दक्षिण एशिया पछौटेपनको शिकार भएको छ । संस्थागत भ्रष्टाचार, अस्थिर सरकार र राजनीतिक विवादले गर्दा दक्षिण एशियाका अधिकांश मुलुकको आर्थिक अवस्था तरल देखिएको छ । तर, प्रतिकूल अवस्थामा पनि भारतीय अर्थतन्त्र ७ दशमलव ५ को दरले फड्को मारिरहेको छ । दक्षिण एशियाको ट्रान्जिट प्वाइन्ट भारत नहुन्जेलसम्म यस क्षेत्रको समग्र विकास सम्भव छैन । वर्तमान परिवेशमा विकासको प्रमुुख आधार नै आन्तरिक व्यापार हो । छिमेकको विकासको हावा र हुरीको सकारात्मक प्रभाव रहन्छ । नब्बेको दशकमा भारतमा शुरू भएको खुला अर्थतन्त्रलाई समयानुकूल उपयोग गर्दै अगाडि बढिरहेको छ ।
सन् २०२४ जनवरी १० देखि गुजरातको गान्धीनगरमा ४ गुजरात समिट शुरू भएको छ । यूएईका राष्ट्राध्यक्षले समेत कार्यक्रमलाई महिमामण्डित गरेको छ । यूएईका राष्ट्राध्यक्षलाई उच्च महत्त्व दिनुका अनेकौं आयाममध्ये राजनीतिक आयाम पनि एक हो । काश्मिरमा ३७० धारा हटाउनेबित्तिकै मुस्लिम नेतृत्वको विरोधको स्वरलाई मत्थर गर्न यूएईले काश्मिरमा ठूलो व्यापारिक हब खोल्ने घोषणा गरेको थियो । राममन्दिरको प्राणप्रतिष्ठाको विरोधमा मुस्लिम नेतृत्वहरूको चर्को विरोध भइरहेको बेला मुस्लिम नेतृत्वहरूको आवाजलाई मत्थर गर्न मोदीले मोहम्मद जिन जायदको प्रमुख आतिथ्यलाई एउटा ठूलो क्षेप्यास्त्रका रूपमा प्रयोग गरेका छन् । यूएईबाट वर्षेनि भारतले २५ अर्ब विप्रेषण प्राप्त गर्दै आएको छ । गुजरात समिट संसारका उच्च व्यापारिक घरानाका प्रतिनिधिहरूको सहभागी रहेको छ । १०० भन्दा बढी मुलुकको सहभागिताले कार्यक्रम आर्थिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको छ । कार्यक्रमलाई गेटवे टु फ्युचर (भविष्यको द्वार) को नामकरण गरिएको छ । भारतले आउने २५ वर्षको गुरुयोजनालाई प्रत्याभूत गर्न निवेशकर्ताहरूको महाकुम्भका रूपमा यसलाई लिएको छ । विगतका कानूनलाई विकासमैत्री बनाउन मोदी सरकारले कानूनका ४० हजार धारा र उपधारा खारेज गरेको छ । भारत वैकल्पिक ऊर्जाको खोजीमा छ । विगतका दिनमा भारतको नवीकरणीय उर्जाको क्षमतामा ३ गुणा वृद्धि भएको छ । सौर्य ऊर्जाको क्षमतामा २० प्रतिशत वृद्धि भएको छ । सन् २०१४ मा स्टार्टअपको संख्या १०० जति थियो, २०२३ मा १ लाख १५ हजारभन्दा बढी पुगेको छ । मोदी सरकारको आर्थिक नीतिले गर्दा १३ करोड ५० लाख मान्छे गरीबीको रेखाबाट बाहिर आएका छन् । विमानस्थलको संख्या ७४ थियो, अहिले १४९ पुगेको छ । मेट्रोको संख्यामा समेत तीन गुणा वृद्धि भएको छ । गुजरात समिटका माध्यमबाट सरकारले उच्च व्यापारिक घरानाहरूबाट निवेशको वचनबद्धताको अपेक्षा गरेको छ । कार्यक्रममा रिलायन्स कम्पनीका अध्यक्ष मुकेश अम्बानीले आफ्नो निवेशको घोषणा गुजरात समिटमा सार्वजनिक गरेका छन् । भारतमा १५० अर्ब अमेरिकी डलर लगानी भइरहेको परिदृश्यमा एक तिहाइ लगानी गुजरातमा नै भएको उनले उल्लेख गरेका छन् । हरित विकास र वैकल्पिक ऊर्जाको क्षेत्रमा भारतले विश्व नेतृत्व लिन सक्ने मुकेशले उद्घोष गरेका छन् । सन् २०२६ मा ओलम्पिक खेल आयोजना गर्न आवश्यक पूर्वाधार निर्माणलगायत खेलाडीको प्रशिक्षण र तालीमको जिम्मासमेत रिलायन्स कम्पनीले लिएको देखिन्छ । आउने दिनमा अडानी ग्रूपले संसारको सयभन्दा ठूलो नवीकरणीय ऊर्जा पार्क गुजरातमा निर्माण गर्ने घोषणा गरेको छ । अम्बानी र अडानी ग्रूप निवेशको घोषणा उक्त विराट व्यापारिक मेलामा गरेका छन् । सन् १९३९ मा टाटा गू्रपको उद्भव गुजरातमा नै भएको थियो । टाटा केमिकलको नामबाट शुरू भएका टाटा ग्रूप संसारका कहलिएका व्यापारिक घराना हो । गुजरातको सनान्द भन्ने ठाउँमा २० गिगावाटको ब्याट्री कम्पनी स्थापना गर्ने उसले बताएको छ । सुरक्षा उपकरण र सेमिकन्डक्टरको क्षेत्रमा समेत टाटाले अग्रणी भूमिका खेल्ने संकल्प लिएको छ । सन् २०४७ सम्म ३० खर्ब अमेरिकी डलरको अर्थतन्त्र बन्ने महत्त्वाकांक्षा राखेको भारतका लागि टाटा कम्पनीले आफ्नो शैक्षिक संस्थानबाट प्रतिवर्ष २५ हजार प्रविधि कुशल जनशक्ति तयार गर्नेसमेत घोषणा गरेको छ । संसारमा स्टील उत्पादनको क्षेत्रमा महारथ प्राप्त मित्तल गू्रपले समेत गुजरात समिटमा आफ्नो गुरुयोजना सार्वजनिक गरेको छ । औद्योगिकीकरण, शहरी विकास सुरक्षा उपकरणलगायत वाहन निर्माणमा स्टीलको उपादेयता र उपयोगितामा महत्त्वपूर्ण हुन्छ । गुजरातमा संंसारको सबभन्दा ठूलो स्टील प्लान्ट स्थापना गर्ने दृढता मित्तल कम्पनीका अध्यक्ष लक्ष्मी मित्तलले व्यक्त गरेका छन् । निवेश नै उक्त कार्यक्रमको प्रमुख लक्ष्य रहेको छ । हालसम्म ९९९ अर्ब निवेश भारतमा भइसकेको छ । सन् २०२७ सम्ममा नै विश्वको तेस्रो अर्थतन्त्रका रूपमा भारत हुने कुरा मोदीको दृढताका साथ गुजरात समिटमा उद्घोष गरेका छन् । निवेशमैत्री वातावरण बनाउन नेतृत्वमा उच्च मनोबल अपरिहार्य देखिन्छ । विश्वको दोस्रो अर्थतन्त्र चीन र विश्वको पाँचौं अर्थतन्त्र भारतको बीचमा रहेको नेपालमा निवेशमैत्री वातावरणका लागि संस्थागत भ्रष्टाचारको सिन्डिकेटलाई निस्तेज गर्नुपर्छ । नेपालमा निवेशमैत्री वातावरण बनाउन उच्च मनोबल, आत्मघाती राष्ट्रवादको तिलाञ्जली, स्थायी सरकार र आशावादी सोचको टड्कारो आवश्यकता रहेको छ ।
लेखक विदेश मामिलाका अध्येता हुन् ।