फेसबूक र ट्विटरजस्ता सामाजिक सञ्जालमा गरिने सबै खाले क्रियाकलापको मापन गरेर सरकारले तपार्इंलाई ‘सिटिजन स्कोर’ दिन थाल्यो भने के हुन्छ ? अनलाइनमा गरिने सम्पूर्ण व्यवहारको मूल्याङ्कन गरेर अनलाइन प्रसिद्धि, पहिचान र विश्वसनीयता मापन हुन थाल्छ । रोजगारदाताले तपाईंलाई जागीर दिने कि नदिने, बैङ्कले तपाईंलाई ऋण दिने कि नदिने भन्नेलगायत कुरा पनि यही स्कोरका आधारमा तय गरियो भने ? यति मात्र कहाँ हो र ? तपार्इं उचित पार्टनर बन्न सक्नुहुन्छ कि हुन्न भन्ने कुराको निर्णय पनि अनलाइन व्यवहारलाई हेरेर हुन थाल्यो भने त धेरै जनाको जीवनमा उथलपुथल नै आउँछ होला ।
चीनले यस्तै प्रकारको योजना ल्याउने तयारी गरिरहेको छ । ‘सोसियल क्रेडिट सिष्टम’ नामक यो योजना सन् २०२० बाट सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । चाइनाको इण्टरनेट सेन्सरशिप योजना ‘ग्रेट फायरवाल’ गूगल, फेसबूक, यूट्युब र ट्विटरलगायत पश्चिमी सामाजिक सञ्जाल र समाचार वेबसाइटमाथिको पहुँचलाई नियन्त्रण गर्दै आएको छ । तर, सोसियल क्रेडिट सिष्टम कार्यान्वयनमा आएपछि भने चिनियाँ नागरिकले अन्य लोकप्रिय वैकल्पिक वेबसाइटमा व्यक्त गर्ने अभिव्यक्ति र क्रियाकलापहरूले उनीहरूको रेटिङलाई असर गर्न सक्छ । अनलाइन च्याट सर्भिसले पनि अब प्रयोगकर्ताको पहिचान गरिने, उनीहरूलाई स्कोर दिइने र ग्रूप च्याटको ६ महीनाको तथ्याङ््क सङ्कलन गरिने बताइएको छ । अर्थात्, सोसियल क्रेडिट सिष्टमका लागि उपयोगी हुन सक्ने सबै प्रकारका सूचना सङ्कलन गरिने यस मामिलासँग सम्बन्धित स्रोतले बताएको छ ।
‘अर्बौं सङ्ख्यामा प्रयोगकर्ता रहेका अनलाइन च्याट सेवा प्रदायक ‘वि च्याट’मा संलग्न य्रयोगकर्ताको तथ्याङ्क नियन्त्रण गरेर सरकारले ती मानिसले के सोचिरहेका छन् र के गरिरहेका छन् भन्ने कुराको जानकारी हासिल गर्न सक्छ, यो उनीहरूका लागि त सपना जस्तै हो,’ बेलायती बहुराष्ट्रिय एसेट कम्पनी स्क्रोडर्सका प्राविधिक विज्ञ जेम्स गौट्रेले भने ।
अधिकांश व्यक्ति र व्यवसायले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएनएस)को प्रयोग गरेर यस्तो कठोर नियन्त्रणबाट आफूलाई सुरक्षित राख्ने प्रयास नगरेका पनि होइनन् । तर, गतवर्ष चीनले अवैध भीपीएनएसमाथिको पहुँचलाई रोक्ने निर्देशन दिएको थियो । र, सरकारले हाल ईकमर्श कम्पनी अलिपापाजस्ता वेबसाइटलाई पनि त्यस्ता भीपीएनएसबारे केही पनि जानकारी उल्लेख नगर्न र उनीहरूसँग सम्बन्ध विस्तार नगर्न आदेश दिएको छ । तर, चिनियाँ उपभोक्ता भने डिजिटल अर्थतन्त्रप्रति विश्वस्त देखिन्छन् ।
डिजिटल गतिविधि मापक डिजिटल सोसाईटीले २० हजार मानिससँग गरेको अन्तर्वाताका आधारमा तयार पारेको प्रतिवेदनअनुसार चिनियाँ उपभोक्ताहरू डिजिटल अर्थतन्त्रलाई अन्य कुनै राष्ट्रियताभन्दा पनि बढी मान्ने गरेका छन् ।
अन्तर्वातामा सहभागी ७० प्रतिशतले डिजिटल प्रविधिले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए । त्यस्तै, डिजिटल सेवाले आफूहरूलाई बढी स्वतन्त्रता दिने र धेरै कुराहरू सहज र सजिलो बनाउनुका साथै जीवनलाई थप मनोरञ्जनात्मक बनाउन पनि सहयोग गर्ने उनीहरूको अभिव्यक्ति रहेको थियो । एजेन्सी