ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दैजी–छेला औद्योगिक क्षेत्रको डीपीआर बन्दै

Mar 13, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । सरकारले कञ्चनपुरको वेदकोट नगरपालिका दैजी–छेलामा घोषणा गरेको विशेष आर्थिक क्षेत्र (सेज)का लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको कार्य अघि बढाएको छ । औद्योगिक क्षेत्रको डीपीआर निर्माणका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुबाट कृष्ण पुनको संयोजकत्वमा ५ जनाको टोली कञ्चनपुरको दैजी–छेलामा आइपुगेको हो । सरकारले औद्योगिक क्षेत्र स्थापनाका लागि वेदकोट नगरपालिकाको ९ सय बिगाहा जमीन छुट्याए पनि २ सय ९३ बिगाहा जमीन कित्ताकाट भएर नेपाल सरकारको नाममा नामसारी भइसकेको छ । बाँकी जग्गा नामकरणको क्रममा रहेको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले जानकारी दिए । २ सय ९३ बिगाहा क्षेत्रफलमा ७० भन्दा बढी उद्योग स्थापना गर्न डीपीआर निर्माण गरिन लागेको हो । ‘औद्योगिक क्षेत्र निर्माणका लागि चार किल्ला प्रमाणित भइसकेको छ । ३ महीनाभित्रै डीपीआरको काम सम्पन्न हुने गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुले काम शुरू गरेको ५ दिन पुगेको छ,’ उनले भने । नेपाल सरकारको मन्त्रिपरिषद्ले निर्णय गरेर दैजी–छेला औद्योगिक क्षेत्रको जमीनलाई औद्योगिक क्षेत्र बालाजुको नाममा भोगाधिकार दियो भने चाँडै पूर्णता पाउने नगरप्रमुख चन्दले बताए । प्रदेश नं. ७ को दीर्घकालीन विकाससँग जोडिएको दैजी–छेला औद्योगिक क्षेत्र निर्माण सम्पन्न गर्न करीब ५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको वेदकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्करबहादुर चन्दले बताए । अहिलेसम्म पूर्वाधार बन्ने किसिमले बजेट विनियोजन नभए पनि पहिलो चरणको अध्ययन र जग्गाको प्लटिङका लागि ७० लाख रुपैयाँ प्राप्त भएको थियो । डीपीआरका लागि पनि सोही हाराहारीमा बजेटको व्यवस्था भएको चन्दको भनाइ छ । डीपीआर निर्माणका लागि बालाजुस्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, योजना विभागका सहायक निर्देशकसहित ५ जनाको टोली खटिएको छ । त्यसैले १ वर्षभित्रै पूर्वाधारको प्रारूप तयार हुने अपेक्षा गरिएको पनि चन्दले बताए । औद्योगिक क्षेत्र दैजी–जोगबूढा–बुडर सडक खण्डमा पर्छ । उक्त सडक कालोपत्रका लागि ५५ करोड रुपैयाँको लागतमा ठेक्का सम्झौता भएर कालोपत्र भइरहेको चन्दले बताए । अब आउने बजेटको आधारमा केकति उद्योग आउने छन् भन्ने यकीन गर्न सकिने निजीक्षेत्रको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)