ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वर्ल्ड ह्याप्पिनेस रिपोर्ट : नेपालीको खुशीस्तर घट्यो

Mar 16, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
काठमाडौं । मानिसले सधैं कामना गरिरहने चीज हो सुख र खुशी । खुशी पाउनकै लागि हामीले विभिन्न क्रियाकलाप गरिरहेका हुन्छौं । पैसाले खुशी हुन सक्ला कि सुख सुविधाले, घुमघाम गरेर पो खुशी हुन सकिन्छ कि आध्यात्मिक चिन्तनले भनेर मानिस खुशीकै खोजीमा हुन्छ । विगत २४ महीनामा तपाईंमध्ये कतिपय व्यक्ति धेरैजसो समय खुशी रहनु भयो होला अनि कतिचाहिँ दुःखी । तपार्इंको स्थिति जस्तो भए पनि हालै सार्वजनिक एक प्रतिवेदनले भने नेपालीको खुशीको स्तर घटेको देखाएको छ । संयुक्त राष्ट्रसङ्घका लागि ‘सष्टेनेबल डेभलपमेण्ट सोलुसन्स नेटवर्क’ले विश्व खुशी दिवसअगावै सार्वजनिक गरेको ‘वर्ल्ड ह्याप्पिनेस रिपोर्ट’ शीर्षकको प्रतिवेदनले यस्तो देखाएको हो । विश्व खुशी दिवस हरेक वर्ष मार्च २० मा मनाइन्छ । प्रतिवेदनअनुसार नेपाल विश्वमै १ सय १औं खुशी देश हो । नेपालीको खुशीको स्तर ४ दशमलव ८८ अङ्क रहेको छ । खुशीको मामिलामा नेपाल दक्षिण एशियामै तेस्रो खुशी राष्ट्र भए पनि गतवर्षको तुलनामा यस वर्ष नेपालीको खुशी भने शून्य दशमलव शून्य ८२ अङ्कले घटेको छ । सन् २०१७ मा नेपाल सूचीको ९९औं स्थानमा थियो । त्यतिबेला नेपालीको खुशीको स्तर ४ दशमलव ९६२ अङ्क रहेको थियो । यस वर्षको सूचीमा नेपालभन्दा माथि र तल क्रमशः ४ दशमलव ९३३ अङ्क र ४ दशमलव ८०६ अङ्कसहित बुल्गेरिया र भेनेजुएला रहेका छन् । दक्षिण एशियामा पाकिस्तान सबैभन्दा खुशी राष्ट्रका रूपमा देखा परेको छ । गतवर्ष ८०औं खुशी राष्ट्रका रूपमा रहेको पाकिस्तान यस वर्ष ५ स्थान माथि उक्लिएको छ । यस वर्षको सूचीमा ५ दशमलव ४७२ अङ्कसहित पाकिस्तान ७५औं खुशी राष्ट्रका रूपमा रहेको छ । त्यस्तैगरी विश्व खुशी दिवसको प्रस्तावक देश भुटान यस वर्ष पनि सूचीको ९७औं स्थानमा यथावत् रहेको छ । खुशीको स्तर बढेसँगै बङ्गलादेश पनि सूचीमा ४ स्थानमा माथि उक्लिएको छ । तर, ‘इज अफ डुइङ बिजनेश’ प्रतिवेदनमा सबैभन्दा धेरै छलाङ मारेको भारत ह्यापीनेश इण्डेक्समा भने ११ स्थान तल झरेको छ । यस वर्षको सूचीमा भारत ४ दशमलव १९० अङ्कसहित १ सय ३३ स्थानमा समेटिएको छ । गतवर्ष ७९औं स्थानमा रहेको चीन यस वर्ष भने ६५औं स्थानमा उक्लिएको छ । यस वर्षको सूचीमा माल्दिभ्स र अफगानिस्तान समावेश छैनन् । फिनल्याण्ड विश्वकै खुशी देश प्रतिवेदन अनुसार फिनल्याण्ड विश्वकै सबैभन्दा खुशी देश हो । ७ दशमलव ६३२ अङ्कसहित फिनल्याण्डले सबैभन्दा खुशी राष्ट्रको उपाधि जितेको हो । गतवर्ष भने ऊ सूचीको पाँचौं स्थानमा थियो । गतवर्ष सूचीको शीर्ष स्थानमा रहेको नर्वे भने यसपटक दोस्रो स्थानमा झरेको छ । त्यस्तैगरी, डेनमार्क, आइसल्याण्ड, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड, क्यानडा, न्यूजील्याण्ड, स्वीडेन र अष्ट्रेलिया विश्वका सबैभन्दा खुशी १० देशभित्र परेका छन् । विश्वकै सर्वाधिक शक्तिशाली एवम् आर्थिक दृष्टिले धनी मानिने अमेरिकाको खुशी यस वर्ष निकै घटेको छ । गतवर्ष चांैधौं खुशी राष्ट्रका रूपमा रहेको अमेरिका यस वर्ष झरेर १८औं स्थानमा आएको छ । बुरुण्डी संसारकै दुःखी देश सूचीका पुछारमा परेको देशलाई सबैभन्दा दुःखी मान्दा बुरुण्डी विश्वकै सबैभन्दा दुःखी देश बनेको छ । गतवर्ष बुरुण्डी विश्वको दोस्रो दुःखी देशका रूपमा रहेको थियो । त्यस्तै गरी केन्द्रीय अफ्रिकी गणतन्त्र विश्वकै दोस्रो दुःखी देशका रूपमा देखिएको छ । सबैभन्दा दुःखी देशको सूचीमा शीर्ष ३ देखि १०औं स्थानमा क्रमशः दक्षिणी सुडान, ताञ्जानिया, यमन, रुवाण्डा, सिरिया, लाइबेरिया, हाइटी, मलावी र बोत्स्वाना छन् । प्रतिवेदन सन् २०१५ देखि सन् २०१७ सम्ममा ग्लायलप वल्र्ड पोल सर्वेका नतीजा विश्लेषण गरेर तयार पारिएको हो । यस वर्षको प्रतिवेदनमा १ सय ५६ देश समावेश गरिएका थिए । सूचीमा आय, स्वतन्त्रता, विश्वास, स्वस्थ औसत आयु, सामाजिक टेवा र उदारताजस्ता ६ तत्त्वका आधारमा देशहरूलाई सूचीकृत गरिएको थियो । यसपटक एउटा देशबाट अर्को देशमा आप्रवासी भएर जाँदा मानिसको खुशीको स्तरमा कस्तो खालको परिवर्तन आयो भन्ने कुरा पनि मापन गरिएको छ । यसैका आधारमा १ सय १७ देशको छुट्टै सूची पनि तयार पारिएको छ । यस सूचीमा पनि फिनल्याण्ड नै शीर्ष स्थानमा भने सूचीको पुछारमा सिरिया छ । आप्रवासीको खुशीको स्तरमा नेपाल ८२ औं स्थानमा छ । त्यस्तैगरी, सबैभन्दा धेरै नेपालीहरू कामका लागि जाने देश कतार भने सूचीको २६औं स्थानमा छ । त्यहाँ आप्रवासीको खुशीको स्तर ६ दशलमव ३९५ रहेको छ । वैदेशिक रोजगारीका लागि नेपाली सबैभन्दा धेरै जाने अन्य देशहरू संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र मलेशिया भने सूचीमा १९औं, ३५औं र ५४औं स्थानमा रहेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)