हप्ता (९८ दिन) बराबरको सुत्केरी बिदा दिँदै आएको छ । अब नेपाल सरकारले पनि महिला कर्मचारीका लागि सुत्केरी बिदा बढाउनेतर्फ सोच्ने बेला आएको हो कि ?

#विश्वमा सुत्केरी बिदाको व्यवस्था
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)