न्यायपालिकाको अव्यवस्था हटाउने फूलकोर्टको निर्णय, पराजुली प्रकरणबारे सर्वोच्च बोलेन
Mar 15, 2018
 
समाचार
मुख्य खबर
चैत १, काठमाडौं । कायममुकायम प्रधानान्यायाधीश दीपकराज जोशीले न्यायापालिकामा भएको अव्यवस्थालाई व्यवस्थित गर्ने बताएका छन् । बिहीवार विहान बसेको सर्वोच्चका सबै न्यायाधीश सम्मिलित (फूलकोर्ट) बैठकले न्यायपालिकामा भएको अव्यवस्थालाई व्यवस्थित गर्ने निर्णय गरेको हो ।
निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्याय परिषद्ले प्रमाणपत्र प्रकरणमा पदमुक्त गरेपछि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी जोशीले सम्हालेका हुन् । साथै उनले बिहीवारका सम्पूर्ण मुद्दाको इजलाश पनि तोकेका छन् । पराजुलीले यसअघि इजलाश तोक्दा बहिष्कार गरेका न्यायाधीशले पनि बिहीवार आफ्नो मुद्दाको सुनुवाई गरेका छन् । यसअघि निवर्तमान प्रधानन्यायाधीश पराजुलीले इजलाश नतोकेका न्यायाधीश चोलेन्द्र शमशेर जवरालाई पनि बिहीवार बेञ्च तोकिएको थियो । उनले आफूलाई तोकेको मुद्दाको सुनुवाई समेत गरेका छन् ।
यस्तै, कायममुकायम प्रधानन्यायाधीश जोशीले पत्रकार सम्मेलन गरी अब आफ्नो योजना न्यायिक म्युजियम बनाउने रहेको बताएका छन् । यस्तो म्युजियममा यसअघि मुद्दा फर्छ्यौट भएका मुद्दाको म्युजियम बनाएर सङ्ग्रह गर्ने उनको योजना छ । पत्रकार सम्मेलनमा पराजुली प्रकरणको बारेमा भने उनले केहि पनि कुरा उल्लेख गरेनन् । पराजुली बिहीवार सर्वोच्चमा आउने हल्ला भएपनि उनी आएनन् ।
पराजुलीको अवकाशपछि सर्वोच्चमा अहिले कायममुकायम प्रधानन्यायाधीश जोशी सहित १९ न्यायाधीश छन् । सर्वोच्चमा २१ जना न्यायाधीशको दरबन्दी छ ।
नयाँ प्रधानन्यायाधीश कहिले ?
उमेर विवादका कारण न्यायपरिषद्को एउटै पत्रका आधारमा अवकाश पाएका प्रधानान्यायाधीश पराजुलीको ठाउँमा नयाँ प्रधानन्यायाधीश चुन्ने प्रक्रिया शुरु गर्न केहि समय लाग्ने भएको छ । संवैधानिक व्यवस्था अनुरुप सर्वोच्चका बरिष्ठतम् न्यायाधीश जोशी नै अवको प्रधानन्यायाधीश हुन् । तर उनले प्रधानन्यायाधीशमा नियुक्ति पाउन केहि प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका जोशीलाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा नियुक्तिका लागि संसदीय समितिमा सुनुवाईका लागि सिफारिस गर्नेछ । तर, सङ्घीय संसद गठन भएको केहि हप्ता मात्र भएकाले संसदीय समिति बनिसकेको छैन् ।
संसदीय समिति बनेपछि उक्त समितिले संवैधानिक परिषद्को सिफारिसलाई सुनुवाई गर्दछ । जोशीले संसदीय सुनुवाईमा चित्त बुझ्दो जवाफ दिएमा उक्त समितिले प्रधानन्यायाधीशमा नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गर्दछ ।
समितिको सिफारिस बमोजिम राष्ट्रपतिले प्रधानन्यायाधीशको नियुक्ति र सपथ गराउने संवैधानिक व्यवस्था छ । तर, नयाँ प्रधानन्यायाधीशको नियुक्तिका लागि केहि समय लाग्ने देखिएको छ । यदि संसदीय समितिले जोशीलाई नै प्रधानन्यायाधीशमा सिफारिस गरेमा उनी सर्वोच्चमा आगामी १८ देखि १९ महीनाका लागि नेतृत्व गर्न पाउनेछन् ।