ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषिक्षेत्रमा संरचनागत सुधारको आवश्यकता : चक्लाबन्दी आधुनिकीकरणको पहिलो पाइला

२०८० पुस, २९  
लेख | दृष्टिकोण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar कमलराज ढुंगेल

विगतमा नेपालीहरूको जीविकोपार्जनको माध्यम खेतीपातीमा आधारित थियो । त्यसताका यो पेशा प्रेरक र उत्साहजनक पनि थियो । कृषिक्षेत्रबाट प्राप्त आम्दानीमा हुने वृद्धिले परिवारहरूको जीविकोपार्जन भइरहेको थियो । यसले मानिसहरूलाई रोजगार प्रदान गरिरहेको थियो । समयको अन्तरालमा कृषिक्षेत्रको आम्दानीमा आश्रित मानिसहरूको संख्यामा वृद्धि हुन लाग्यो । खेतीपातीको लागि योग्य जमीन साँघुरिँदै गयो र यो आज पनि साँघुरिँदै गएको छ । 

विद्यमान कृषि भूमिले मानिसहरूको जीविकोपार्जन हुन छाड्यो । फलस्वरूप बाँझो, सीमान्त भूमिका साथै जंगल रहेको भूमिमा अतिक्रमण भयो । सीमान्त भूमिमा पनि बस्तीहरूको विस्तार हुन पुग्यो । यसका साथै विविध कारणले कृषिक्षेत्रको प्रतिफलमा ह्रास हुन लाग्यो । अर्थात् कृषिक्षेत्रमा लगाइएको लगानीको तुलनामा यसबाट प्राप्त हुने प्रतिफल कम हुन थाल्यो जुन आज पनि भइरहेछ । यसले कृषिक्षेत्रमा आश्रित ग्रामीण मानिसहरूको जीविकोपार्जनमा समस्या उत्पन्न भयो । उत्पादन र उत्पादकत्व दुवैमा ह्रास भयो । फलस्वरूप यो क्षेत्रले आफ्नो गौरव गुमाउँदै गयो । 

समयको अन्तरालसँगै कृषि पेशाले मानिसहरूको जीवन निर्वाह हुन सकेन । यो पेशामा आश्रित किसानहरूमा वितृष्णा पैदा हुन लाग्यो । किसानहरू जीवन निर्वाहको लागि विकल्पको खोजीमा लागे र आज पनि यसको खोजीमा लागिरहेका छन् । जीविकोपार्जनका लागि युवायुवती विदेशिन बाध्य भए । यसबाहेक युवायुवती विदेशिनुबाहेक अन्य धेरै कारण हुन सक्छन् । खेतीपातीमा काम गर्ने मानिसहरूको अभाव हुन लाग्यो र यो क्रम वर्तमानमा पनि जारी छ । विगतमा खेतीपातीका लागि योग्य भूमि पनि बाँझिन पुगेका छन् । विशेष गरेर यो क्रम पहाडी जिल्लाका गाउँबस्तीहरूमा व्यापक रूपले विस्तार भएको छ । 

गाउँबस्तीमा रहने मानिसको जीवन निर्वाह विगत केही दशकदेखि विप्रेषणबाट हुने गरेको छ । यसले पनि कृषिभूमि बाँझो राख्नमा मदत पुर्‍याएको छ । फलस्वरूप ग्रामीण बस्तीहरूमा पनि खाद्यान्न अभाव हुन थालेको छ । खाद्यान्नको आपूर्ति आयातबाट हुन्छ । यसको खरीदका लागि विप्रेषणले टेवा दिएको छ । खाद्यान्नको मागअनुसार आपूर्ति आयातबाट हुन्छ, जुन किसानहरूको आफ्नै आँगनमा फलाउन वा उत्पादन गर्न सक्छन् र कतिपयले गरिरहेका पनि छन् । 

तर, नेपालको कृषि परम्परागत खेतीमा आधारित छ । कृषिक्षेत्रमा आधुनिक तरीका अपनाउन धेरै पूर्वाधारहरूको आवश्यकता पर्छ । बैंकिङ सुविधा, सिँचाइको व्यवस्थाको लागि बिजुलीको उपलब्धता, यातायातको सुविधा, आधुनिक मलखाद, बीउबिजन र औजार आदिको आवश्यकता पर्छ । यी सबै पूर्वाधारको उपलब्धताले केही वा खेतीपातीका लागि आवश्यकताअनुसार युवायुवती पुन: यस क्षेत्रमा प्रवेश गर्ने छन्, यसमा कुनै शंका छैन । यी युवायुवतीको सक्रियताले कृषिक्षेत्रको उत्पादन र उत्पादकत्वमा वृद्धि गराउँछ । तर, यसका लागि अहिलेको विद्यमान संरचनामा सुधारको आवश्यकता पर्छ । माथि उल्लेख गरिएका आधुनिक तरीकाहरूको प्रयोगका लागि टुक्रिएको जग्गालाई चक्लाबन्दीको आवश्यकता पर्छ । आजभोलि यसरी चक्लाबन्दी भएको कृषिभूमि पाउन सकिँदैन । भएको पनि पारिवारको अंशबन्डाको कारणले टुक्राटुक्रामा उपविभाजन हुन पुगेको छ । यसरी टुक्राटुक्रामा विभाजित कृषिभूमिमा सबै प्रकारका भौतिक वा आधुनिक सुविधा पुर्‍याउन कठिन पर्छ । यसका लागि खेतीयोग्य भूमिको चक्लाबन्दी गराउन आवश्यक पर्छ । कृषिभूमि चक्लाबन्दी भएको अवस्थामा उल्लिखित सुविधा र पूर्वाधारहरू उपलब्ध गराउन सहज र सरल हुन्छ । अर्थात् चक्लाबन्दी भएको कृषिभूमिमा आधुनिक प्रविधिको प्रयोग गरेर कृषि उत्पादन र उत्पादकत्व दुवै बढाउन सकिन्छ । हाल विद्यमान कृषिभूमिमा उत्पादन र उत्पादकत्व बढाउन प्रयत्न भएका छन् । तर, ती प्रयत्नको कार्यान्वयनमा कहीँ न कहीँ त्रुटि भएका हुन सक्छन् । फलस्वरूप यी प्रयत्नहरूले कृषिक्षेत्रलाई आकर्षक बनाउन सकेका छैनन् । टुक्रिएको कृषिभूमिमा उत्पादन र उत्पादकत्व बढाउन माइक्रो फाइनान्सको व्यवस्था गरिएको छ । अन्य पूर्वाधारको अभावमा वित्तीय स्रोतको उपलब्धताले मात्र कृषि उत्पादनमा वृद्धि गराउन कठिन पर्छ । त्यसैले हुन सक्छ यसले नेपालमा ख्यातिप्राप्त कार्य गर्न सकेको देखिँदैन जसको कार्यान्न्वयन बंगलादेशमा सफलतापूर्वक भइरहेको छ ।

एउटा उत्कृष्ट नमूना जमीन चक्लाबन्दीका लागि लामो अवधिको लागि जग्गा अमानत (लिज) मा लिन सकिन्छ । यसरी प्राप्त गरेको जमीनमा व्यवसायीले आधुनिक तबरबाट खेतीपाती गर्न सक्छ । यो प्रक्रियाले बाँझिएर रहेको टुक्रिएको खेतीयोग्य जमीनलाई एकातिर चक्लाबन्दी बनाउँछ भने अर्कोतिर आधुनिक खेती प्रणालीको विस्तार हुन्छ । 

खेती गर्ने तरीका र जग्गाजमीनको वितरणका बारेमा गहिरिएर सोच्ने र मनन गर्ने बेला भएको छ । टुक्राटुक्रामा उपविभाजित जमीनका टुक्राहरू आज सबै बाँझिन पुगेका छन् । यदि बाँझिएका छैनन् भने पनि तिनीहरू परम्परागत खेती प्रणालीमा आधारित छन् । बाँझिएका टुक्राटुक्रामा विभाजित जमीनलाई उपयोगमा ल्याई आधुनिक खेती प्रणालीको विस्तारले कृषिक्षेत्रको विकास भई उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ । यसो गर्नाले खाद्यान्न आपूर्तिमा वृद्धि गराउन सकिन्छ । यो कदमले नेपाल खाद्यान्न आपूर्तिमा आत्मनिर्भर बन्न सक्छ । यसका लागि गहन चिन्तन, मनन र पारदर्शिताको आवश्यकता पर्छ । माथि उल्लेख भएअनुसार टुक्रा र उपटुक्रामा विभाजित खेतीयोग्य जमीनको उपयोगले कृषिक्षेत्रलाई आकर्षित गराउन सकिँदैन । यस क्षेत्रलाई आकर्षक बनाउन सघन खेतीप्रणालीको विकास गर्नुपर्छ । सघन खेतीप्रणालीको विकासका लागि सामुदायिक कृषिप्रणालीको विकास गर्नुपर्छ । यसलाई कसरी कार्यान्वयनमा ल्याउने भन्नेबारेमा चिन्तन, मन्थन र मननको आवश्यकता पर्छ । धेरै तरीकामध्ये एउटा उत्कृष्ट नमूना जमीन चक्लाबन्दीका लागि लामो अवधिका लागि जग्गा अमानत (लिज) मा लिन सकिन्छ । लिजमा जग्गा लिने व्यक्ति वा समूह वा संगठित संस्था कोही पनि हुन सक्छ । यसरी प्राप्त गरेको जमीनमा व्यवसायीले आधुनिक तवरबाट खेतीपाती गर्न सक्छ । यो प्रक्रियाले बाँझिएर रहेको टुक्रिएको खेतीयोग्य जमीनलाई एकातिर चक्लाबन्दी बनाउँछ भने अर्कोतिर आधुनिक खेतीप्रणालीको विस्तार हुन्छ । विभिन्न व्यक्तिको स्वामित्वमा रहेको खेतीयोग्य जमीन लिजमा लिने व्यक्ति वा समुदायले वार्षिक रूपमा तोकिएको मूल्य वा भाडा उनीहरूलाई बुझाउनुपर्छ । यो प्रक्रियाले टुक्राटुक्रामा उपविभाजित भूमि चक्लाबन्दीमा रूपान्तरित हुन्छ । जस्मा ठूलो परिमाणमा (लार्ज स्केल) खेतीपाती गर्न मदत गर्छ । ठूलो परिमाणमा गरिएको खेतीपातीले खाद्यान्न उत्पादन र उत्पादकत्वमा वृद्धि गराउँछ । यसले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन मदत गर्छ । गाउँबस्तीका बासिन्दाहरूले आफ्नै खेतबारीमा फलेको उपज फार्म मूल्यमा प्राप्त गर्न सक्छन् । उनीहरूले आफ्नै आँगनमा फलेको उत्पादित वस्तुको उपभोग गर्न पाउँछन् । गाउँबस्तीका किसानहरूले मौसमी वा स्थायी रूपले रोजगार प्राप्त गर्छन् । यसले गाउँगाउँमा नै खाद्य सुरक्षा हुन्छ । यो खेती प्रणालीले कृषिक्षेत्रको दिगो विकास गराउँछ । 

यो खेती प्रणालीलाई कार्यान्वयनमा लैजान यससँग सम्बद्ध समस्याहरूको समाधानका उपायको सम्बोधन गर्न आवश्यक हुन्छ । यसको कार्यान्वयनका लागि सरकारले आत्मविश्वासका साथ दरिलो कदम चाल्नुपर्छ । उत्पादकलाई कानूनी, प्राविधिक र वित्तीय सहयोगको आवश्यकता पर्छ । यो सहयोग सरकारका निकायहरूले गर्नुपर्छ । विभिन्न व्यक्तिको स्वामित्वमा रहेको टुक्रा र उपटुक्राहरूमा विभाजित भूमिको चक्लाबन्दीका लागि उत्पादकलाई शुरूमा गहकिलो रकमको आवश्यकता पर्छ । जग्गाजमीन लिजमा लिन किसानहरूलाई कम्तीमा १ वर्षको रकम भुक्तानी गर्नुपर्छ । यसका अतिरिक्त स्थायी तवरका संरचनाहरूको निर्माण गर्नुपर्छ । कृषि औजार खरीद गर्नुपर्छ । प्राविधिक जनशक्तिका साथै अन्य श्रमिकहरूको आवश्यकता पर्छ । त्यस्तैगरेर सुरक्षाको पनि आवश्यकता पर्छ । यी सबै पूर्वाधारको परिपूर्तिका लागि सरकारले शुरूका दिनहरूमा अहम् भूमिका निर्वाह गर्न सक्नुपर्छ । यदि यस प्रकारको सुधार कृषिक्षेत्रमा नगर्ने हो भने खेतीयोग्य जमीन एकातिर बाँझिँदै जान्छ भने अर्कोतिर निकट भविष्यमा नेपालले खाद्यान्न संकटको भयावह परिस्थितिको सामना गर्नुपर्ने हुन्छ ।

लेखक अर्थशास्त्री हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)