सामाजिक सञ्चार माध्यमलाई बालबालिकामा नराम्रो प्रभाव पार्ने कुरासँग जोडिँदै आइएको छ । तर, अधिकांश अभिभावकहरूले भने सामाजिक सञ्जालले आफ्ना ट्विन्स (१० देखि १२ वर्ष उमेरका बालबालिका)माथि निगरानी राख्न सहयोग गर्ने कुरामा विश्वास गर्ने गरेको एक जनमतले देखाएको छ । ‘छोराछोरीको ट्विन स्टेजमा उनीहरूको थप स्वतन्त्रता र आत्मनिर्भरताको चाहनालाई व्यवस्थित तथा सन्तुलित राख्नुपर्ने हुँदा अभिभावकले धेरै नै चुनौतीको सामना गर्नुपर्छ र यो त्यति सजिलो काम भने होइन,’ अमेरिकास्थित मिशिगन युनिभर्सिटीका साराह क्लार्कले भनेकी छन् । सामाजिक सञ्जालले बालबालिकालाई समस्यामा सजिलै पार्न सक्ने कुरामा ९ देखि १२ वर्षका बालबच्चाका अभिभावक सबै सहमत रहेको मिशिगनमा रहेको सीएस मोट बाल अस्पतालले सङ्कलन गरेको जनमतमा पाइयो । त्यस्तै, सामाजिक सञ्जालले आफ्ना ट्विन्सबारे ट्र्याक राख्न सहयोग गर्ने जनमतमा सहभागी ६१ प्रतिशत अभिभावकले अभिव्यक्ति दिएका थिए ।
यसैक्रममा ५५ प्रतिशत अभिभावकले आफ्ना ट्विन्सको टेक्ष्ट मेसेज र सोसियल मिडिया पेज पढ्ने तथा उनीहरूलाई कुनै नचिनेको परिवारले घरमा पार्टी गर्न बोलाएको त छैन भन्ने कुराको जानकारी लिने गरेको सर्वेक्षणमा पाइयो । त्यस्तै, पार्टीमा गएको बेलामा ३९ प्रतिशत अभिभावकले आफ्नो सेल फोनमा बच्चाहरूको लोकेशन ट्र्याक गर्ने गरेको पनि यस सर्वेक्षणमा पाइयो । आफ्ना ट्विन्सको गतिविधिबारे जानकारी राख्न प्रविधिको प्रयोग गर्नेमा बुबाभन्दा पनि आमा बढी अग्रसर हुने गरेको बताइएको छ । सर्वेक्षणमा सहभागी चारमध्ये एक अभिभावकले आफ्ना ट्विन्स गाँजा, ड्रग्स, बियर, हातहतियार वा यौनजन्य क्रियाकलापमा संलग्न भएका छन् कि भनेर चिन्तित रहने गरेको पाइयो । त्यस्तै, दुईतिहाइ अभिभावकले भने ट्विन्सहरूलाई गल्ती गर्ने थोरै स्वतन्त्रता आवश्यक पर्ने अभिव्यक्ति दिएका थिए । रासस/पीटीआई