ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नागरिक बचतपत्रको ब्याजदर ३ वर्षकै उच्च

Mar 12, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । केन्द्रीय बैङ्कले आगामी चैत १ देखि २१ गतेसम्म ३ वर्षकै उच्च ब्याजदरमा नागरिक बचतपत्र विक्री गर्ने भएको छ । वार्षिक ब्याजदर ९ प्रतिशत दिने गरी २ अर्ब रूपैयाँबराबरको ५ वर्षे ‘नागरिक बचतपत्र २०७९ ख’ विक्री खुला गर्ने सूचना सार्वजनिक भएको हो । बजारमा वाणिज्य बैङ्कले बचतकै ब्याजदर वृद्धि गर्ने प्रतिस्पर्धा चलाएपछि नेपाल राष्ट्र बैङ्क सरकारी ऋणपत्रको ब्याजदर बढाउन बाध्य भएको जानकारहरू बताउँछन् । केन्द्रीय बैङ्कले पनि बजारमा प्रचलित ब्याजदरका आधारमा सरकारी ऋणपत्रको ब्याजदर निर्धारण गर्ने हुँदा सो बचतपत्रको ब्याजदर वृद्धि भएको बताइएको छ । केन्द्रीय बैङ्ककका कार्यकारी निर्देशक तथा प्रवक्ता नारायणप्रसाद पौडेलले वाणिज्य बैङ्कले बचतमै १० प्रतिशत ब्याजदर दिन थालेपछि नागरिक बचतपत्रको पनि ब्याजदरमा वृद्धि गरेको बताए । ‘वाणिज्य बैङ्कले एकवर्षे मुद्दती निक्षेपमा दिएको ब्याजदर र बजारको प्रवृत्ति हेरेर बचतपत्रको ब्याजदर निर्धारण हुने गर्छ,’ उनले भने, ‘यसैले बजारमा ब्याजदर बढेसँगै सरकारी ऋणपत्रको ब्याजदर बढ्नु स्वाभाविक हो ।’ नेपाल बैङ्कर्स सङ्घले २८ ओटै बैङ्कलाई निक्षेपमा अधिकतम ११ प्रतिशत र बचतमा ८ प्रतिशतभन्दा बढी ब्याजदर नदिने भद्र सहमति गराएको थियो । यद्यपि बजारमा निक्षेपको ब्याजदर क्रमश बढ्दै गएपछि राष्ट्र बैङ्कले नबढाए खरीदकर्ताहरूको उपस्थिति कम हुने सङ्केतले यसो गर्नु स्वाभाविक भएको बैङ्करहरूको भनाइ छ । केन्द्रीय बैङ्कले यसअघि २०६९ वैशाख २८ गते निष्कावन गरेको बचतपत्रमा सबैभन्दा उच्च अर्थात् ९ दशमलव ५ प्रतिशत ब्याजदर दिएको थियो । यसपछि ५ पटकसम्म निष्कासन हुँदा ८ प्रतिशत र साढे ८ प्रतिशतमा वार्षिक ब्याज दिँदै आएको थियो । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैङ्कअन्तर्गतको राष्ट्र ऋण व्यवस्थापन विभागले उक्त अवधिको नागरिक बचतपत्रको विक्री गर्न लागेको हो । यसको निष्कासन भने चैत २६ गते गरिने राष्ट्र बैङ्कले जानकारी दिएको छ । प्रत्येक ६/६ महीनामा ब्याज दिइने र २०७९ चैत २६ गते सावाँ फिर्ता गरिने यो बचतपत्र आगामी चैत १ गतेदेखि चैत २१ गतेसम्म विक्री हुने राष्ट्र बैङ्कले बताएको छ । बचतपत्र खरीद गर्न घटीमा रू. १० हजार र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई रू. १० हजारले निःशेष भाग जाने अङ्कबराबरको रकमका लागि आवेदन दिन पाइनेछ । उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरीद गर्न पाउने व्यवस्था छ । तोकिएको उक्त ब्याज आपूmलाई पायक पर्ने वाणिज्य बैङ्कहरू, बजार निर्माताको इजाजतपत्र लिएका बैङ्क तथा वित्तीय संस्थाहरू र काठमाडौं उपत्यकाबाहिरका नेपाल राष्ट्र बैङ्कका कार्यालयहरूबाट लिन सकिनेछ । यो बचतपत्र धितो राखी यस बैङ्कबाहेक अन्य बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिन र दिन सकिनेछ । यसअघि नेपाल राष्ट्र बैङ्कले गत मङ्सिर ६ गते ५ वर्षे नागरिक बचतपत्र निष्कासन गरेको थियो । केन्द्रीय बैङ्कले ८ दशमलव ५ प्रतिशत ब्याजदरमा २३ करोड ९२ लाख रुपैयाँबराबरको नागरिक बचतपत्र निष्कासन गरेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)